फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियाली राष्ट्रहरुसँग आफ्न सम्बन्ध जोड्न चीनद्वारा नेपाली सहयोगको अपेक्षा

(GMT+08:00) 2014-01-08 20:21:36

         नेपालका लागि चिनियाँ राजदूत वु छुन्थाईले दुई देशबीचको सम्बन्धलाई 'रणनैतिक साझेदार'को रुपमा विकसित गर्नुपर्ने बताउनुभएको छ। भारत र पाकिस्तानसँगको गहिरो सम्बन्धलाई चीनले 'रणनैतिक साझेदार'को रुपमा स्थापित गरिसकेको प्रष्ट्याउँदै उहाँले नेपाल र चीनबीच अझ बढी त्यसको आवश्यकता रहेको बताउनुभयो।

         नेपाल र चीनबीच पछिल्लो सम्बन्धबारे मंगलबार विश्व सम्बन्ध परिषद्ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै राजदूत वुले नेपालले अन्य दक्षिण एशियाली राष्ट्रहरुसँग चीनको सम्बन्धका लागि पुल बन्नुपर्ने बताउनुभयो। नेपालसँग चीनको विवादरहित गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले अब नेपाल, भारत र चीनबीच त्रिपक्षीय सम्बन्धको आवश्यकता रहेको औल्याउँनुभयो।

         नेपालमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि पटक पटक त्रिपक्षीय रणनीतिक समझदारीको प्रसङ्ग उठाउनुभए पनि हालसम्म भारतले स्वीकार गरिनसकेको यस्तो सम्बन्ध अत्यन्तै जरुरी रहेको विश्लेषण गर्दै उहाँले भन्नुभयो– यसमा भारतलाई सहमत गराउनु महत्वपूर्ण काम हो। चीन अहिले नयाँ अवधारणाका साथ अघि बढिरहेको उल्लेख गर्दै पछिल्लो नेतृत्वले आफ्ना छिमेकीहरुसँगको सम्बन्धलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो।

          नेपालमा कस्तो राजनीतिक प्रणाली र राज्य व्यवस्था अपनाउने भन्नेबारेमा नेपालीहरु आफैँले निर्णय गर्नुपर्ने भए पनि आफूहरुले नेपालमा के भइरहेको छ भन्नेबारे नियाली रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ''हामी यहाँको सरकारलाई समर्थन गछौँ, यहाँको राजनीतिक दलहरुलाई समर्थन गछौँ र यहाँको जनताहरुको चाहनालाई समर्थन गछौँ ।"

          नेपाल र चीनबीच जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन बाक्लो उच्चस्तरीय भ्रमण आदान प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्दै राजदूत वुले चीन नेपालका गैरसरकारी संघसँस्थाहरुसँग पनि सहकार्य गर्न प्रयासरत रहेको बताउनुभयो। चीनले नेपालमा हाल सरकारी अंगहरुसँगको सहकार्यलाई बढि प्राथमिकता दिँदै आएको छ। दुई देशबीच भौगोलिक प्रतिकुलताको कारण बाक्लो सम्पर्क सम्भव नभएको उल्लेख गर्दै उहाँले आफूहरु त्यसका लागि प्रयासरत रहेको बताउनुभयो।

          काठमाडौको चक्रपथ विस्तार, नेपाल वायु सेवा निगमलाई सहुलियतसहितको जहाज दिएर चीनले नेपालको विकासमा सहयोग गरिरहेको उदाहरण दिँदै उहाँले निगमले चीनबाट ल्याउन लागेको जहाज असुरक्षित हुने भनेर नेपालमा चलेको हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो। ''हामीले पनि त्यहि जहाज प्रयोग गरिरहेका छौँ। अपवादबाहेक त्यस्तो सुरक्षा खतरा देखिएको छैन।" केहि सञ्चार माध्यममा आएको समाचारबारे प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ''यसमा सुरक्षाको कुराभन्दा पनि अन्य विविध कारण हुनसक्छ।"

          दुई देशबीचको व्यापार र जनस्तरको समन्धका लागि सीमामा रहेको केरुङ नाका सञ्चालनमा आएपछि अझ सहज हुने बताउनुभयो। केरुङमा चीनतर्फको सडक कालोपत्रे भइसेको जानकारी दिँदै उहाँले नेपालतर्फको क्षेत्रमा पनि काम भइरहेको बताउनुभयो। करिब 30 वर्षअघि चीन नेपालभन्दा पनि गरिब रहेको उदाहरण दिँदै राजदूत वुले नेपालको आर्थिक विकासका लागि चिनियाँ पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम बन्नुपर्ने सुझाब दिनुभयो।

         वर्षेनी 10 करोड चिनियाँ पर्यटक विश्वको विभिन्न देशमा भ्रमण गर्ने र त्यस मध्ये करिब एक करोडले तिब्बत भ्रमण गर्ने उल्लेख गर्दै उहाँले त्यसको सिमित प्रतिशत मात्र पनि नेपाल भित्र्याउन सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने उहाँको धारणा थियो-गोरखापत्र अनलाईनले खबर लेखेको छ। चीन सरकारको तर्फबाट चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न निरन्तर उत्प्रेरित गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले नेपालले पनि त्यसका लागि कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह