फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेलम्चीको सुरुङ निर्माण सुचारु

(GMT+08:00) 2014-01-02 18:13:04

        नेपालको मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा महत्त्वपूर्ण संरचना सुरुङ खन्ने कार्य हिजो बुधबार पुन सुचारु भएको छ। ठेकदार इटालियन कम्पनी सीएमसीले सुन्दरीजलबाट सुरुङ निर्माण सुरु गरेको हो।

          चिनियाँ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य पुनः सुरु भएपछि अब साढे दुई वर्षमा बन्ने निश्चित भएको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक 17 करोड लिटर पानी राजधानी काठमाडौँ ल्याउने सरकारको योजना छ।

         सुन्दरीजलमा आयोजित कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले सुरुङ निर्माण सुरुआत गर्नुभयो। खन्न बाँकी 21 किलोमिटर सुरुङ 2072 चैतभित्र पूरा गरिसक्ने र 2073 वैशाख 1 देखि राजधानीका घरघरमा पुर्‍याउने लक्ष्यसाथ काम धमाधम अघि बढ्ने आयोजना प्रमुख कृष्ण आचार्यले बताउनुभयो।

          ठेक्का सम्झौताअनुसार सीएमसीले 2073 भदौभित्र मेलम्ची खोलामा बाँध र सुरुङ निर्माण सकी राजधानीसम्म पानी ल्याइसक्नुपर्ने छ। तर, सरकारले ठेकेदारलाई छिटो काम गर्न बोनस दिएर 2072 चैतभित्र गराउने र 2073 वैशाख 1 देखि राजधानीमा मेलम्चीको पानी ल्याइपुर्‍याउने योजना छ। बोनस दिएर निर्धारित समयभन्दा छ महिना पहिले सक्ने योजना सरकारको रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

         ठेक्का सम्झौताअनुसार ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ पूरा गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको 0.05 प्रतिशतका दरले बोनस दिइनेछ। छ महिना छिटो सकेमा ठेक्का रकमकै 10 प्रतिशतसम्म बोनस पाउनेछ।

         आयोजना प्रमुखका अनुसार सुन्दरीजलको एक ठाउँबाट सुरु गरेको ठेकेदारले अबको एक महिनापछि अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट दुवैतर्फ गरी 7 ठाउँबाट सुरुङ खन्न थाल्ने छ। आयोजनाको अर्को मुख्य संरचना सुन्दरीजलमा बनाइने पानी प्रशोधन केन्द्रको निर्माण कार्यसमेत ठेकेदार कम्पनीले माघ 1 देखि निर्माण सुरु गर्दैछ। पानी प्रशोधन केन्द्रको निर्माण 2016 मार्च अर्थात् 2072 फागुनभित्रै सक्ने योजना रहेको जानकारीसमेत आचार्यले दिनुभयो।

         सीएमसीले 7 अर्ब 71 करोड रुपैयाँमा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बाँकी 21 किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध (इन्टेक) बनाउने ठेक्का पाएको हो । सन् 2013 को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् 2009 मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफटिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे 6 किमिमात्र सुरुङ निर्माण गरेका कारण उससितको ठेक्का गत कात्तिकमा तोडिएपछि सुरुङ निर्माणको लागत दोब्बर बढेको छ भने दोस्रो पटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्ष ढिलो हुन पुगेको हो।

          चिनियाँ ठेकेदारले साढे 27 किमि सुरुङ र इन्टेक बनाउन 4 अर्ब 28 करोड रुपैयाँमा ठेक्का पाएको थियो। 60 करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले जम्मा साढे 6 किमिमात्र सुरुङ खनेको छ। चिनियाँ ठेकेदारले लापरबाही गरी नबनाएको र लामो समय खेर फालेका कारण बाँकी 21 किमि सुरुङको लागत दोब्बर बढेको हो। चिनियाँ ठेकेदारलाई दिइसकिएको 60 करोड र बाँकी 21 किमि सुरुङ तथा इन्टेकका लागि सीएमसीले प्रस्ताव गरेका 7 अर्ब 71 करोड गरी सुरुङ निर्माण गर्न 8 अर्ब 31 करोड रुपैयाँ लाग्ने भएको छ।

          सुरुङबाट दैनिक ल्याइने 17 करोड लिटर पानी सुन्दरीजलमा प्रशोधन गर्न बनाइने संरचना निर्माण गर्ने ठेक्का 4 अर्ब 20 करोड रुपैयाँ प्रस्ताव गरेको अस्ट्रियाको भीएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले पाएको छ। ठेक्का सम्झौताअनुसार काम सुरु गरेको 27 महिना अर्थात् 2072 पुसमा पानी प्रशोधन गृह निर्माण गरिसक्नुपर्ने छ। उसले माघ 1 बाट निर्माण कार्य सुरु गर्दैछ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह