फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अव अङ्ग्रेजी भाषामा अध्यापन गर्न नसक्ने सामुदायिक विद्यालयका शिक्षकलाई सेवाबाट अवकाश दिइने

(GMT+08:00) 2014-01-07 18:02:55

          अङ्ग्रेजी भाषामा अध्यापन गर्न नसक्ने सामुदायिक विद्यालयका शिक्षकलाई सेवाबाट अवकाश दिइने भएको छ। शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको माध्यम भाषाको मार्गचित्र तयार गरेको छ। मार्गचित्रमा कक्षा 6 देखि विश्वविद्यालय तहसम्मको पठनपाठनको माध्यम अङ्ग्रेजी भाषा हुने व्यवस्था गरिएको छ।

          शिक्षामन्त्री माधवप्रसाद पौडेलले कार्यरत सबै शिक्षक सरकारले लिने अङ्ग्रेजी भाषा सक्षमता परीक्षण (इङ्लिस ल्याङ्वेज कम्पिटेन्सी टेस्ट) मा सफल हुनुपर्ने बताउँदै भन्नुभयो, "यस्तो टेस्ट दिन नचाहने शिक्षकलाई स्वैच्छिक अवकाश दिएर सेवाबाट बिदा गरिनेछ। "

          यस्तो व्यवस्था गर्न मन्त्रालयले शिक्षक सङ्गठन तथा अभिभावक सङ्घहरूसँग पनि परामर्श गरिसकेको गोरखापत्र अनलाईनले लेखेको छ। "शिक्षकहरूले यसमा आफूहरूको कुनै आपत्ति नरहेको भनी मार्गचित्र स्वीकृत गर्न सहमति प्रदान गरिसक्नुभएको छ," मन्त्री पौडेलले भन्नुभयो। शिक्षक सेवा आयोगको परीक्षामा अङ्ग्रेजी र कम्प्युटर विषय समावेश गरिने जानकारी दिँदै उहाँले अब आयोगको परीक्षा उत्तीर्ण गरेर आउने शिक्षक अङ्ग्रेजी र कम्प्युटर विषयमा समेत अब्बल हुने बताउनुभयो।

          मन्त्रालयले विशेषगरी अङ्ग्रेजी भाषाका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसकेको ठहर गर्दै मार्गचित्र तयार गरेको हो। मार्गचित्रलाई आगामी महिनाभित्र स्वीकृति प्रदान गर्ने योजनामा मन्त्रालय रहेको छ। मन्त्रालयले विदेशी दाताको निर्देशनमा यस्तो योजना ल्याउन नलागेको स्पष्ट गरेको छ।

          अन्तिम रूप प्रदान गरिएको शिक्षाको माध्यम भाषाको मार्गचित्रमा वि.सं. 2072 सालबाट कार्यरत शिक्षकको अङ्ग्रेजी भाषा सक्षमता परीक्षण सञ्चालन गरिनेछ। आगामी 2073 सालदेखि कक्षा 11 मा पूर्णरूपमा अङ्ग्रेजी भाषामा पठनपाठन सुरु गरिनेछ। कक्षा आठमा आगामी 2077 सालदेखि पूर्णरूपमा अङ्ग्रेजी भाषामा पठनपाठन गरिनेछ।

          2079 सालदेखि कक्षा 6 सम्म नै पठनपाठनको माध्यम अङ्ग्रेजी भाषा लागू गरिनेछ। शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले भाषा परीक्षामा अनुत्तीर्ण हुने वा सहभागी हुन नचाहने शिक्षकलाई आगामी 2072 देखि 2077 सालसम्म अवकाश दिइसक्ने योजना रहेको जानकारी दिँदै भन्नुभयो, "महत्वाकाङ्क्षी नभई शिक्षामा परिवर्तन गर्न सकिँदैन।

          हतारिएर पनि यस्तो योजना ल्याउन लागेका पनि होइनौँ। यसमा कुनै दाताको लेनदेन पनि छैन। चुनौती छ भन्दैमा भाग्ने कुरा पनि आउँदैन। शिक्षकलाई अवसर दिने छौँ। हरेक शिक्षकले अवसर उपयोग गरेर आफू अब्बल रहेको प्रमाणित गर्न सक्नु पर्दछ। "

          उहाँले शिक्षकलाई दुरुत्साही गर्नुभन्दा सम्मानजनक रूपमा सेवाबाट अवकाश दिन लागिएको तर्क गर्नुभयो। मार्गचित्रमा प्रारम्भिक बालविकास र कक्षा 1 देखि 3 सम्म मातृभाषामै पठनपाठन गरिने प्रस्ताव गरिएको छ भने कक्षा 4 र 5 मा पठनपाठनको माध्यम भाषाका रूपमा नेपाली भाषाको प्रयोगलाई प्रवेश गराउने योजना अगाडि सारिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह