फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नेपालका अर्थमन्त्रीको निर्देशन

(GMT+08:00) 2014-01-04 19:12:15

        नेपालका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजश्व प्रशासन सुस्त, सम्झौतावादी र खुट्टा कमाउने हुँदै गएको अनुभव आफूले गरेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा भएको मंसिर महिनाको राजश्व समीक्षा बैठकमा अर्थमन्त्री कोइरालाले राजश्वलाई सरकार फेरिने विषयसँग नदाँज्न आग्रह गर्नुभयो।

     'सरकारमा कालो जान्छ, गोरो आउँछ। यो प्रक्रिया हो। एकपटक तपाईंहरुले आफूले आफैँलाई समीक्षा गर्ने बेला आएको छ। सरकार उत्तरार्द्धमा पुगेका बेला मैले राजश्वका निकायहरुमा गएर अप्रिय बचन बोल्नुपरेको छ। अनुगमन र निरीक्षण गरेर नपुगेपछि निगरानी बढाउनु परेको छ। एकपटक तपाईंहरुले आफूले आफैँलाई समीक्षा गर्ने बेला आएको छ।' मन्त्री कोइरालाले भन्नुभयो 'म मेरा सचिवलाई निगरानी गर्छु, सचिवले सहसचिव, विभागीय प्रमुखलाई र विभागीय प्रमुखहरुले आफू मातहतका निकायलाई खबरदारी गर्नुहोला।'

          मन्त्री कोइरालाले अहिलेसम्म चुनाव, चाडपर्वको बहानाबाजीले काम गरेपनि अब त्यस्तो बहानाबाजीको गुन्जायस नभएको प्रष्ट पार्नुभयो।

         एउटै मुद्दा फैसला नगरी वर्षौं झुलाउने काम नगर्न सम्पति शुद्धीकरण विभागलाई निर्देशन दिँदै मन्त्री कोइरालाले खुट्टा नकमाई काम देखाउन आग्रह गर्नुभयो।

         राजश्व कार्यालय नभएका जिल्लामा कर अधिकृत पठाएर भएपनि सरकारले दिएको कर छुटको अवसरलाई उपयोग गर्न उहाँले सल्लाह दिनुभयो।

         अर्थ सचिव शान्तराज सुवेदीले पुस मसान्तसम्म सरकारले दिएको छूटको उपयोग नगर्नेलाई माघदेखि आक्रामक रुपमा कारवाही अघि बढाउन आग्रह गर्नुभयो। उहाँले कार्ययोजना बनाएर अघि बढ्न सम्झाउँदै यो महिना लक्ष्य भन्दा 2 अर्ब बढी नउठाउने हो भने राजश्व वृद्धिमा नै धक्का लाग्ने भएकाले यो महिना राजश्व असुली 54 अर्ब पुर्‍याउनुपर्ने बाध्यता रहेको प्रष्ट पार्नुभयो।

          छोटी भन्सारमा बदमासी हुने गरेको रिर्पोर्ट आफूलाई आएको भन्दै त्यसतर्फ निगरानी बढाउन र सुनको चोरी पैठारीका विषयमा सजग हुन भन्सार प्रशासनको ध्यानाकर्षण गर्नुभयो।

          राजश्व समूहका कर्मचारीहरुलाई काममा प्रोत्साहित गर्न सतप्रतिशत भत्ताको व्यवस्था भएको भन्दै सचिव सुवेदीले सुविधा अनुसार कामममा न्याय गरेर देखाउन आग्रह गर्नुभयो।

         अर्थ मन्त्रालय राजश्व महाशाखा प्रमुख राजन खनालले मन्त्रालयका प्रतिनिधिहरु सञ्चालक रहेका संस्थाहरुको बेरुजु र बक्यौताको अवस्था डरलाग्दो रहेकाले त्यसप्रति सचेत भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले आफ्नै मन्त्रालयका सञ्चालक रहेका संस्थानको पुनरावलोकन आफ्नै मन्त्रालयले गर्नुपर्ने अवस्था आउन दिनु उचित नहुने बताउनुभयो।

         आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले सरकारले उद्योगीहरुकै मागअनुसार दिएको सुविधाले अपेक्षित परिणाम नल्याएको बताउँदै पुस मसान्तपछि विभाग यो लक्ष्य प्राप्त गर्न आक्रामक ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

          भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यले चुनाव, सार्वजनिक विदा र बढी राजश्व दिने वस्तुहरुको आयात अघिल्लो वर्षभन्दा घटेकाले त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताउनुभयो।

        त्रिभुवन विमानस्थल भन्सार प्रमुख किशोरजंग कार्कीले सुन आयात माग बम्मोजिम हुन नसक्दा चोरी पैठारीका घटना सार्वजनिक हुने गरेको भन्दै कोटा बढाउन पहल गरिनुपर्ने बताउनुभयो।

         सो अवसरमा सहभागीहरुले दर्ता एकातिर, कारोवार अर्कातिर गर्ने प्रवृत्तिका कारण अलमलमा पर्ने गरेको बताए। मिसम्याचमा परेका कारोवारीहरु अर्को फर्म खोलेर सञ्चालन गर्ने तर आफूहरु उनीहरुको टेलिफोन र सम्पर्क ठेगाना खोजेर बस्नुपर्ने अवस्था रहेको बताए। यसका लागि अर्थ मन्त्रालय अन्तर्गतका निकायहरुबीच समन्वय हुनुपर्ने उनीहरुको भनाइ रहेको कारोबार अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह