फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चार महिनामा 127 किलोमिटर नयाँ सडक निर्माण

(GMT+08:00) 2014-01-09 19:25:38

          नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशभरमा एक सय 22 किलोमिटर नयाँ सडक ट्र्याक खनेको छ। योसँगै नेपालमा सडकको कुल दुरी 25 हजार तीन सय 87 किलोमिटर पुगेको छ।

          सरकारले चालु आर्थिक वर्षमा आठ सय 71 किलोमिटर खन्ने योजना बनाएको छ। योजनाअनुसार पहिलो चार महिनामा करिब 14 प्रतिशतमात्र सडक खनिएको सडक विभागले जनाएको छ। लक्ष्यअनुसार थोरै मात्रामा काम भए पनि लक्ष्यअनुसार नै यही आर्थिक वर्षभित्र देशभर ट्र्याक खन्ने काम पूरा गर्ने विभागका महानिर्देशक देवेन्द्र कार्कीको दाबी छ।

          पहिलो चौमासिकमा 14 प्रतिशत ट्र्याक खनिनु पनि ठूलो उपलब्धि रहेको बताउँदै कार्कीले दक्ष जनशक्ति नहुँदा पनि कहिलेकाहीँ समस्या आउने गरेको बताउनुभयो। उहाँका अनुसार विभागलाई थप एक सय सिभिल इन्जिनियर र दुई सय सब–इन्जिनियरको खाँचो छ। विभागको रणनीति सडक (राजमार्ग) को कामको मात्र जिम्मा भए पनि स्थानीय सडकमा ध्यान दिनुपर्ने अवस्था रहको उहाँले बताउनुभयो। विभागको लक्ष्यअनुसार ट्र्याक खोलिन्छ भन्नेमा आशावादी रहेको वरिष्ठ डिभिजन इन्जिनियर राजेश यादव बताउँनुहुन्छ।

          नागरिकन्यूज अनलाईनका अनुसार यो वर्ष सरकारले पाँच सय 74 किलोमिटर कच्ची सडकलाई ग्राभेल गरी स्तरोन्नति गर्ने लक्ष्य राखेको छ। तर, आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यको जम्मा 22 प्रतिशत सडकलाई मात्र ग्राभेलमा स्तरोन्नति गरिएको छ। त्यसैगरी, चार सय 59किलोमिटर सडकलाई कालोपत्रेमा स्तरोन्नति गर्ने लक्ष्य राखेकोमा एकतिहाइ अवधि समाप्त हुँदा एक सय पाँच किलोमिटर मात्र सडक कालोपत्रे भएको छ। यो वर्षभरिको लक्ष्यको करिब 22 प्रतिशत हो। यसका लागि अहिलेसम्म 3 अर्ब 47 करोड 97 लाख 46 हजार रुपैयाँ खर्च भएको छ।

          हालसम्म देशका 73 वटा जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुगेको छ। विभागका अनुसार पुग्न बाँकी दुई जिल्ला डोल्पा र हुम्लामध्ये डोल्पामा नेपाली सेनाले सडकको ट्र्याक खन्ने काम गरिरहेको छ। आगामी आर्थिक वर्षभरमा डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्ने लक्ष्य विभागले राखेको विभागका इन्जिनियर अर्जुन सुवालले जानकारी दिनुभयो। हुम्लामा भने चीनतर्फ बाट सडक खनिँदै गरे पनि नेपालतर्फबाट सडक खन्न सुरु नभएको उहाँले जनाउनुभयो।

          विभागका अनुसार देशभरमा जम्मा 10 हजार सात सय 64 किलोमिटर पक्की कालोपत्रे सडक छ। ग्राभेल गरिएको सडकको लम्बाइ भने 6 हजार 67 किलोमिटर रहेको सडक विभागको तथ्यांक छ। बाँकी सडक कच्ची हो। गत आर्थिक वर्षमा विभागले एक हजार 27 किलोमिटर नयाँ सडक विस्तार गरेको थियो। सात सय 57 किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नति र दुई सय 70 किलोमिटर सडक ग्राभेलमा स्तरोन्नति गरेको विभागको तथ्यांक छ।

          25 हजार तीन सय 87 किलोमिटर सडकमा विभिन्न स्थानमा गरी देशभर एक हजार 6 सय नौ वटा पुल निर्माण गरिएका छन्। चालु आर्थिक वर्षमा 95 वटा पुल बनाउने लक्ष्य राखे पनि पहिलो चौमासिकमा एउटा पनि पुल बन्न सकेको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह