फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा हात्ती दौड र घोडा दौडको रनक

(GMT+08:00) 2013-12-30 18:25:56

         गत वर्षको च्याम्पियन बहादुरगज र त्यसअघिका 2 स्पर्धामा च्याम्पियन चम्पाकली हात्ती 10 औं अन्तर्राष्ट्रिय हात्ती दौडको फाइनल चरणमा हिजो आइतबार प्रवेश गरेका छन्। समूह 'सी' र 'डी' को सेमिफाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै बहादुरगज पहिलो भएको हो। उसले निर्धारित 3 सय मिटर दूरी 1 दशमलव 28 मिनेटमा पार गरेको थियो। बहादुरका सामु अन्य हात्तीलाई दौडिन मुस्किल पर्‍यो। चितवन निकुञ्जको प्रतिनिधित्व गरेको बहादुरगजले दौड पूरा गर्दा अन्य हात्ती 50 मिटर पछाडि थिए। 2 पटकको च्याम्पियन चम्पाकली हात्तीले दोस्रो स्थान प्राप्त गरेर फाइनल प्रवेश गरेको छ। फेवा टुर्स एण्ड ट्राभल्सको प्रतिनिधित्व गरेको चम्पाकलीलाई दर्शकको समर्थन थियो। कुलफिड एडभेन्चरको बम्बुजकलीले तेस्रो स्थान प्राप्त गर्‍यो। सेमिफाइनलमा उपस्थित दर्शक र आयोजकको मन जित्न सफल बहादुरगज यसपटक पनि च्याम्पियन हुने अडकल सुरु भएको छ। 'ठूलो जिउको हात्ती दौडेको हो भनेर पत्याउन मुस्किल पर्‍यो,' स्थानीय व्यवसायी योगेश अधिकारीले भन्नुभयो,'यसपटक पनि बहादुरगज च्याम्पियन बन्छ।'

          यसअघि शनिबार 'ए' र 'बी' समूहको सेमिफाइनलबाट हाईवे स्टारको एकताकली पहिलो, रानी अस्ट्रेलियनको कोसीकली दोस्रो र माउण्ट एभरेस्ट ब्रुअरी तेस्रो भएर फाइनल प्रवेश गरिसकेका छन्। शनिबार र आइतबारका विजयी हात्तीबीच आज सोमबार फाइनल प्रतिस्पर्धा हुने नतिजा प्रकाशन समिति संयोजक ऋषि तिवारीले बताउनुभयो। आज फाइनलमा 6 वटा हात्तीबीच प्रतिस्पर्धा हुँदैछ। गत वर्षसम्म 3 दिन हुने दौड यसपालि पर्यटकको बसाइ लम्याउन 5 दिन पुर्‍याइएको कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

          हात्ती महोत्सवअन्तर्गत आइतबार टाँगा दौडको फाइनल प्रतिस्पर्धामा कालिका एफएमको प्रतिनिधित्व गरेको राम दुलारी घोडा पहिलो भएको छ। चितवन खबर डटकमको प्रतिनिधित्व गरेको हरेन्द्र चौधरीको रिक्सा घोडा दोस्रो र रेडियो माडीको धनु घोडाले तेस्रो स्थान प्राप्त गरे। त्यस्तै गाडा फाइनलअन्तर्गत पूजा सिलाइ मेसिनको सुकई महतो पहिलो, हट चिकेनको सुमन महतोको गाडा दोस्रो र नारायणी यातायातको भगवती महतोको गाडा तेस्रो भए।

          यसैगरी आइतबार छावाबीचको फुटबल प्रतिस्पर्धामा सिजी फुड्सको वाईवाई चाउचाउले टुरिजम् डेभलभमेन्ट बैंकलाई 2-1 ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। अपराह्न भएको खेलमा सिजी फुड्सका लागि दनदनीकलीले दुई गोल गरेको थियो। टुरिजम्का लागि प्रतियोगिताको हिरो कुशप्रसादले सान्त्वना गोल फर्काएको थियो। छावा फुटबलअन्तर्गत आज सोमबार किस्ट बैंक र लायन्स क्लब इन्टरनेसनलबीच भिडन्त हुँदैछ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह