फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पहिलो प्राथमिकता

(GMT+08:00) 2013-12-31 16:48:47

       कास्की जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित चारैजना सभासद्ले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विकासको पहिलो कार्यसूची भएको बताउनुभएको छ। उहाँहरूले एक वर्षभित्र संविधान निर्माणका लागि पहल गर्ने र बाँकी समय विकास निर्माणमा ध्यान दिने वचन पनि प्रकट गर्नुभएको छ। चिनियाँ सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने विषयमा नेपाल सरकार र चीनबीचमा पहिले नै सहमति भइसकेको छ।

        पोखरा उद्योग वाणिज्य सङ्घले कास्कीबाट प्रत्यक्षतर्फको संविधासभा निर्वाचनमा विजयी उम्मेदवारहरूको सम्मान तथा कास्की जिल्लाको विकासमा सभासद्हरूको भूमिका विषयमा आयोजित अन्तक्रिर्यामा उहाँहरूले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

         नेपाली काँग्रेसबाट क्षेत्र नम्बर 1 बाट नवनिर्वाचित सभासद् यज्ञबहादुर थापाले आफ्नो एक नम्बरको प्राथमिकता संविधान निर्माण रहेको बताउनुभयो। काँग्रेसबाटै क्षेत्र नम्बर 2 बाट नवनिर्वाचित सभासद् शारदा पौडेलले पोखरालाई धार्मिक पर्यटकीय गन्तब्यको नाका बनाउने र यहाँका अन्य पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो।

         नेकपा (एमाले)बाट क्षेत्र नम्बर 3 बाट नवनिर्वाचित सभासद् रवीन्द्र अधिकारीले पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गराउनेलगायतका विकासे गतिविधि पनि आफ्नो चासो र सरोकार भएको उल्लेख गर्नुभयो। त्यस्तै, एमालेबाटै क्षेत्र नम्बर 4 बाट नवनिर्वाचित सभासद् सीता गिरीले राजनीतिक स्थायित्व पहिलो प्राथमिकता भएको उल्लेख गर्दै संविधान निर्माण र विकास निर्माणलाई सँगै अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह