फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्गरिलास्थित सोङ्ग चान लिन गुम्बको भ्रमण

(GMT+08:00) 2010-03-29 09:14:24

रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको कार्यक्रममा ध्रुवजीले साङ्गरिला भ्रमणका क्रममा लेख्नुभएका डायरीका अंशहरुलाई राख्तै आएका छौं । अगिल्लो हप्ताको कार्यक्रममा पुताछो राष्ट्रिय निकुञ्जभित्रको पर्यावरणीय प्रदूषण कम गर्नका लागि स्थानीयस्तरमा गरिएका प्रयासहरुका बारेमा छलफल गरेका थियौं । ध्रुवजी, आज साङ्गरिलाको कुन विषयबाट कार्यक्रम अगाडि बढाउने विचार गर्नुभएको छ ?

ध्रुव- रविजी, युनान प्रान्तमा रहेको चीनको पहिलो राष्ट्रिय निकुञ्ज पुताछो राष्ट्रिय निकुञ्जबाहेक हामी साङ्गरिलामा रहेको एउटा तिब्बती बौद्धगुम्बामा पनि गएका थियौं । वास्तवमा साङ्गरिला युनान प्रान्तमा पर्ने भए तापनि चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएको ठाउँ भएकोले हुनसक्छ साङ्गरिलाको जनसंख्यामा चीनको तिब्बती अल्पसंख्यक जातिको बाहुल्यता पाइन्छ । तिब्बती मुलका जनतको बस्ती भएको हुनाले त्यहाँ थुप्रै गुम्बा, चैत्य र मन्दिरहरु निर्माण गरिएका छन् । तीमध्ये सोङ्ग चान लिन (Songzanlin) गुम्बा सबैभन्दा ठूलो र सबैभन्दा धेरै लामा अथवा बौद्धभिक्षुहरुको आश्रयस्थलको रुपमा रहेको छ । साङ्गरिलामा रहेको सोङ्ग चान लिन गुम्बा वास्तवमा भन्ने भने विश्वकै तिब्बती धर्मावलम्बीहरुका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसैले आजको कार्यक्रममा सोङ्ग चान लिन गुम्बाको बारेमा चर्चा गर्ने विचार गरेको छु ।

रवि- हुन्छ ध्रुवजी, आजको कार्यक्रममा साङ्गरिलामा रहेको सोङ्ग चान लिन ‍(Songzanlin) गुम्बाको बारेमा चर्चा गर्नुहोला । त्यो गुम्बा कति पुरानो हो ध्रुवजी?

ध्रुव- रविजी, सोङ्ग चान लिन गुम्वाको इतिहास तीनसय वर्षभन्दा पुरानो छ । सन् 1679मा बनाइएको सोङ्ग चान लिन गुम्बा चीनको युनान प्रान्तमा रहेको अहिलेसम्मकै सबैभन्दा ठूलो तिब्बती बौद्धगुम्बा पनि हो । गुम्बालाई आफ्नो वासस्थान बनाएर रहेका भिक्षुहरुको संख्या 9 सयभन्दा बढी छ । यति धेरै संख्यामा बौद्धभिक्षुहरु रहेको गुम्बा मैले यसभन्दाअगाडि देखेको थिइनँ । यो मेरो लागि नौलो विषय पनि बन्यो । अनि अर्को नौलो विषय के भने रविजी, सोङ्ग चान लिन गुम्बाको मोहडा तिब्बतको सदरमुकाम ल्हासामा रहेको पोतला दरवारको मोहडासँग ठ्याक्कै मिल्ने रहेछ । सोङ्ग चान लिन गुम्बाको मोहडा पोतला दरवाको मोहडाभन्दा केही सानो भएकोले स्थानीय वासिन्दा र तिब्बतको भ्रमण गरिसकेका पर्यटकहरुले पोतला दरवारको प्रतिकृति पनि मान्न सक्छन् ।

रवि- तपाईं पनि थुप्रै पटक तिब्बतको भ्रमण गरी पोतला दरवारको अवलोकन गर्नुभएको छ, तपाईंलाई पनि त्यस्तै लाग्यो ?

ध्रुव- तपाईंले भन्नुभएको कुरा सही हो । मलाई त्यो गुम्बाको मोहडा हेर्दा ल्हासाको पोतला दरवारको प्रतिकृतिजस्तो लाग्यो । म त्यहाँ पुग्दा मलाई ल्हासाको पोतला दरवार मात्रै होइन कि चीनको हपै प्रान्तको छन्त सहरमा रहेको एउटा गुम्बाको पनि याद आयो । पैचिङ्ग महानगरपालिकासँगै जोडिएको हपै प्रान्तको उक्त गुम्बा पोतला दरवारसँग हुबहु मिल्छ । हपै प्रान्तको छन्त सहरमा रहेको उक्त गुम्बामा म आजभन्दा 10 वर्षअगाडि मेरा सहृदयी नेपाली मित्र राजेन्द्र पहाडीसँग गएको थिएँ । सन् 2000मा सीआरआई नेपाली विभागको 25‌‍औं वार्षिकोत्सव मनाउन पैचिङ्गमा आयोजित विशेष समारोहमा भाग लिनका लागि चीन भ्रमणमा निम्त्याएको सीआरआईले हाम्रो त्यहाँसम्मको यात्राको चाँजापाँजो मिलाएको थियो । साङ्गरिलाको सोङ्ग चान लिन गुम्बामा जाँदा मलाई ल्हासाको पोतला र छन्तको त्यो मिनी पोतला दरवारको याद आएको थियो ।

रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीहरुले चीनको युनान प्रान्तमा अवस्थित मनोहर प्राकृतिक दृश्यले भरिपूर्ण साङ्गरिलामा रहेको साङ्ग चान लिन गुम्बाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, तपाईंहरु गुम्बाभित्र पनि गएर अवलोकन गर्नुभयो कि?

ध्रुव- रविजी, हामीहरुले पनि उक्त सोङ्ग चान लिन गुम्बाभित्र पसेर अवलोकन गर्ने मौका पायौं । यो हाम्रो लागि उपयुक्त अवसर थियो भन्ने लाग्यो । किनभने केही समयअगाडि जिर्णाद्धारका खातिर उक्त गुम्बा दुई वर्षसम्म पर्यटकहरुका लागि बन्द गरिएको थियो । हामी पुग्दा जिर्णोद्धार सकिइसकेको थियो । त्यहाँका स्थानीय र वयोवृद्ध भिक्षुले दिएको जानकारीअनुसार जिर्णोद्धाका लागि तीनसय वर्षपछिको सबैभन्दा ठूलो साधनस्रोत परिचालन गरिएको रहेछ । सरकारको 18 करोड 30 लाख चिनियाँ युवानको लागतमा दुई वर्ष लगाएर जिर्णोद्धर गरिएको थियो । जिर्णोद्धरबाट पर्यटकहरुको सेवा र सुविधा बढाउन तथा वरपरको प्राकृतिक वातावरण संरक्षणमा ध्यान दिइएको छ । गुम्बा पानीको तथा ढलको उचित ब्यवस्थापनाको साथै गुम्बासम्म पुग्नका लागि पक्की बाटो निर्माण गरिएको छ । हामीले गुम्बामा भेटिएका 78 वर्षीय गेसाङ्ग यिङ्गपा Gaesang Yinba सँग कुराकानी गरेका थियौं । उनले गुम्बामा गरिएको जिर्णोद्धर हालसम्मकै सबैभन्दा ठूलो परिमाण रहेको बताएका थिए । जिर्णोद्धारका क्रममा गुम्बालाई आगलागीबाट बचाउनका लागि उचित उपाय अवलम्बन गरिनुका साथै भिक्षुहरुको आवासको व्यवस्थापनमा पनि सुधार गरिएको रहेछ ।

रवि- गुम्बाभित्रको दृश्य कस्तो पाउनुभयो ध्रुवजी तपाईंले ?

ध्रुव- रविजी, मैले गुम्बाभित्र पनि जिर्णोद्धर गरिएकोले त्यहाँका सबै बस्तु नयाँ जस्ता देखिने र गुम्बामा लगाइएका नयाँ रङ्गले निकै चहकिलो देखिन्थ्यो । झन्डै 25 फिट अग्लो मुस्कुराइरहेको बुद्धको मूर्ती र स्वर्णलेपन गरिएको छानाले गुम्बाको आकर्षण बढाउन मद्दत गरेको जस्तो लाग्यो । त्यहाँ बसिन्जेलको समयमा गेरु बस्त्रधारण गरेका भिक्षुहरु हरेक कोठामा गई धुप बालिरहेको र प्रार्थना गरिरहेको देखिन्थ्यो ।

रविजी, आजको कार्यक्रमको समय सकिनै लागेको बेलामा म एउटा मात्रै जानकारी दिन्छु श्रोताहरुलाई । पाँचौं दलाई लामाले उक्त ठाउँको छनौट गरि त्यहाँ गुम्बा बनाउन लगाएका थिए । पछि छिङ्ग राज्यबंशका योङ्ग चङ्ग Yong Zheng सम्राटले उक्त गुम्बालाई चिनियाँ भाषामा कुइ ह्वा भन्ने नाम दिएका थिए ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह