फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रेटवालको यात्रा-1

(GMT+08:00) 2010-01-11 16:12:40

               आज म चीनको लामो पर्खाल वा ग्रेटवाल गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न महत्वपूर्ण स्थानहरू ग्रेटवाललाई पनि केन्द्रविन्दुमा राखेर हेर्न सकिन्छ । विश्वमा चीनबारे ज्ञान नहुनेले पनि ग्रेटवाल वा लामो पर्खालबारे त अवश्य पनि बुझेको वा सुनेको हुनसक्छ भन्ने मेरो राय रहेको छ।लामो पर्खाल वा ग्रेटवाल भनेको चीनको प्रमुख चिन्ह र विशेष सम्पदा हो।धेरै पहले यो पर्खाल निरमाण भए तापनि हाल चीनले उचित ध्यान दिएर यसको जगेर्ना तथा उचित मर्मत संभार गर्दै आएको देखिन्छ।मेरो अनुभवमा चीनका धेरै पार्क तथा अन्य महत्वपूर्ण धरोहरहरूले हजारौँको सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गरेर लाखौँ लाख रकम आर्जन गरेको छ।तर तुलनात्मक रुपमा हेर्ने हो भने यस पर्खालले हरेक दिन पचासौँ हजार पर्यटकलाई आकर्षित गरेको देखिन्छ अनि हरेक दिन दशौँ लाख आम्दामी गरेर राज्यको ढुकुटी भर्ने कार्य पनि गरेको छ।

            त्यति मात्र होइन कि पर्खाल चढ्न सुरु गर्ने तथा पर्खालका हरेक क्षेत्रमा राखिएका विवध मनोरञ्जनात्मक खेलहरू रेस्टुराँ तथा केबुल कार र स्लाइड कारले यो दुनियाँलाई आकर्षण गरेको देखिन्छ।प्रायः हरेक दिन नै त्यो पर्खालमा यति धेरै मानिस ओइरिएका हुन्छन् कि जो कोहीलाई त्यो स्थानमा हिँड्न निकै कठिन हुन्छ अनि बिस्तार विस्तार मात्र पाइला चालेर अघि बढ्न सकिन्छ।

               यो पर्खाल चीनका विभिन्न प्रान्तमा फैलिएर रहेको छ।चीन आउने विदेशीहरू मात्र होइन स्वयम् चिनियाँहरू पनि यो पर्खाल हेर्न र त्यहाँ घुम्न जान लालयित भएको कुरा वर्षका सबै दिनमा नै त्यो क्षेत्रमा देखिने भिडले स्पष्ट पार्दछ भन्न सकिन्छ।यो पर्खाल वास्तवमा नै विश्वमा सबैभन्दा विशेषतायुक्त र सबैभन्दा लामो अनि सबैभन्दा प्राचीन भएकै कारणले यसको महिमा विश्वमा चलेको हो।त्यसैले चीनसँग ग्रेटवाल जोडिएको छ अनि ग्रेटवाल भन्नासाथै चीनको नाम आउने हुनाले चीन र ग्रेटवाल एक अर्काका पर्याय हुन् भन्ने कुरामा कसैको पनि दुई मत नहोला।यसको लम्बाइ हाल छ हजार सात सय किलोमिटर भनेर लेखिएको छ दस्तावेजहरूमा तर प्राचीन चीनका विभिन्न वंशका राजाहरूले यसलाई पचासौँ हजार किलोमिटर लामो बनाउनका लागि तयारी गरेका हुनाले अवशेषका रुपमा अहिले पनि पचासौँ हजार किलोमिटरकै छ तर चढ्न हेर्न र प्रत्यक्ष अनुभव गर्न सकिने आधारमा चाहिँ करिव सातहजार किलोमीटरको हाराहारीमा यो पर्खाल रहेको छ।

              चन्द्रमामा पुगेर पनि पृथ्वीतर्फ निहाल्दा यो पर्खाल देखिने कुरा विज्ञानले सिद्ध गरिसकेको पृष्ठभूमीमा यसको महत्व अझै बढेर गएको स्पष्ट हुन्छ।यही विविध महत्वलाई बुझेर होला संयुक्त राष्ट्र संघ युनेस्कोले पनि ग्रेटवाललाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह