फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हवाई सम्झौताको 45 प्रतिशत सिट मात्र उपयोग

(GMT+08:00) 2014-01-01 17:54:56

        नेपालले विभिन्न मुलुकहरूसँग भएको हवाई सेवा सम्झौताबमोजिमको पूर्ण सिट उपयोग गर्न सकेको छैन। अहिले नेपालमा उडान गरिरहेका 27 अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले वाषिर्क करिब 24 लाख 56 हजार सिट खपत गरिरहेका छन्। जबकि नेपालले 37 मुलुकसँग गरेको हवाई सेवा सम्झौता अनुसार वाषिर्क 53 लाख बढी सिट क्षमता छ । उपयोग भइरहेको सिट कुलको मात्र 45 प्रतिशत हो।

         'आउन चाहने विमान कम्पनीलाई भनेको समय दिनसक्ने अवस्था छैन,' प्राधिकरणले भन्यो, 'अहिलेको ट्राफिक अत्यधिक छ । 24 घन्टा सञ्चालन भैदिएको भए हुन्थ्यो, त्यो सम्भव छैन।' प्राधिकरणका प्रबन्धक सुवर्णराज उपाध्यायले प्रस्तुत गरेको एक अध्ययनमा त्रिभुवन विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दैनिक औसत 3 सय 76 उडान अवतरण हुन्छ। 'यो विमानस्थलको हवाई ट्राफिकको उत्कर्ष हो,' उहाँले भन्नुभयो 'नयाँ विमान कम्पनी थपिए उपलब्ध भएका सिट खपत हुने थिए। तर जुन समयमा विमान कम्पनी आउन चाहन्छन्, त्यो समयमा उडान तालिका दिन मिल्दैन। अन्य समयमा विमान कम्पनी आउन चाहँदैनन्। 'बिहान 11 बजेदेखि 3 बजेसम्म र बेलुका 10 देखि 12 सम्ममात्र विमान कम्पनी आउन खोज्छन्,' विमान स्थलका उडान अनुमति शाखाका अधिकारीले भने, 'अन्य समयमा अध्यागमन र सुरक्षा सेवाका कर्मचारी नुहँदा बाध्य बनाउन पनि सकिँदैन।'

        नेपाल सरकारले 2013 मा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीको संख्यालाई 27 बाट 37 पुर्‍याउने लक्ष्य राखेको छ। तर उनीहरूलाई आकषिर्त गर्न कुनै योजना नभएपछि योजना सफल हुन सकेको छैन। त्यसमा पनि पिक आवरमा नयाँलाई ठाउँ दिन नसक्ने अवस्था सिर्जना भएपछि आउने भनेकाहरू पनि आएका छैनन्। प्राधिकरणका अनुसार 2013 मै श्रीलंकन एयरलाइन्स र भारतीय गो एयरले नेपालमा उडान गर्ने भनेका थिए।

          नेपालमा अहिलेसम्म सन् 2010 देखि 2011 सम्म अत्यधिक विमान कम्पनीले सेवा सुरु गरेका हुन्। यो अवधिमा झन्डै 10 विमान कम्पनी थपिएका थिए। सन् 2012 मा दुई विमान कम्पनी आएका थिए। तर 2013 मा युरोपीयन टर्किस एयरलाइन्सले मात्र नेपालमा सेवा सुरु गरेको हो। यो अवधिमा भारतका किङफिसर र जेटलाइटले उडान बन्द गरेको छ। त्यस्तै गल्फ र बहराइन एयरले पनि उडान बन्द गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

         धेरै विमान कम्पनी आकषिर्त गरी बढीभन्दा बढी सिट खपत हुने वातावरण बनाउन सके प्रतिस्पर्धा बढी हुने र हवाई भाडासमेत कम हुनसक्ने विमानस्थलका अधिकारी बताउँछन्। चीनका दुई विमान कम्पनीले भने हवाई सेवा सम्झौताको सिट खपत गरिसकेकाले अतिरिक्ति 14 उडान 'टेम्पोररी अपरेटिङ परमिट (टप)' का आधारमा गरिरहेका छन्।

         'पछिल्लोपटक केही विमान कम्पनीले उडान संख्या थपेकाले सिट उपयोग बढी भएको हो,' प्राधिकरण, उडान अनुमति शाखाका सुवास झाले भन्नुभयो। पहिले मात्र 30 प्रतिशत सिट उपयोग भएको थियो। नेपालले पछिल्लोपटक यूएईसँग सम्झौता पुनरावलोकन गरी सिट क्षमता बढाएको छ। त्यस्तै चीनसँग पनि सिट क्षमता बढाउन गृहकार्य भइरहेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह