फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जहाजमा चरा ठोकिएपछि नेपाल वायु सेवाका 33 प्रतिशत उडान प्रभावित

(GMT+08:00) 2014-01-05 18:35:58

        नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने 9 एन एसीबी जहाज ग्राउन्डेड हुँदा एक सातादेखि लगातार उडान रद्द भएको छ। गत डिसेम्बर 26 तारिख बिहीबार राति चरा ठोकिएपछि यो जहाज ग्राउन्डेड भएका कारण 33 प्रतिशत अन्तर्राष्ट्रिय उडान प्रभावित भएको निगमले जानकारी दिएको छ।

        निगमको अन्तर्राष्ट्रिय उडानमा दुईवटा जहाज भए पनि एउटा ग्राउन्डेड भएका कारण एसीए नामक अर्को जहाजले मात्रै उडान गरिरहेको छ। एउटामात्र जहाज सञ्चालन हुँदा एक सातादेखि निगमको कम्तीमा 33 प्रतिशतसम्म उडान रद्द गर्नुपरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो।

        निगमले दुईवटा जहाजका लागि सातामा 16 वटा उडानको तालिका बनाउने गरेको छ। सामान्य अवस्थामा दुईटै जहाजलाई बढी भार नपर्ने गरी बनाएको नियमित उडानको तालिकामा एउटामात्र जहाजले उडान गर्दा अतिरिक्त 15 देखि 20 प्रतिशतसम्म मात्रै उडान थप गर्न सकिएको छ। बाँकी उडान भने नचाहेर पनि रद्द गर्नुपरेको निगमको भनाइ छ।

         निगमले एक सातामा मलेसिया सात, कतार चार, हङकङ तीन र थाइल्यान्डका लागि दुईवटा उडान तालिका बनाउँदै आएको छ। यसमध्ये हाल सञ्चालनमा रहेको एसीए नामक बोइङको चाप बढाएर थोरै यात्रु भएको अवस्थामा अर्को उडानमा समावेश गर्ने, विश्राम नलिई उडानमा प्रयोग गरिहने गर्दा पनि सातामा 5/6 वटा उडान रद्द गर्नुको विकल्प नभएको पनि निगमको भनाइ छ।

         गत साता हङकङबाट काठमाडौं आएको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा लाटोकोसेरो ठोक्किँदा निगमले यो जहाजले एक सातामा करिब 6 करोड रुपैयाँको नोक्सानी बेहोरेको छ। निगमको चारवटै अन्तर्राष्ट्रिय गन्तव्यमा एकपटक उडान रद्द हुँदा तीन करोड रुपैयाँ घाटा हुने अनुमान छ।

         एक सातामा सबै गन्तव्यमा दोहोर्‍याएर उडान रद्द गर्नुपरेकाले पनि यो घाटा दोब्बरसम्म पुगेको निगम स्रोतको भनाइ छ। निगमका दुईवटै जहाज एक सय 90 सिट क्षमताका हुन्।

         निगमले करबाहेक हङकङका लागि 27 हजार, मलेसियाको क्वालालम्पुरका लागि 21 हजार, कतारको दोहाका लागि 20 हजार र थाइल्यान्डको ब्यांककका लागि 13 हजार रुपैयाँमा एकतर्फी उडान गर्छ। यो रकमसँग तुलना गर्दा एक सय 90 सिटको जहाज चारवटै गन्तव्यमा उडान रद्द भएको अवस्थामा तीन करोड रुपैयाँ घाटामा जाने निगमले जानकारी दिएको छ।

         निगमको एसीबी जहाजको टेलविङ्सको बायाँ तर्फ रहेको फ्ल्यापमा चरा ठोक्किएका कारण नौ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो विमान ग्राउन्डेड छ। यो जहाजमा प्रयोग हुने प्राइमरी फ्लाइट कन्ट्रोल हो। यो फ्ल्याप निर्धारित समयभन्दा ढिलो भएकाले पनि निगमको उडान रद्द तथा आर्थिक क्षति बढ्दै गएको हो।

          अन्नपूर्ण पोष्ट अनलाइनका अनुसार छिटो उडान सञ्चालनकै लागि निगमले फ्ल्याप साट्ने प्रक्रिया अगाडि बढाएको छ। आगामी बुधबारसम्म नयाँ फ्ल्याप ल्याएर आगामी साताबाटै जहाज उडाउने तयारी भएको निगमका प्रवक्ता चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबारसम्ममा पार्टपुर्जा ल्याएर उडान गर्न आवश्यक तयारी भइरहेको छ।

          फ्ल्याप नयाँ खरिद गर्दा छिटो जहाज उडान सकिने भए पनि निगमले सार्वजनिक खरिद प्रक्रिया पूरा गरेर ल्याउन समय लाग्ने भएकाले साट्ने निर्णय गरेको हो। यो फ्ल्याप ल्याउन निगमका लागि जहाजको पार्टपुर्जा दिइरहेको कम्पनी सिंगापुरको सुगर ट्यांगो एअर स्पेसले उपलब्ध गराउन नसकेको कारण नयाँ स्थानबाट लिनुपरेकाले पनि ढिलो भएको निगमको भनाइ छ।

          निगमले हङकङ, मलेसिया, इजरायलसँग गरेको प्रयास असफल भए पनि बेलायतको एजे वाल्टरबाट फ्ल्याप ल्याउने भएको छ। यो फ्ल्याप सात मिटर लामो हुन्छ। यो फ्ल्यापसँग निगमको चरा ठोक्किएर क्षति भएको फ्ल्याप साट्न 40 हजार डलरसम्म खर्च गर्नुपर्ने निगमको भनाइ छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह