फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो मुलुकबाट लुम्बिनी भ्रमण गर्ने पर्यटक घटे

(GMT+08:00) 2014-01-05 18:37:34

        विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो देशका पर्यटकको सङ्ख्यामा कमी आएको छ।

         राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट आएपछि यस क्षेत्रको समग्र पर्यटन व्यवसाय प्रभावित भएको छ। लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाइरहने भनेर भनिरहेको सन्दर्भमा तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा चाहिँ गिरावट आउनु राम्रो लक्षण नभएको पर्यटनविद् प्राध्यापक डा. गितु गिरीको भनाइ छ।

        'सङ्ख्यात्मक रुपमा भारतीय र नेपाली पर्यटकको सङ्ख्या वृद्धि भएपनि तेस्रो मुलुकको सङ्ख्या घटेको छ। यसको मूलभूत कारण विश्व पर्यटन बजारमा लुम्बिनीको अझै प्रचारप्रसार राम्रो नभएर नै हो। यसतर्फ लुम्बिनी विकास कोष र राज्यले ध्यान दिनुपर्दछ' पर्यटनविद् प्राध्यापक गिरीले भन्नुभयो।

         भारतको बोधगयामा भएको घटनाका कारण पनि पर्यटक आवागमन घटेको लुम्बिनी विकाष कोषका सदस्यसचिव अजितमान तामाङले बताउनुभयो। उक्त घटनाले लुम्बिनी भ्रमण गर्न चाहने श्रीलङ्काली र बर्मेली पर्यटकलाई प्रभावित पारेको तामाङको भनाई छ। गत असारमा बोधगयमामा शृङ्खलाबद्ध बम विष्फोट भएको थियो।

           कोषका प्रवक्तासमेत रहेका तामाङले लुम्बिनी घुम्न आउने मुख्यगरी श्रीलङ्का, बर्मा र जापानका पर्यटक घटेको बताउनुभयो। अन्य देशका नागरिकको लुम्बिनी भ्रमण गर्ने तथा लुम्बिनी बसाइ सामन्य गिरावट आएको छ।

         यसरी आन्तरिक पर्यटक र भारतीय पर्यटकको सङ्ख्यामा आएको वृद्धिले पर्यटनको आन्तरिक बजारमा उत्साह थपिए तापनि यो विश्व पर्यटन बजारका लागि भने त्यति शुभ सङ्केत नभएको पर्यटन क्षेत्रका विश्लेषक बताउँछन्। आन्तरिक पर्यटक र भारतीय पर्यटक मुस्किलले एकाध दिनबाहेक लुम्बिनीमा बस्दैनन् जसका कारण लुम्बिनी उनीहरुका लागि ऐना मात्रै हो। आउँछन्, हेर्छन्, जान्छन् तर तेस्रो मुलुकका पर्यटक जो आउँछन् हेर्छन्, हप्तौँ बस्छन् र जादाँजाँदै लुम्बिनीका लागि सहयोग पनि गर्दछन्।

          सन् 2013 मा 35 हजार 4 सय 26 जना श्रीलङ्कालीले लुम्बिनीको भ्रमण गरेका थिए जबकि अघिल्लो वर्ष सन् 2012 मा 52 हजार 6 सय 71 ले लुम्बिनीको भ्रमण गरेका थिए। कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् 2013 मा विश्वभरिका 1 सय देशका नागरिकले लुम्बिनीको भ्रमण गरेका छन्। वर्ष 2013 मा लुम्बिनीको भ्रमण गर्ने विदेशी पर्यटकहरुको सङ्ख्या एक लाख 25 हजार 4 सय 92 रहेको छ।

         सन् 2012 मा एक लाख 36 हजार एक जनाले र सन् 2011 मा एक लाख 28 हजार 2 सय 59 जना तेस्रो मुलुकका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषका सूचना अधिकृत राईले जनाउनुभयो। यद्यपि आन्तरिक र भारतीय पर्यटकको आगमनमा वृद्धि भएकोप्रति सन्तोष जनाएको छ। सन् 2013 को वर्षभरिको तथ्याङ्कलाई केलाउँदा लुम्बिनी भ्रमण गर्ने नेपालीको सङ्ख्या विगतका वर्षहरुमा भन्दा हृवात्तै बढेको छ। यसैगरी भारतीय पर्यटकहरु पनि विगतका वर्षमा भन्दा धेरै यस वर्ष लुम्बिनीको भ्रमण गरेका छन्।

          सरकारले लुम्बिनीमा विश्वका पर्यटकलाई आकषिर्त गर्ने ध्ययले सन् 2012 लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो। अहिले पर्यटन दूरदृष्टि 20/20 चलिरहेको छ। कोषले पनि विभिन्न गतिविधि अगाडि बढाएको छ तर पनि तेस्रो मुलुकका पर्यटकको आगमनमा कमी आएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह