फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भोलिदेखि भृकुटीमण्डपमा कम्प्युटर मेला

(GMT+08:00) 2014-01-01 17:53:37

        कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा भोलि बिहीबारदेखि हुने सुबिसु क्यान इन्फोटेक 2014 को तयारी पूरा भएको छ। स्टल डेकोरेसन र ट्रस निर्माणमा आफूहरू युद्धस्तरमा लागिरहेको क्यानका महासचिव अमृतकुमार पन्तले बताउनुभयो। क्यान इन्फोटेक पुस 18 देखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलममा हुँदैछ।

         हामी बुधबारदेखि स्टलमा सामान राखिसक्ने गरी तयारी गरेका छौँ,' महासचिव पन्तले भन्नुभयो, 'ट्रस निर्माणको काम करिब सकिएको छ। इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र 39 वटा, हलबाहिर 3 वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू, ट्रसमा 1 सय 44, ओपन स्पेस 20 र फुड स्टल 15 गरी जम्मा 2 सय 21 स्टल रहनेछन्। तिनमा हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरू, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य गरी 1 सय 19 कम्पनीहरू सहभागी रहने क्यानका अध्यक्ष विनोद ढकालले जानकरी दिनुभयो।

         क्यान इन्फोटेकको यो 20 औँ संस्करणको टाइटल सुबिसु केबलनेट छ। यसैगरी प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमन्ड स्पोन्सर सामसङ स्मार्ट फोन, गोल्ड स्पोन्सरहरू कलर्स मोबाइल र डेल एन्ड एप्पल बाई जेनेरेसन नेक्स्ट र सिल्भर स्पोन्सरहरू एस पावर बीपीई र माया एनिमेसन एकेडेमी रहेका छन्।

         विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता राष्ट्रिय तथा असोसियो, विस्टाजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग पुर्‍याएका छन्।

         इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क 1 सय र विद्यार्थीलाई 50 रुपैयाँ शुल्क तोकिएको छ । पुस 21 गतेलाई 'बिजनेस डे' का रूपम्द्या घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क 1 सय रुपैयाँ हुनेछ। उक्त दिन विशेष गरी बिजनेस हाउसहरूले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेन्डरहरूसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो।

          इन्फोटेकको अवलोकनका लागि सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोध आए निःशुल्क प्रवेशको व्यवस्था गरिने क्यान महासचिव पन्तले जानकारी दिनुभयो। निजी विद्यालयका विद्यार्थीलाई छुटको व्यवस्था गरिएको छ। प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखी प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट बिमाको व्यवस्था गरिएको छ। प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामराको निगरानीमा रहनेछ साथै सुरक्षा गार्ड र स्वयंसेवकका तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। क्यान इन्फोटेकको यस संस्करणको अफिसियल बैंक सिद्धार्थले टिकट काउन्टरको व्यवस्थापन गर्ने कान्तिपुर अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह