फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारद्वारा लुम्बिनीलाई मुलुककै 'पर्यटन हब' बनाउने प्रक्रिया अगाडि

(GMT+08:00) 2014-01-08 20:21:24

        नेपाल सरकारले भगवान बुद्धको जन्मस्थल र बुद्धसम्बद्ध वरिपरिका क्षेत्र समेटेर लुम्बिनीलाई मुलुककै 'पर्यटन हब' बनाउने प्रक्रिया अगाडि बढाएको छ। विश्वभर छरिएर रहेका करिब 1 अर्ब बौद्धमार्गी तथा अन्य पर्यटक लक्ष्य गर्दै लुम्बिनीलाई पर्यटन हब बनाउने प्रक्रिया अगाडि बढाएको हो। यसका लागि सरकारले चालु आर्थिक वर्ष 28 करोड रुपैयाँ विनियोजन गरेको छ।

        'ठूलो परिमाणका बौद्धमार्गीसँगै अन्य पर्यटकको एक अंशमात्र ल्याउन सक्यो भने मुलुकको अर्थतन्त्रमा कायापलट हुने निश्चित छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भन्नुभयोः, 'यसैलाई केन्द्रविन्दुमा राखेर लुम्बिनीलाई पर्यटन हब बनाउने तयारी अगाडि बढाएका छौं।'

        उहाँका अनुसार हाल लुम्बिनी भनेर पर्यटकले घुम्ने भनेको ठाउँले एक किलोमिटर चौडाइ र तीन किलोमिटर लम्बाइको क्षेत्रफलमात्र ओगट्छ। अब पर्यटन हब बनाउने लागिएको क्षेत्रले नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लालाई समेट्ने छ। यिनको नक्सांकन पनि भइसकेको छ।

         बुद्धको पवित्र अस्थि धातु भएको रामनगरदेखि उनको दरबार रहेको तिलौराकोट हुँदै ज्ञान प्राप्तिपछि राजा शुद्धोदनलाई उनले भेटेको ठाउँ कुदान, जन्मस्थल लुम्बिनी, अशोक स्तम्भ रहेको निग्लिहवा, शाक्यहरूको वध गरिएको सग्रहवा, बुद्धकालीन सामग्री भेटिएको अरोराकोट, बुद्धको मावली देवदहलगायत स्थानलाई हबभित्र समेटिने सहसचिव भट्टराईले जानकारी दिनुभयो।

         ती सबै स्थलमा पर्यटक र बौद्धमार्गीलाई सेवा दिन होटल, रेस्टुरेन्ट, अन्य आकर्षक स्थल निर्माण गर्नुपर्ने आवश्यकता छ। 'त्यसैले यो आर्थिक वर्षका लागि त्यस क्षेत्रको पूर्वाधार निर्माण गर्न 12 करोड र लुम्बिनी गुरुयोजनालाई 16 करोड रुपैयाँ विनियोजन गरिएको छ।

         लुम्बिनीबारे सोचेजति प्रचारप्रसार र प्रवर्द्धन गर्न तथा संसारभरका बौद्धमार्गी र पर्यटकको आकर्षणको केन्द्र बनाउन अब सरकारले कुनै कसर नछाड्ने उहाँको भनाइ छ। लुम्बिनी अवलोकन गर्न आउने पर्यटकको संख्या पनि कम भने छैन। स्वदेशी तथा विदेशी गरी वार्षिक करिब 8 लाख पर्यटक लुम्बिनी पुग्ने गरेको तथ्यांक सरकारसँग छ। तीमध्ये नेपाली 5 लाख, त्यसपछि भारतीय र भारतबाहेक तेस्रो देशका 1 लाख 25 हजार हुने गरेका छन्।

         भारत हुँदै आउने तेस्रो देशका पर्यटक र भारतीयले पनि लुम्बिनी घुमेर रात बिताउन उतैतिर फर्कन गरेका छन्। यसबाट नेपालको पर्यटन व्यवसायमा खासै आम्दानी हुन नसकेको व्यवसायीकै भनाइ छ। तिनलाई लुम्बिनीमै कम्तिमा एक रात बिताउने व्यवस्था मिलाइने उनीहरूको भनाइ अहिलेसम्म पूरा हुन सकेको छैन।

         लुम्बिनीलाई पर्यटन हब बनाउन पर्यटन मन्त्रालयले ती तीन जिल्लाका जिल्ला विकास समितिका अधिकारी, सम्बद्ध गाविसका सचिव, होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), पाटा–नेपाल च्याप्टरलगायत प्रमुख पर्यटन संघसंस्थाका पदाधिकारी, स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला संघसंस्थालगायत समेटेर आगामी शुक्रबार लुम्बिनीमा वृहत छलफल गर्ने भएको छ।

         यसैबीच सन् 1978 मा बनाइएको लुम्बिनी गुरुयोजना पूरा गर्न अब थप 5 अर्ब रुपैयाँ आवश्यक पर्ने भएको–नागरिकन्युज अनलाईनमा खबर छ। जापानी नागरिक केन्जो ट्याङ्गोले तयार पारेको उक्त गुरुयोजनालाई नेपालले 1995 मै पूरा गर्ने लक्ष्य लिएको थियो। तर, लक्ष्यको 18 वर्षपछि बल्ल 75 प्रतिशत काम पूरा भएको पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह