फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको भक्तपुरको परिचय विस्तारका लागि चिनियाँसहित छ भाषामा जानकारी प्रकाशन

(GMT+08:00) 2014-01-06 16:47:50
          भक्तपुर नगरपालिकाले सांस्कृतिक एवम् पर्यटकीय जिल्लाका रूपमा परिचित भक्तपुर परिचयलाई विभिन्न 6 अन्तर्राष्ट्रिय भाषामा प्रकाशित गरेको छ। भक्तपुर नगरपालिकाले भक्तपुरलाई विश्वसामु चिनाउन विभिन्न 6 वटा अन्तर्राष्ट्रिय भाषामा भक्तपुरको परिचयलाई ब्रोसरमार्फत प्रकाशित गरेको हो। भक्तपुर घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज बनाउने तथा भक्तपुरको परिचयलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन सहयोग पुर्‍याउने हेतुले उक्त ब्रोसर सन् 2014 को जनवरी 1 अर्थात् पुस 17 गतेबाट वितरण थालेको भक्तपुर नगरपालिकाले जनाएको छ। नगरपालिकाले 2050 सालबाट अङ्ग्रेजी भाषामा मात्र छापेको ब्रोसरलाई अहिले जर्मनी, चाइनिज, जापानिज, फ्रेन्च र स्पेनिस भाषासमेत समावेश गरेर प्रकाशन गरेको हो। यसमा नगरपालिकाको प्रमुख पर्यटकीय आकर्षणको केन्द्रको फोटो, यहाँका सम्पदाको फोटो एवम् परिचय, भक्तपुरका पुग्नैपर्ने पर्यटकीय गन्तव्यको चिनारी तथा भक्तपुर नगरको नक्सा एवम् जिल्लाका प्रमुख सरकारी केन्द्रहरूलाई समावेश गरिएको छ। नगरपालिकाका पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले नगरपालिकाले पर्यटकको मागलाई मनन गरी विभिन्न भाषामा ब्रोसर प्रकाशन तथा वितरण गरेको जानकारी दिँदै विदेशीले बुझ्ने भाषामै उपलब्ध ब्रोसरले टुरिस्ट गाइडका रूपमा काम गर्ने दाबी गर्नुभयो। "भक्तपुर घुम्न आउने पर्यटक सबैले राम्ररी अङ्ग्रेजी बुझ्छन् भन्ने छैन, ब्रोसर उनीहरूकै भाषामा भए उनीहरूले भक्तपुरलाई राम्ररी चिन्ने मौका पाउँछन्, उनीहरू अलमलमा पर्दैनन्। यहाँ आएपछि घुम्नुपर्ने ठाउँ पनि छुटाउँदैन"-प्रमुख लासिवाले भन्नुभयो। केन्द्रका सूचना अधिकृत दामोदर सुवालले भक्तपुर घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी आउने पर्यटकको देश र भाषाका आधारमा ब्रोसर प्रकाशन गरेको बताउँदै भक्तपुरमा सबैभन्दा बढी चिनियाँ आउने गरेको बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घले अङ्ग्रेजी, जर्मनी, फ्रान्सेली, चिनियाँ भाषालाई अन्तर्राष्ट्रिय भाषाको मान्यता दिए पनि नगरपालिकाले भने पर्यटकको सङ्ख्याको आधारमा जापानिज भाषालाई प्राथमिकता दिएर ब्रोसर प्रकाशनमा ल्याएको गोरखापत्र अनलाईनले जनाएको छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह