फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो संविधानसभाको पहिलो बैठकका लागि आवश्यक सबै तयारी पूरा

(GMT+08:00) 2014-01-07 20:15:42

         नेपालको व्यवस्थापिका संसद् सचिवालयले दोस्रो संविधानसभाको पहिलो बैठकको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ। 6 सय 1 सभासदका लागि 'सभासद लोगो' तयार भइसकेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने 30 वटै दलका कार्यालय (संसदीय दल कक्ष) तम्तत्यार छन्। डेढ वर्षदेखि धूलाम्मे भएका दलका कार्यालयका टेबुल, कुर्सी पुछेर टल्काइएको छ। नयाँ शक्तिका रूपमा उदाएका दल र अरूलाई पनि संसद् सचिवालयमा कार्यालयको जोहो गरिसकिएको छ।

         समितिका सभापतिहरूले चढ्ने गाडी मर्मत गरेर चिटिक्क पारिएका छन्। सचिवालयका लागि आवश्यक कर्मचारी पूर्ति गर्ने काम पनि पूरा भएको छ। सिंहदरबारस्थित सचिवालय परिसरमै रहेका सभामुख, उपसभामुख बस्ने कोठा रङरोगन गरी चिरिच्याट्ट पारिएको छ। योपटक उपसभामुखको कोठा फेरिएको छ। राज्यव्यवस्था समितिका सभापति कक्षलाई उपसभामुख कक्ष बनाइएको छ। विभिन्न समितिका सभापति बस्ने कोठामा जाडो-गर्मी दुवै नहुने गरी एसी जडान गरिसकिएको छ। परिसरमा टायल लगाउने काम पनि सकिएको छ। सभासदका परिचयपत्र र उनीहरूको उपस्थिति प्रणाली -एटेन्डेन्स सिस्टम) पनि आधुनिक बनाउने कार्य सचिवालयले अघि बढाएको छ।

         त्यस्तै संविधानसभा र व्यवस्थापिका संसद्को बैठक बस्ने बानेश्वरस्थित संविधानसभा भवनभित्र र बाहिरसमेत गर्नुपर्ने तयारी पूरा भइसकेको छ। भवनभित्र र बाहिर रङरोगन गरी चिरिच्याट्ट पारिएको छ। बाहिरपट्टी फूल रोप्ने, सजिसजाउ गर्ने, सरसफाइ गर्ने र पानीको फोहोरा जडान गर्ने काम सकिएको छ। संविधानसभाको सुरक्षा व्यवस्था मजबुत पार्न सुरक्षा निकायसँग छलफल भइरहेको छ।

         कान्तिपुर अनलाईनका अनुसार भित्रपट्टी संविधानसभा कक्षलाई उच्च प्रविधियुक्त -हाइटेक) बनाइएको छ। संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार सभासदका क्रियाकलाप र उनीहरूका गतिविधि रेकर्ड गर्न अडियो र भिडियो प्रणाली जडान गरिसकिएको छ। जडान गरिएका सिसि क्यामेराले सभासदका हरेक गतिविधि नियाल्नेछ।

         सभासदले बोल्नका लागि यसपटक सिंगापुरबाट ल्याइएका आधुनिक र गुणस्तरीय माइक जडान गरिएको छ। अघिल्लो संविधानसभाका माइक 20 वर्ष पुराना भएकाले फेरिएको हो। माइकलगायत साउन्ड सिस्टमलाई हाइटेक बनाउन करिब 42 लाख रुपैयाँ खर्च भएको जानकारी सचिवालयले दिएको छ।

         बैठक गतिविधिको दृश्य हेर्न सजिलो होस् भनेर सभामुख बस्ने डेस्क -सभासदको अघिल्तिर) सँगै 52 इन्चको प्रत्यक्ष दृश्य हेर्न मिल्ने मनिटर (स्क्रिन) जडान गरिएको छ। मनिटरमा चीन सरकारको सहयोग रहेको छ।

         संसद्मा राष्ट्रपति उपस्थित हुने दिन राष्ट्रपति भवन शीतल निवासदेखि संविधानसभा भवनसम्मको गतिविधिलाई लाइभ गर्न सकिने गरी सिस्टम जडान गरिएको छ। सचिवालयले सभासदलाई ऐन/नियम र नियमावलीबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम गर्ने अन्तिम तयारी पनि गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह