फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मर्मतका अभावमा मुगुका 19 लघु जलविद्युत बन्द

(GMT+08:00) 2014-01-05 18:36:46

       बितेको सात वर्षमा मुगुका गाउँहरूमा लघु जलविद्युत् बनाउने होड नै चल्यो। झन्डै 5 करोडको लागतमा 27 स्थानबाट लघुविद्युत् निकालियो। झन्डै ६ सय परिवारले उज्यालोको सुविधा पाए। तर, नियमित मर्मत नहुँदा 19 वटा लघु जलविद्युत् आयोजना महिनौंदेखि बन्द छन्। टुकी र दियालोबाट मुक्ति पाइसकेका झन्डै चार सय परिवार पुनः अँध्यारोमा फर्किन बाध्य छन्।

         सुम्ली, सालिम, नाके, ह्याङलु, श्रीकोट, केराई, धैनकोट, कालै, कम्फा, रुम, मुर्माका 19 लघु जलविद्युत् आयोजना अहिले बन्द छन्। बिग्रिएका आयोजनाबाट 3 किलोवाटदेखि 13 किलोवाटसम्म विद्युत् उत्पादन हुँदै आएको थियो। समुदायको सक्रियतामा नियमित मर्मतसम्भार भइरहेका आठ आयोजना मात्र अहिले सञ्चालनमा छन्। सेरी, निगाले, सिमा मुगुगाउँ, गम्थाका दुई सय परिवारले नियमित विद्युत् सुविधा पाएका छन्।

         गरिबी निवारण कोष, जिल्ला ऊर्जा विकास समिति, दुर्गम क्षेत्र विकास समिति र विभिन्न गैरसरकारी निकायले ती लघु जलविद्युत् आयोजना निर्माण गरेका हुन्। एउटा लघु जलविद्युत् आयोजना निर्माण गर्न 8 देखि 27 लाख लाग्ने ती निकायले जनाएका छन्। 'गाउँको बत्ती बिग्रदा आँखा फुटेजस्तै भयो,' रोवा गाउँका धर्मसिंह कामीले भन्नुभयो, 'बत्ती बलेपछि दियालो बिर्सेका थियौँ। फेरि खोज्नुपर्ने दिन आयो।' गाउँमा सक्नेले सोलार जडान गर्न थालेका छन् भने विपन्नहरू पुनः टुकी र दियालोमा फर्केको उहाँले बताउनुभयो।

         रोवा गाविसको 25 किलोवाट क्षमताको नाके, 13 किलोवाटको सालिम खोला, 3 किलोवाटको कम्फा लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या देखियो।

        मर्मत गर्न गाउँलेसँग न प्राविधिक नै छन्, न त आवश्यक खर्च जुटाउन सक्छन्। 'बुटवलबाट प्राविधिक ल्याउनुपर्छ भन्छन्। ल्याएर मर्मत गर्ने निकाय छैन,' कामीले भन्नुभयो।

         कान्तिपुर अनलाइनका अनुसार गरिबी निवारण कोषको 24 लाख लगानीमा 7 वर्षअघि निर्माण भएको सालिम खोला लघु जलविद्युत् तीन वर्षदेखि मर्मत नहुँदा रोवा, सालिम र र्‍याङच्याकाटी गाउँका करिब 1 सय 68 घरपरिवार अँध्यारोतिर फर्किएका छन्। दुर्गम क्षेत्र विकास समितिको सहयोगमा निर्मित नाके लघुविद्युत् बिग्रिदा गाँडपानी, चराप, जिउला, झाकोट र घट्टलेख गाउँका 2 सय परिवार अँध्यारोमा परेका छन्। 'गाउँमा बत्ती बलेपछि कालो धूवाँबाट मुक्ति पाइयो भन्ने लाग्यो,' रोवाका धर्मसिंह विकले भन्नुभयो, 'ऊ बेला मर्मतको सोच राखिएन। अहिले पुरानै युगमा फर्केझैँ भएको छ।'

         रोवा गाविसको कम्फा गाउँमा रहेको 3 किलोवाट जलविद्युत्, पुलु गाविसको सेरोग जलविद्युत्, रुगा गाविसको त्रिपगाउँमा रहेको 7 किलोवाटको जलविद्युत् लामो समयदेखि अवरुद्ध छन्।

         गरिबी निवारण कोषको आर्थिक सहयोगमा निर्मित रुगाको लुमगाउँस्थित 7 किलोवाटको लघु जलविद्युत् र सुम्ली गाउँको 3 किलोवाटको लघुविद्युत् मर्मत नहुँदा बन्द भएका हुन्।

         खत्याड भेगको ह्याङलु जलविद्युत्, गम्था जलविद्युत्, श्रीकोट गाविसको केराई चिमाढुग्री जलविद्युत् र खमाले गाविसको कवा जलविद्युत् बिगि्रएको 4 वर्षसम्म पनि मर्मतका लागि कसैले चासो देखाएको छैन। कम लागतमा निर्माण भएका अधिकांश लद्यु जलविद्युत् दिगो नभएको सुकाढिक गाविसका अम्मरराज शाहीले बताउनुभयो। उहाँले भन्नुभयो, 'बनाएर मात्र छाडे। मर्मत कोषको व्यवस्था नहुँदा दिगो भएन।'

         गाउँमा विद्युतका तार र पोल मात्रै छन् तर राति दियालो बोल्नुपर्छ। गरिबी निवारण कोषको सहयोगमा निर्माण भएको माथिल्लो धैनकोटको 14 किलोवाटको लघु जलविद्युत् एक वर्षदेखि अवरुद्ध छ। त्यस्तै, कालै गाविसको कालैगाउँको निर्माणाधीन 3 किलोवाटको लद्युविद्युत पनि लामो समयदेखि बन्द छ। पानीको स्रोत भएको स्थानमा जिविस दुर्गम क्षेत्र विकास समिति र गरिबी निवारण कोषको सहयोगमा डेढ किलोवाटदेखि 15 किलोवाटसम्म लद्यु जलविद्युत निर्माण भएका छन्।

          मर्मत अभावले डेढ दर्जन धेरै लघुविद्युत अवरुद्ध हुँदा पनि स्थानीय निकायले मर्मतको पहल गरेको छैन । स्थानीय विकास अधिकारी भरत गौतमले जिल्ला विकास समितिसँग त्यस्ता आयोजना मर्मत गर्न बजेट नहुने बताउनुभयो। 'सहयोगी निकायले मर्मत कोष नराख्दा समस्या भएको हो । जिविसमा पनि त्यस्तो बजेट छैन, त्यसैले गाउँमा मेसिन भएर पनि अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,' उहाँले भन्नुभयो।

         सबैका लागि दिगो ऊर्जाका राष्ट्रिय संयोजक सुमन बस्नेत गाउँमा मेसिनसँगै प्रविधि पुर्‍याउन नसक्दा बनिसकेका लघुविद्युत् पनि बन्द भएको बताउँछन्। 'मेसिन मुगुको गाउँमा छ, प्राविधिक बुटवलमा छन्,' उहाँले भन्नुभयो, 'समुदायलाई सीप सिकाउन र मर्मत प्रबन्ध मिलाउन सके मात्र यस्ता लघु जलविद्युतबाट लाभ लिन सकिन्छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह