फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा रेडपाण्डाको संरक्षणमा विदेशी चासो

(GMT+08:00) 2014-01-01 17:52:20

       संसारभर दुई हजार पाँच सय र नेपालको पूर्वी मेची पहाडी क्षेत्रमा दुई सय 10 जति रेडपाण्डा रहेको अनुमान छ। ऐलुरस फुल्जेन्स वैज्ञानिक नामले चिनिने रेडपाण्डालाई ठाउँपिच्छे फरक नामले बोलाइन्छ। विदेशमा'चम्किलो बिरालो'समेत भनिने लजालु स्वभावको यो जन्तुलाई नेपाली गाउँवस्तीमा'हाब्रे' भनेर पनि चिनिन्छ। हिउँचितुवा र मानवीय क्रियाकलापले मासिँदै गरेको रेडपाण्डा जोगाउन अनुसन्धान, निगरानी र जनचेतनामार्फत संरक्षण थालिएपछि अष्ट्रेलियाकी एमा जे डेल लगायतका विभिन्न देशका व्यक्तिहरु रेडपाण्डा संरक्षणमा इलामका उत्तरी गाउँमा रहेका छन्।

       नेपालबाहेक भारत, बर्मा, चीन र भुटानमा मात्र पाइने रेडपाण्डा सोझो र लजालु स्वभावको हुँदा केटाकेटीदेखि बुढापाकासम्म नजिकिन चाहन्छन्।'मासु खानैका लागि मार्ने गरिएको सुन्नमा नआए पनि नजिकिन खोज्ने र समातेर सीमापारि दार्जिलिङक्षेत्रमा बेच्ने समस्याले रेडपाण्डा संकटमा परेको हो' इलामस्थित उच्च पहाडी जडिवुटी उत्पादक तथा संरक्षण संस्थाका अधिकृत दिपक लुङ्गेली भन्नुहुन्छ,'हिउँ चितुवाले आफ्नो आहाराका लागि शिकार गर्नाले पनि रेडपाण्डाको संख्या घटेको हो।'

       'रेडपाण्डा नेटवर्क'को सक्रियतामा सात बर्षदेखि समुदायलाई प्रत्यक्ष सहभागी गराई रेडपाण्डाको वासस्थान पत्तो लगाउने, त्यसक्षेत्रको नियमित अनुगमन गर्ने, विद्यालयस्तरमा सचेतना चलाउने, पर्या–पर्यटन विकास गर्ने र वासस्थानको व्यवस्थापन मिलाउने काम हुँदैछन्।'पहिले रेडपाण्डा देख्दा शिकार खेल्न झम्टिनेहरु नैं अचेल संरक्षणमा जुटेका छन्' नेटवर्कका कार्यक्रम संयोजक डम्बर विष्ट भन्नुहुन्छ 'सबैमा यस्तै चेतना फैलिए रेडपाण्डाको संख्या केही समयमै बढ्ने अपेक्षा छ।'

        थुप्रै अवलोकनकर्ता परिचालन गरेर नेटवर्कले गरेको अध्ययनअनुसार मेची पहाडका ताप्लेजुङ,पाँचथर र इलाम तीन जिल्लाको छसय पाँच वर्ग किलोमिटर क्षेत्रमा रेडपाण्डा पाइन्छ। ताप्लेजुङका 11, पाँचथरका तीन र इलामका सात गाविस रेडपाण्डा रम्ने क्षेत्र हो। 10 देखि 15 डिग्री सेल्सियस तापक्रम हुने एक हजार आठ सयदेखि चार हजार आठ सय मिटर उचाइसम्मको क्षेत्रमा रेडपाण्डा बस्न रुचाउँछ। मालिङ्गो र निगालोका टुसा, बाँसका पात र तामा खान रुचाउने रेडपाण्डा दिनभरको समय रुखमा बसेर बिताउँछ।

        नागरिक अनलाइनका अनुसार अव्यवस्थित सडक निर्माण, चौपायाको निर्वाध चरिचरन र कुकुरको आक्रमणले रेडपाण्डाको संख्या घट्दै गएपछि थालिएको संरक्षण नियाल्न छोटो अवधिमैं विदेशीका दर्जन बढी समूह गाउँ उक्लिसकेका छन्। हामीले चोरी शिकारी, अवैध व्यापार र डढेलो नियन्त्रण गर्दै रेडपाण्डा संरक्षणमा सबै गाउँलेलाई एकजुट गराएपछि विदेशीको चासो बढ्दैछ' संरक्षण कार्यक्रमका फिल्ड प्राविधिक निमाफिन्जो शेर्पा भन्नुहुन्छ, 'गुराँस र बाँसघारी जोगाउँदै यसको संख्या बढाउन संरक्षणका थुप्रै कार्यक्रमको खाँचो छ।'

         आठदेखि 10 बर्ष आयु हुने रेडपाण्डा एक मिटरसम्म लामो शरीर भएको र छ किलोसम्म तौल भएको हुन्छ। पहिले समातेर घरमा ल्याउन खोज्ने, पक्रेर सीमापारी पुर्‍याउने, खेदेर दुःख दिने तथा बच्चालाई माउबाट अलग्याउने जस्ता प्रवृत्ति अन्त्य गर्न गाउँलेलाई सम्झाई बुझाई गर्ने काममा ठूलो रकम खर्च भएको छ। जंगलमा रेडपाण्डालाई स्वतन्त्रतापूर्वक रमाउन दिनुपर्छ र यसको दिनचर्यामा कसैले वाधा गर्नुहुँदैन' अनुसन्धाता डेल भन्नुहुन्छ, 'यसैगरी संरक्षणलाई निरन्तरता दिँदा अर्को पुस्ताले थुप्रै रेडपाण्डा देख्न पाउँछ।'

         अमेरिकी अनुसन्धाता ब्रायन विलियम्सले आठ बर्षअघि यही क्षेत्रमा एक बर्ष बिताएर रेडपाण्डाको व्यापक खोजविन गरेपछि संरक्षणले गति लिएको हो। विलियम्सले दाता खोज्दै सहयोग गर्नेक्रम जारी छ। यसवीचमा रेडपाण्डाको संख्या गणना, वासस्थान खोजी र आनीवानी बुझ्न धेरै खर्चिएको छ। रेडपाण्डा लोप भए 'इको–सिष्टम'मा प्रभाव पर्ने निर्क्यौलसहित नेटवर्ककै पहलमा नेपालमा पनि तीन बर्षदेखि 'हाब्रेलाई हानी पुर्‍याउनेलाई क्षमा हुने छैन' भन्ने नारासहित रेडपाण्डा दिवस मनाईंदैछ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह