फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्गरिला-2

(GMT+08:00) 2010-01-15 15:25:35

रवि- श्रोताहरु, चीनको युनान प्रान्तमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण साङ्गरिलाको भ्रमणको क्रममा ध्रुवजीले प्राचीन सहर लिच्याङ्गबाट साङ्गरिला जाँदा बाटोमा देखेका कुराहरुको बारेमा अगिल्लो हप्ताको कार्यक्रममा चर्चा गर्दै हुनुहुन्थ्यो ।

ध्रुव- हजुर रविजी, हामीहरु चीनको प्राचीन लिच्याङ्ग सहर, जुन समुद्रसतहबाट 2 हजार 4 मीटर उचाइमा पर्छ, त्यहाँबाट ओरालो लागेर 1 हजार 8 मीटरको उचाइमा पुग्नुपर्ने र त्यहाँबाट साङ्गरिला काउन्टी भएको भूभाग समुद्रसतहबाट 3 हजार 2 सय मीटरको उचाइमा पुग्नुपर्ने कुरा गरिरहेको थिएँ ।

रवि- ध्रुवजी, यसरी एक दुई घन्टाभित्रै 1 हजार 4 सय मीटर उचोँ भूभागमा पुग्दा तपाईंलाई लेक लाग्ने समस्या देखिएन ?

ध्रुव- लेक लाग्ने समस्या मलाई खासै देखिएन किनभने म छिङ्गहाई तिब्बत रेलमार्गबाट चीनको तिब्बतहुँदै स्थलमार्गबाट नेपाल जाँदा म समुद्र सतहबाट 5 हजार 3 सय मीटर उचाइसम्म पुगेको छु । चीनको तिब्बतको अधिकांश भूभाग समुद्र सतहबाट तीन हजार मीटरभन्दा माथि पर्छ । र, चीनको तिब्बतमा मैले पटक पटक गरेर कम्तिमा 20 दिन बिताएको छु । त्यसैले तिब्बतभन्दा कम उचाइको क्षेत्रमा लेक लाग्ला भनेर मैले कुनै प्रवाह गरिन । तर अन्य चिनियाँ र विदेशी पत्रकार मित्रहरुलाई भने त्यसको चिन्ता लाग्न थाल्यो । त्यसैले हामीहरुलाई दिइएका दुई जना स्थानीय पथप्रदर्शकले हामीहरुलाई चिन्ता नगर्न भनेर धेरै पटक सम्झाए । ती पथप्रदर्शको बोलीचाली र हाउभाउले पत्रकारहरुको चिन्ता आधा कम पारेको मैले अनुभव गरेँ ।

रवि- तपाईंहरुलाई दिइएको पथप्रदर्शक कस्ता थिए ?

ध्रुव- रविजी, हामीलाई सहयोग गर्नका लागि गाडीमा आएका साङ्गरिलाका दुई जना स्थानीय पथप्रदर्शकको बारेमा मैले अलि अगाडि नै भन्नुपर्ने हो । वास्तवमा म ब्यवसायले पत्रकार भएता पनि म नेपालको ब्यवसायिक पर्यटक पथप्रदर्शक पनि हो । विशेष गरेर नेपाल घुम्न गएका चिनियाँ पर्यटकहरुहरुलाई म नेपालमा भएको बेलामा घुमाउने गरेको छु । अर्थात् केही चिनियाँ समूहको लागि नेपालमा चिनियाँ भाषाको पथप्रदर्शकको रुपमा मैले व्यवसायिकरुपमा नै काम गरिसकेको छु । र, नेपालको सरकारी निकायले दिने पथप्रदर्शकको तालिम पनि मैले सम्पन्न गरेको छु । त्यसैले हामीहरुलाई बाटो देखाउने साङ्गरिलाका पथप्रदर्शकको काम निकै प्रशंसनीय लाग्यो ।

रवि- साङ्गरिलाका पथप्रदर्शकको काम कसरी प्रशंसनीय भन्नुभएको?

ध्रुव- रविजी, वास्तवमा मैले पनि उनीहरुको काम गराइबाट केही कुरा सिक्ने अवसर पाएँ । उनीहरु दुबै जनाले स्थानीय पोशाक लगाएका थिए । वास्तवमा उनीहरु जति फुर्तिला थिए, मैले काम गर्दा आफू त्यस्तै फुर्तिलो भइन जस्तो लाग्छ । हामीहरु गाडीमा चढ्ने बित्तिकै महिला पथप्रदर्शकले हामी सबैलाई चीनको तिब्बतमा उत्पादन गरिएको मिनरलवाटर एक एक बोत्तल दिइन् । गाडी चल्न सुरु गरेपछि उनीहरु दुबैजनाले स्थानीय तिब्बती भाषामा चासी तले भने । अभिवादन गर्दा प्रायः तिब्बती भाषामा च्या सितले भन्नुपर्ने रहेछ । च्यासितलेको अझ बृहत अर्थ सुनाउदै उनले अभिवादन गर्दा, कसैसँग छुट्टिदा, कसैलाई दुःख दिनुपर्दा वा तपाईंलाई कष्ट भयो भनेर भन्नुपर्दा पनि च्यासितले शब्द प्रयोग गर्न सकिने रहेछ । यसोभन्दै साङ्गरिलाको उचाइ भनेपछि प्रायः सबैजनाको अनुहार मलिनो हुन थाल्यो । तर उनले आफ्नो कुरा राख्तै सबैलाई सम्झाउन प्रयास गरिन् । तपाईंहरुले कुनै चिन्ता गर्नुपर्दैन, साङ्गरिला केही उचोँ भागमा भए तापनि घना जंगल र प्रशस्त पानीको स्रोत हुनाले अक्सिजनको अभाव हुँदैन । तर पनि लेक लाग्ने समस्याबाट सुरक्षित रहनका लागि पानी धेरै पिउन र मासुजन्य खानेकुरामा भन्दा हरियो सागसब्जीमा जोड दिन अनुरोध गरिन । तपाईंहरु सकेसम्म ढिलो हिड्नुहोस र त्यहाँ पुग्नेबित्तिकै ननुहाउनु होला । यस्तो गर्दा पनि समस्या भयो भने तपाईंहरुलाई कृत्रिम अक्सिजन ग्यासको व्यवस्था गरिएको छ भनिन् । यस्तैयस्तै भनेर सम्झाएपछि सबैको मुहार उज्यालो भएको थियो ।

रवि- श्रोताहरु आजको कार्यक्रममा हामीले ध्रुवजीको साङ्गरिला भ्रमणका विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, यो सुमधुर गीतभन्दा अगाडि तपाईंले स्थानीय पथप्रदर्शकले गरेको कुराकानीको बारेमा चर्चा गर्दै हुनुहुन्थ्यो।

ध्रुव- हजुर रविजी । वास्तवमा स्थानीय ब्यवसायिक पथप्रदर्शक पाएको हुनाले हामीले बाटोमा धेरै जानकारी पायौं । वास्तवमा लिच्याङ्ग सहरबाट ओरालो लागेर समुद्रसतहबाट 1 हजार 8 सय मीटर उचाइ भएको भूभागमा पुगेपछि लिच्याङ्ग सहर छोडिने रहेछ र साङ्गरिलाको क्षेत्रमा प्रवेश गरिने रहेछ । साङ्गरिला र लिच्याङ्गबीच भएर चीनको प्रसिद्ध नदी याङ्गसी बग्दो रहेछ । लिच्याङ्गबाट मोटरबाटो हुँदै साङ्गरिला पुग्दा धेरै नै समय याङ्गसी नदीको किनारैकिनार जानुपर्ने रहेछ । पछि नदीको नाम याङ्गसी भएको थाहा पाएपछि मलाई कताकता रमाइलो अनुभव भयो । किनभने याङ्गसी नदीमा चीनको तीन घाँटी परियोजनाअन्तर्गत विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजना सम्पन्न गरिएकाले पनि याङ्गसी नदी वास्तवमा विश्वप्रसिद्ध छ र धेरैले यो नदी आफ्नै आँखाले हेर्न चाहन्छन् ।

रवि- याङ्गसी नदी त चीनको सबैभन्दा ठूलो नदी पनि हो नि ध्रुवजी ।

ध्रुव- हजुर रविजी, वास्तवमा याङ्गसी नदी चीनको सबैभन्दा ठूलो नदी हो । यसको नाम सुन्ने बित्तिकै याङ्गसी नदीका बारेमा पढेका धेरै जानकारी तुरुन्तै मैले सम्झिएँ । जस्तो कि चिनियाँ भाषामा छाङ्ग चियाङ्ग भनेर चिनिने याङ्गसी नदीको लम्बाइ 6 हजार 3 सय किलोमीटर छ । लम्बाइको हिसाबले याङ्गसी नदी चीनको सबैभन्दा लामो नदी पनि हो । विश्वको सबैभन्दा ठूलो नदी उत्तरपूर्वी अफ्रिकाको नाइल र दोस्रो ठूलो नदी दक्षिण अमेरिकाको एमाजोन पछिको तेश्रो लामो नदी पनि हो । छिङ्गहाइ-तिब्बत पठारभूमिको थाङ्गकुला पर्वतमालामा पर्ने केलातान्तोङ्ग पहाडबाट यो नदीको मुहान हो । चीनको दक्षिणपश्चिम क्षेत्रबाट पूर्वतिर बग्ने यो नदी छिङ्गहाई, तिब्बत, सछुवान, युनान, हु पै, हु नान, ज्याङ्गसी, आनहुइ र ज्याङ्गसु प्रान्त तथा शाङ्गहाई सहर हुँदै पूर्वी चिनियाँ समुद्रमा गएर मिसिन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह