फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फरबिडन सिटी-2

(GMT+08:00) 2010-04-05 20:12:59

                आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको फरबिडन सिटी गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न यस्ता स्थानहरूमध्ये यो फरबिडन सिटी निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो विशाल दरबार आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न भाग हो। यस दरबारको कस्तो अवस्था रहेको छ भन्ने बारेमा अघिल्लो हप्ताको निरन्तरतास्वरुप केही कुरा बताउने म जमर्को गर्दैछु।

             फरबिडन सिटी चिनियाँ च चिन छङको अङ्ग्रेजी रुपान्तरण हो । त्यो बेलामा कसैले पनि बिना निमन्त्रणा त्यो दरवारमा प्रवेश गरेको पाइएमा त्यसलाई मृत्युदण्ड दिइन्थ्यो।त्यसैले त्यस दरबारयुक्त शहरलाई निषेधित शहर भन्न थालियो र फलस्वरुप त्यो दरबारकै नाम निषिद्ध शहर वा फरबिडन सिटी रहन गएको हो भन्न सकिन्छ । यस स्थानलाई कु कोङको नामले पनि चिन्ने गरिन्छ।

             यस क्षेत्रको सम्पूर्ण भाग भनेको पानीको किल्लाले घेरिएको छ । साथै त्यसको भित्रपट्टि दश मीटर अग्लो रातो रङको पर्खालले घेरिएको छ।अनि चारै कुनामा अग्ला-अग्ला स्तम्भहरू रहेका छन्। यदि हामी स्थानमा कुनै बिहानीपख पुगेका छौँ भने पैचिङबासीहरू विभिन्न अन्य खेलका साथमा थाइ ची भन्ने खेलबाट कसरत गरिरहेका हुन्छन्।

           यो दरबार पुग्नका लागि थिआन मन स्क्वायरबाट उत्तरतिर लाग्नुपर्छ।भन्नाले अध्यक्ष माओको तस्बीरको मुनितिर लाग्नुपर्छ।त्यही बाटोबाट करिब एक सय मीटर अगाडि बढेपछि फरबिडन सिटी प्रवेश गर्नेका लागि टिकट लिने स्थानमा पुग्न सकिन्छ। तपाईँ हामी त्यहाँ गएपछि फरबिडन सिटिबारे बुझाउने गाइड पनि शशुल्क प्राप्त गर्न सक्छौँ।

               यही बृहत दरबारमा पुगेपछि यसको उत्तरी भागमा चिङ सान पार्क पुग्न पनि सकिन्छ। जुन पार्क अति नै रमाइलो र सुन्दर रहेको छ । त्यहाँ नजिकै हामी कोइलाको पहाड पनि भेट्न सक्छौँ । मिङ वंशीय अन्तिम राजा चोङ चनको मृत्यु त्यही पहाडमा भएको भन्ने विश्वास गरिन्छ ।एक पटक त्यो दरबारलाई चारैतिरबाट शत्रुले घेरेका थिए रे।त्यही बेलामा ती अन्तिम राजा पछाडितिरबाट भागेर गए रे अनि त्यहाँ भएको एउटा रुखमा पाशो लागेर देह त्याग गरे भन्ने सर्बत्र भनाइ रहेको छ ।त्यो स्थानमा आज एउटा सुन्दर पार्क रहेको छ । दरबारको पछाडिको प्रस्थानबाट त्यो स्थान सजिलै पुग्न सकिन्छ।

              यो दरबार क्षेत्रलाई ठीक दुई भागमा बाँडेर हेर्न पनि सकिन्छ। यो दरबारको मुख्य प्रवेशद्वारलाई मेरिडियन गेट वा उ मन भनिन्छ। यो नाम किन रहेको हो भन्ने कुरा बुझ्दा त्यो बेलाका राजा महाराजाहरूले आफू यस ब्रह्माण्डको ठीक बीचमा छु भन्ने भन्दारहेछन् वा मेरिडियनमा छु भन्दा रहेछन्।त्यसैले द्वारको नाम नै मेरिडियन राखिएको रहेछ ।

                गेटको अगाडितिर एउटा बृहत आकारको सद्भाव हल रहेको छ।त्यो हलमा सरकारी समारोहहरू आयोजना हुने गर्दछन्।त्यस्तै गरेर उच्च पदस्थ अधिकारीहरूलाई भेट्नका लागि पनि त्यस सद्भाव हललाई प्रयोगमा ल्याइने रहेछ। दरबारको अलिकति बाहिरी भागमा गएर हेर्ने हो भने हामी अन्य दुई हललाई पनि देख्न सक्छौँ। पहिलो हलको नाम केन्द्रीय सद्भावको हल हो जहाँ तत्कालीन राजा महाराजाहरूको अध्ययन कक्ष हो। दोस्रो हलका रुपमा हामी सद्भाव बनाइराख्ने हलको रुपमा चिन्न सक्छौँ। त्यस दोस्रो हलका विविध कार्यहरू रहेका छन्। सरकारी भोजहरूको आयोजना पनि यही दोस्रो हलमा गर्ने गरिएको छ।

              यस्ता विविध हलले भरिएको यो प्रसिद्ध स्थल दर्शनीय छ।त्यसैले श्रोता यदि तपाईँ पनि पैचिङ आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने फरबिडन सिटीलाई एउटा असल गन्तब्यका रुपमा अपनाउन सक्नुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह