फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा होटल व्यवसायमा लगानी गर्न व्यवसायीबीच तीब्र प्रतिस्पर्धा

(GMT+08:00) 2014-01-03 18:27:53
      नेपालमा सन् 2013 मा आधा दर्जन ठूला व्यावसायिक घरानाले विभिन्न होटलमा साढे 22 अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन्। व्यावसायिक घरानाबीच 'होटल व्यवसाय'मा लगानीको होडबाजी चलेपछि यसअघि होटलमा लगानी नगरेका ठूला घरानाहरु पनि सन् 2014 मा होटलमा लगानी गर्ने घोषणा गरेका हुन्।

      घोषणा गरेअनुसार लगानी भए सन् 2016 को अन्त्यसम्ममा करिव 25 सय कोठा थपिनेछन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी र बिराटनगरमा निर्माण हुने ती होटल बनिसक्दा एकै वर्षमा 20 लाख पर्यटक नेपाल आए पनि खान बस्न होटलको अभाव हुने छैन। व्यवसायीहरुले दुई तारेदेखि पाँच तारे होटल र रिसोर्ट निर्माण गर्ने घोषणा गरेका छन्।

       यसअघि होटलमा लगानी नगरेका चौधरी समूह, मुक्ति श्री प्रा.लि, बैद्य अर्गनाईजेशन, एनआरएन, लक्ष्मी समूह, एनआरएन अध्यक्ष शेष घले, उद्योगी शशिकान्त अग्रवाल, बैंकर पृथ्बीबहादुर पाण्डेलगायतले होटलमा लगानी गर्ने घोषणा गरेका हुन्।

       सन् 2013 को अन्त्यमा नवोदित व्यावसायिक घराना अजेय सुमार्गीको मुक्ति श्री प्रा.लि.ले राजधानीमा 2 अर्ब रुपैयाँ लगानीमा पाँच तारे होटल निर्माण गर्ने घोषणा गरिसकेको छ। विदेशी संयुक्त लगानीमा निर्माण गर्न लागिएको 2 सय 20 कोठा रहने उक्त होटल सन् 2016 को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने घोषणा गरिएको छ।

       नेपालको ठूलो औद्योगिक घराना चौधरी समूहले चितवनको मेघौलीमा 'जिंक जर्नी चितवन' नामको साततारे होटल बराबरको सुविधा दिने गरी रिर्सोट निर्माण गरिरहेको छ। चितवन नेसनल पार्कमा गरिने साहसिक जंगल सफारीमा आउने पर्यटकलाई सुविधा दिने उद्देश्यले 18 भिल्ला रहेको रिसोर्ट सन् 2015 को मध्यसम्ममा सञ्चालनमा आउनेछ।

       गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले 'होटल काठमाण्डू' नामको होटल निर्माणका लागि दरबारमार्गमा 14 रोपनी जग्गा किनिसक्नु भएको छ। अन्तर्राष्ट्रियस्तरमा चर्चित होटल सेराटनसँगको संयुक्त लगानीमा 2 अर्ब 50 करोड रुपैयाँ खर्चिएर 2 सय कोठा रहेको होटल बनाइने भएको हो।

        गैरआवासीय नेपाली संघले करिब 4 अर्ब रुपैयाँको लगानीमा नयाँ होटल खोल्ने औपचारिक निर्णय नै गरेको छ। घले संघको अध्यक्ष भएलगत्तै बसेको कार्यसमिति बैठकले पोखरा, विराटनगर वा लुम्बिनीमध्ये एक ठाउँमा कम्तीमा दुई सय कोठा क्षमताको होटल खोल्न काम सुरु गर्ने निर्णय गरेको थियो।

         त्यसैगरी मलिराम शिवकुमार (एमएस) समूहले होटल क्षेत्रमा करिब 6 अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। नेपाल हस्पिटालिटी ग्रुपको नामबाट यस समूहले होटल क्षेत्रमा लगानी शुरु गरेको हो। उपत्यकामा दुईवटा पाँचतारे र एउटा चारतारे स्तरका होटलमा यो लगानी गर्ने घोषणा गरेको एमएस समूहले गत जेठदेखि ठमेलमा चारतारे होटल निर्माण गरिरहेको छ।

        मंसिरदेखि नै राजधानीको नक्सालमा एउटा पाँचतारे होटल निर्माण शुरु भएको छ। यी दुई होटल सञ्चालनमा आएपछि भक्तपुरमा पाँच तारे होटल निर्माण गरिने बताइएको छ। एमएस समूहका अनुसार नक्सालमा निर्माण शुरु भएको होटलमा दुई सय 35 कोठा रहनेछन् भने त्यसको लागत 2 अर्ब 50 करोड रुपैयाँ हुनेछ। सन् 2016 मा सञ्चालनमा ल्याउने बताइएको छ। ठमेलमा निर्माण भइरहेको चारतारे होटलमा 108 कोठा रहने र यो 2015 देखि सञ्चालनमा आउने छ।

       अनलाइन खबरका अनुसार सन् 1970 देखि टेक्सटाइल, स्पिनिङ मिल हाउजिङ, साबुनलगायतका उद्योगमा सक्रिय एमएस समूह होटल व्यवसायमा पहिलो पटक लगानी गर्न लागेको हो। यसले होटल व्यवसायमा अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारी गरेको छ।

         त्यस्तै, बैद्य अर्गनाइजेसनले काठमाडौंस्थित टायोटा कम्पलेक्स भएको स्थानमा 12 देखि 15 रोपनी जग्गामा पाँच तारे होटल बनाउने घोषणा गरेको छ।

         बेगनास र लुम्विनीमा रिसोर्ट शैलीको होटल बनाउन 50 रोपनी जग्गा किनिसकेको छ भने अब 75 रोपनी जग्गा थप गरी 125 रोपनी पुर्‍याउने योजना रहेको बैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले जानकारी दिनुभयो।'आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट विदा लिएपछि होटल तथा पर्यटन क्षेत्रमा तीब्र रुपमा लगानी गर्ने उहाँले जानकारी दिनुभयो।

        डेरी, कन्फेक्स्नरी उद्योग, अटोमोवाइल व्यापारमा जमेको लक्ष्मी ग्रुपले पनि होटल क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। दुई वर्षभित्र पोखरामा रिसोर्ट र काठमाडौंमा चारतारे होटल खोल्ने योजना रहेको समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जानकारी दिनुभयो।

       त्यसैगरी अर्को व्यापारिक घराना नेसनल ग्रुप अफ कम्पनिजले विराटनगरमा 75 करोड रुपैयाँ लगानी गरी पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेको छ। डेढ विघा जग्गामा 110 कोठाको होटल निर्माण गरिने ग्रुपका अध्यक्ष मोती दुगडले जानकारी दिनुभयो।

       यसैगरी ठमेलमा बैंकर पृथ्वीबहादुर पाण्डेसहित विभिन्न व्यवसायीको लगानीमा चारतारे होटल निर्माणको घोषणा गरिएको छ। छायाँदेवी प्रालिको 4 अर्ब रुपैयाँ लगानीमा बनाउन लागिएको यो होटल 2 सय 50 कोठाको हुनेछ। 14 रोपनी क्षेत्रफल रहने पाण्डेले जानकारी दिनुभयो।

         पुराना होटलहरुले पनि आफ्नो क्षमता विस्तार गर्नुका साथै नयाँ लगानी पनि गर्दै आएका छन्। राजधानीको लाजिम्पाटमा एस होटल्स एन्ड रिसोर्ट ग्रुपले 25 करोड रुपैयाँ लगानीमा नयाँ तीनतारे होटल निर्माण सुरु गरिसकेको छ। सन् 2015 सम्ममा यो होटल सञ्चालनमा ल्याउने समूहका अध्यक्ष योगेन्द्र शाक्यले जानकारी दिनुभयो। अर्कातिर याक एण्ड यति, होटल हिमालयन, द्धारिका, होटल स्नेहलगायत पुराना होटलहरुले पनि क्षमता विस्तार गरिरहेका छन्।

        त्यसैगरी पोखराको तीनतारे होटल बाराहीले चितवनमा 60 कोठायुक्त रिसोर्ट बनाउने घोषणा गरेको छ भने निजी वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रवर्द्धक ल्हाक्पा सोनाम र आङछिरिङ शेर्पाको यती होलिडेजले पनि चितवनमा 50 देखि 60 कोठाको रिसोर्ट बनाउने घोषणा गरेको छ।

         होटल व्यवसायीका अनुसार पाँचतारे होटलको एउटा कोठा निर्माण गर्दा 1 करोड रुपैयाँ खर्च लाग्छ। चारतारेमा 60 देखि 70 लाख र तीनतारेमा एउटा कोठा बनाउँदा 30 लाख रुपैयाँ खर्च लाग्छ।

         होटल व्यवसायीहरुको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अनुसार मुलुकको होटल उद्योगमा हालसम्म 3 खर्ब 50 अर्ब रुपैयाँ लगानी भइसकेको छ। मुलुकमा हाल 10 वटा पाँचतारे, दुईवटा चारतारे, 22 वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, टुरिस्ट क्लास, ताराविहीन गरी 12 सय होटल सञ्चालनमा छन्। यिनीहरुमा करिब 40 हजार बेड छन्। सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेपछि नेपालमा पर्यटन विकासको सम्भावनालाई मध्यनजर गर्दै होटल क्षेत्रमा लगानीकर्ताहरु आकषिर्त भएका हुन्। /

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह