फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खेतबारीमै पुगेर नेपालका अर्थमन्त्रीद्वारा किसानका समस्याबारे जानकारी

(GMT+08:00) 2014-01-10 17:11:30

         अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले बिहीबार लघु उद्यमीहरूको खेतबारीमै पुगी उनीहरूको पीरमर्का बुझ्नुका साथै आफूले सकेजति सहयोग गर्ने आश्वासन दिनुभएको छ।

          उद्योग मन्त्रालयअन्तर्गत् लघुउद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालित स्ट्रबेरी उत्पादक किसानसँग नुवाकोट ओखरपौवामा भएको छलफलमा मन्त्री कोइरालाले स्ट्रबेरीलाई नेपालबाट निर्यात हुने फलफूलको सूचीमा राख्ने आश्वासन दिनुभयो। केरा, स्याउ, सुन्तला, जुनारजस्ता फलफूलमा आत्मनिर्भर बन्नका लागि बजेटमा व्यवस्था गरे पनि स्ट्रबेरीका विषयमा आफूलाई कसैले नसुझाएका कारण सम्बोधन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो।

          आयात र निर्यातको घाटाबाट आक्रान्त मुलुकलाई माथि उकास्न कृषिको व्यावसायिकता एकमात्र विकल्प रहेको मन्त्री कोइरालाको भनाइ थियो।

          उहाँले 72 हजार किलो स्ट्रबेरी विदेशमा निर्यात् भएको जानकारीले आफूलाई थप उत्साही बनाएको भन्दै यसको उत्पादन, व्यावसायिक विकास र निर्यातको प्रवर्द्धनमा भएका समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो। विभिन्न मन्त्रालयका सचिव, सरोकारवालासँगै किसानको दैलोमा पुग्नुभएका मन्त्री कोइरालाले आफूहरू सरकारबाट हटे पनि स्थायी सरकारका प्रतिनिधिहरूले किसानका समस्या आत्मसात् गर्ने बताउनुभयो।

          धनीमानीहरूले खाने भनेर चिनिएको फल आज निर्यात् गर्ने अवस्थामा पुग्नु उपलब्धिमूलक भएको भन्दै मन्त्री कोइरालाले यसको उत्पादनलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यस अवसरमा उद्योग सचिव कृष्ण ज्ञवालीले स्ट्रबेरी, एवोकार्डो र किबीजस्ता नयाँ फलफूलको नेपालमा व्यावसायिक उत्पादन हुन थालेकोमा खुसी प्रकट गर्दै परिमाणसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गर्नुभयो।

         लघुउद्यम विकास कार्यक्रमका राष्ट्रिय निर्देशक यामकुमारी खतिवडा, कार्यक्रमका प्राविधिक सल्लाहकार डा. लक्ष्मण पुनले काठमाडौँ वरपर रहेका कुखुरा फर्ममा उत्पादित मल ल्याएर उत्पादनलाई अर्गानिक बनाउन सुझाव दिनुभयो ।

         किसानले डढुवा तथा बोट हौसिने रोगको उपचारमा समस्या भएको बताउँदै स्ट्रबरी निर्यातका लागि औपचारिक बाटो खोलिदिन आग्रह गरे। गोरखापत्र अनलाईनका अनुसार स्ट्रबरीका लागि पकेट क्षेत्र बनाएर यसको व्यावसायिक खेतीको प्रवर्द्धनमा सघाउ पुर्‍याउन उनीहरूले सरकारसँग अनुरोध पनि गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह