फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुख्यभूमि, हङ्गकङ्ग र मकाउ जोड्ने पुल

(GMT+08:00) 2010-03-05 09:07:51

रवि- श्रोताहरु, गत हप्ताको कार्यक्रममा हामीले पैचिङ्गमा 40 लाख निजी सवारीसाधन पुगेपछि ध्रुवजीले लेख्नुभएको डायरीको अंशलाई राखेका थियौं । ध्रुवजी, आज कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ?

ध्रुव- रविजी, आज कुरा गर्न लागेको विषय पनि करिब एक महिनाअगाडि तिर मैले लेखेको डायरीको अंश हो । अलिपछि यो विषय पुरानो होला भन्ने डरले मेरो साङ्गरिला भ्रमणका क्रममा लेखका डायरीका अंशलाई थाति राखेर नयाँ विषयमा कुराकानी गर्न लागेको छु । त्यो के भने चीनको हङ्गकङ्ग र मकाउ गरी दुईवटा विशेष प्रशासनिक क्षेत्र र आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण चीनको दक्षिणी प्रान्त कान्तोङ्ग जोड्ने पुल बनाउन सुरु गरिएको छ । हङ्गकङ्ग र मकाउ टापूबाट मुख्यभूमिको बीचमा समुद्र भएकोले मुख्यभूमि वा दुई विशेष प्रशासनिक क्षेत्रमा आउनजानका लागि समुद्र तर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । त्यसैले आर्थिकरुपमा महत्वपूर्ण तीनवटै क्षेत्रलाई जोड्ने गरी बनाउँदै गरिएको पुलको विश्वकै सबैभन्दा लामो पुल हुनेछ । त्यसैले समुद्रपार गर्ने विश्वको सबैभन्दा ठूलो पुलको निर्माणको बारेमा चर्चा गर्ने विचार गरेको छु ।

रवि- समुद्रमाथि निर्माण गरिने विश्वको सबैभन्दा लामो पुल भन्नुभयो तपाईंले, त्यसको लम्बाइ कति हुने रहेछ?

ध्रुव- रविजी, हङ्गकङ्गको लान्थौ टापूबाट सुरु हुने अंग्रेजी अक्षर वाइ आकारको उक्त पुलको लम्बाइ 50 किलोमीटर हुनेछ । यो 50 किलोमीटरमध्ये 35 किलोमीटरको भाग समुद्रमाथि निर्माण गरिनेछ । त्यसैले पनि समुद्रमाथि निर्माण गरिने यो विश्वकै सबैभन्दा लामो पुल हुनेछ।

यो पुल the six-lane expressway standard अर्थात् छ-लेनको द्रुतमार्ग मापदण्डका आधारमा तयार पार्न लागिएको छ, जहाँ सवारीसाधन 1 सय किलोमीटर प्रतिघन्टाको गतिमा गुड्न सक्छन् । मापदण्डकै कुरा गर्दा यो पुल कम्तिमा 1 सय 20 वर्षसम्म टिक्ने गरी डिजाइनिङ्ग गरिएको छ । 51मीटर प्रतिसकेन्ड अर्थात् 201 किलोमीटर प्रतिघन्टाको हावाको बेगले पनि यो पुललाई क्षति पुर्याउन सक्नेछैन । त्यसैगरी कम्तिमा आठ रेक्टर स्केलसम्मको भूकम्पले पुललाई असर गर्न सक्नेछैन । यो पुलको लागि 73 अर्ब चिनियाँ युवान अर्थात् 10 अर्ब सात करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । पुन निर्माणका लागि यो रकम मुख्यभूमि, हंगकंग र मकाउ सरकारले मिलेर बेहोर्ने छन् । करिब दुई महिनाअगाडि निर्माण सुरु गरिएको उक्त पुलको निर्माणकार्य छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरीमा हामीहरुले चीनको मुख्यभूमि, विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्ग र मकाउ गरी तीनै क्षेत्र जोड्ने गरि निर्माण थालिएको विश्वकै सबैभन्दा लामो सामुद्रिकपुलको बारेमा कुराकनी गरिरहेका छौं । ध्रुवजी, त्यति धेरै खर्च गरेर त्यति लामो समय लगाएर समुद्रमाथि पुल बनाउँदा समुद्रको पानी प्रदूषित हुनसक्छ नि?

ध्रुव- रविजी, तपाईंले ठिक कुरा उठाउनुभयो । वास्तवमा समुद्रमाथि बन्ने विश्वकै सबैभन्दा लामो पुलको निर्माण गर्दा हुनसक्ने सामुद्रिक प्रदूषणको प्रभाव कम पारी समुद्रिक पर्यावरण र सेतो डल्फिन लगायतका सामुद्रिक जीवको जीवनसुरक्षालाई पुल निर्माण परियोजनामा विशेष ध्यान दिइएको छ । समुद्रमा पर्नसक्ने ध्वनिप्रदूषणलाई पूर्णरुपमा नियन्त्रण गरिने छ भने समुद्रको पानी धमिलो पार्नसक्ने कुनैपनि बस्तु समुद्रमा फालिनेछैन । त्यसको साथसाथै निर्माणका क्रममा समुद्रमा हुनसक्ने तैलीय प्रदूषण नियन्त्रणका लागि पनि विशेष ध्यान पुर्याएको छ । त्यसैले मेरो विचारमा पुल निर्माण गर्दा हुनसक्ने वातावरण प्रदूषण कम गर्नका लागि निकै सोधविचारका साथ ध्यायन पुर्याएको छ भन्ने मलाई लाग्छ ।

रवि- ध्रुवजी, चीनका तीनवटा क्षेत्र जोड्ने पुलको निर्माण सम्पन्न भएपछि कस्तो खालको प्रभाव पर्छ भन्ने लाग्छ तपाईंलाई ?

ध्रुव- रविजी, वास्तवमा यी तीनै क्षेत्रबीचको सम्पर्क र आवतजावतमा अहिले नै पनि त्यस्तो ठूलो समस्या छैन । तर त्यो सम्पर्क, आवतजावत र आदानप्रदान झन छिटो र सजिलो हुनेछ । त्यसको सबैभन्दा सवल पक्ष मैले के देखेको छु भने तीनवटै क्षेत्रका बासिन्दाले आफूलाई अझ नजिक पाउने छन् । अझ भनौं सामिप्यताको अनुभव गर्नसक्ने छन् । हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएपछिको यो निर्माणकार्य तीनवटै क्षेत्रलाई जोड्ने एउटा कोशेढुङ्गा हो भन्न पनि सकिन्छ । हङ्गकङ्ग, मकाउ र मुख्यभूमिबीचको सहयोगबाट विश्व आर्थिक संकटको सामना गर्नका लागि त्रिपक्षीय लगानी अभिवृद्धि गर्दै तीनवटै क्षेत्रका जनतालाई प्रेरित गर्न यो परियोजनाले ठूलो भूमिका खेल्नसक्छ भन्ने मलाई लाग्छ ।

पुल निर्माणकार्य सुरु गर्नका लागि आयोजित उद्घान समारोहमा चीनमा उपप्रधामन्त्री तथा हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासकहरुको उपस्थिति रहेको थियो । उक्त समारोहमा उपस्थित मकाउ विशेष प्रशासनिक क्षेत्रका तत्कालीन मुखप्रशासक एडमन्ड होले मकाउ मातृभूमिमा समाहित भएको दश वर्षको उपलक्ष्यमा मुख्यभूमिले मकाउलाई दिएको उपहार भएको प्रतिक्रिया दिदैँ उक्त पुलको निर्माणले मकाउको आर्थिक र सामाजिक विकासलाई नयाँ युगमा पुर्याउन मद्दत पुर्याउने विचार व्यक्त गर्नुभएको थियो ।

वास्तवमा अहिले मकाउ विशेष प्रशासनिक क्षेत्रबाट हंगकंगसम्म पुग्नका लागि झन्डै तीन घन्टाको समय लाग्छ । तर यो पुलको निर्माणपछि मकाउको पश्चिमी भागबाट हंगकंगको पूर्वी भागसम्म आधा घन्टामा नै पुग्न सकिन्छ । मकाउको अहिलेको मुख्य व्यवसाय भनेको पर्यटन उद्योग हो । यो पुलको निर्माणपछि हंगकंग र मुख्यभूमिबाट मकाउ जाने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास त्यहाँका अधिकारीहरुले लिएका छन् । त्यसैले मकाउको मात्रै नभएर हंगकंग र मुख्यभूमिको आर्थिक विकासमा पनि यो पुलको निर्माणले सकारात्मक प्रभाव पार्ने मैले देखेको छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह