फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पै हाइ पार्क –रमणीय स्थान

(GMT+08:00) 2010-04-19 17:04:17

               म चीनको उत्तरी भागमा रहेको अनि विविध प्राकृतिक सांस्कृतिक र ऐतिहासिक स्रोतले भरिपूर्ण पैचिङस्थित् पै हाइ पार्कमा घुम्दै र हेर्दै जाँदा त्यहाँ मैले देखेका भोगेका र वास्तविक रुपमा अनुभव गरेका कुराहरू तथ्यपूर्ण रुपमा राख्ने जमर्को आज तपाईँ प्रिय श्रोतामाझ मैले गरेको छु।अब कार्यक्रमतर्फ लागौँ।

              पै हाइ पार्क चीनको धेरै नै पुरानो ऐतिहासिक स्थल हो।यस पार्कमा मुख्य बगैँचाको रुपमा इम्पेरियल बगैँचा रहेको छ।यो पार्क आधुनिक कालको हिसाबमा हेर्ने हो भने 1000 जति वर्ष पुरानो हो तर स्थापनाको हिसावले भन्ने हो भने चाहिँ अझै पुरानो हो भन्न सकिन्छ।यो पार्क चिनियाँ परम्परागत ढंगबाट तयार गरिएको देखिन्छ।यो पार्कको इतिहासलाई केलाएर हेर्ने हो भने सुरुमा लिआओ वंशका चिनियाँ सम्राटले सन् 1125 तिर तयार गर्न लगाएका हुन्।त्यसपछि मिङ र छिङ वंशका राजाहरूले यो पार्कलाई सुधार ‌गर्ने र ठूलो बनाउँने गरेको कुरा त्यहाँका शिलालेख तथा ताम्रपत्रमा जनाइएको छ।यसरी समय बित्दै जाँदा सन् 1911 मा यो पार्क पूर्ण रुपमा तयार भएको हो भन्ने कुरा मैले त्यहाँ अध्ययनबाट थाहा पाएँ।

           पे हाइ पार्क वास्तविक रुपमा 0.71 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ। सम्पूर्ण क्षेत्रफलको आधाभन्दा बढी भाग त तालले नै ढाकेको छ। तालको ठीक बीच भागमा एउटा सेतो स्तुपा र फूलै फूलले भरिएको बडो सुन्दर स्थान रहेको छ।यही सुन्दर फूलबारीले सम्पूर्ण पार्कलाई ठीक दुई भागमा विभाजन गरेको देखिन्छ।यस पार्कभित्र मूल रुपमा भन्ने हो भने 4 वटा हेर्नलायक सुन्दर स्थानहरू रहेका छन्।ती स्थानहरूमा पूर्वको बगैँचा उत्तरको सुन्दर फूलबारी हरित बगैँचा र वृत्ताकार चिटिक्क परेको सहर पर्दछन्।

             पै हाइ पार्कको दक्षिणपूर्वी क्षेत्रमा वृत्ताकार वा गोलाकार सानो सहरजस्तो बनोटको स्थान रहेको छ। मैले त्यहाँ कैयौँ ऐतिहासिक मन्दिरहरू पनि पाएँ।त्यस्तै गरेर मैले थुप्रै संख्यामा टावरहरू पनि देखेँ।त्यहाँ थुप्रै हलहरू पनि रहेछन्।त्यहा रहेका विभिन्न हलहरूमध्येमा एउटा हलले मलाई आकर्षित ग-यो। त्यो हलको नाम थियो छेङ क्वाङ हल।यो हलको भुइँभरि जेड भन्ने प्रसिद्ध र महंगो पत्थर विछ्याइएको मैले देखेँ।यो हल मुख्य रुपमा छिङ वंशका राजाले तयार गरेको हो भन्ने इतिहास रहेको छ।त्यो हलको ठीक अगाडि जेड पत्थरको एउटा भाँडो राखिएको छ।त्यहाँ गएर अध्ययन गर्दा मैले के पाएँ भने त्यस भाँडोको व्यास 1.5 मीटर , परिधि 5 मीटर करिब 1 मीटरको उचाइ र 3.5 मेट्रिक टन तौल रहेको छ।भनिन्छ कि त्यो जेड पत्थरको भाँडो चिनियाँ सम्राट कुब्ला खाँले मदिरा राख्न प्रयोग गर्थे रे।

            दिनभरिको घुमाइपछि अनि अवलोकन र भ्रमणपछि भोक तिर्खा र थकाइ पनि त लाग्न सक्छ।ती कुरा पूरा गर्नका लागि तालको उत्तरी छेउमा फाङसाङ नामको निकै ठूलो र प्रसिद्ध रेष्टुराँ रहेको छ।उक्त रेष्टुराँको इतिहास पनि निकै रोचक देखिन्छ।यो रेष्टुराँको सुरुआत सन् 1925 मा भएको हो भन्ने कुरा पनि त्यहाँ मेरो एक जिज्ञासामा थाहा पाएँ।एकजना कुक जो छिङ वंशको सम्राटको अदालतमा काम गर्थे रे।अनि उनी खाना पनि निकै मीठो र स्वादिलो पकाउँथे रे।तिनै व्यक्तिले त्यो रेष्टुराँको सुरुआत गरेको कुरा थाहा पाइयो।त्यसैले भनिन्छ कि त्यो फाङसाङ रेष्टुराँको खाना राजसी स्वादमा उपलब्ध छ।त्यसैले तपाईँ पनि पैचिङ घुम्न आएको समयमा पे हाइ पार्क घुम्न र त्यहाँको राजसी स्वादको खाना खान नभुल्नुहोस् ल।

            पै हाइ पार्कभित्र घुम्दा त्यहाँ प्रशस्त मात्रामा प्रदर्शनीहरू पनि देख्न पाइन्छ।कतै चित्रकला प्रदर्शनी त कतै पुष्प प्रदर्शनी अनि कतै सेतो कमलको प्रदर्शनी त कतै प्रकृतिक दृश्यावलोकनको प्रदर्शनी। घुम्दै जाँदा त्यहाँको एक स्थान यस्तो पाइयो कि त्यहाँ राजसी ठाँटका कपडा पहिरिएर आफू सम्राटजस्तै बनेर पुतलीझैँ सिंगारिएका रानीहरूसँगै बसेर फोटो खिचाउन पनि पाइने व्यवस्था रहेछ। पर्यटकलाई आकर्षण गर्ने माध्यम पनि कति कति अनि कस्ता-कस्ता हगि।

           अनि म त्यहाँको सडक तथा आराम गृहतिर लागेँ। त्यहाँ अधबैँसे तथा वृद्धवृद्धाहरू परम्परागत् ताल र सूरमा गीत गाएर अति नै मनमोहक ढंगले नाचगान पनि गर्दा रहेछन्। गीत सुन्ने र नाच हेर्नेको भीड पनि निकै भएको मैले देखेँ।तालमा किसिम-किसिमका डुंगाहरू भाडामा पाइने रहेछन्।धेरै रकम खर्च गर्नेहरूका लागि स्वचालित डुंगा अनि थोरै पैसा हुनेका लागि पनि व्यवस्था रहेछ।1 जनामात्र नाउ चलाएर सयर गर्ने कि दुई जना वा समूहमा सयर गर्ने हो त्यो आफ्नै खुसी । थोरै मात्र वा 5 चिनियाँ युआनको टिकट लिएपछि निकै ठूलो आकारको डुंगामा चढेर अर्को स्थानसम्म जान सकिने रहेछ।

            पै हाइ पार्क फर्बिडन सिटीको उत्तरपश्चिम दिशमा पर्दछ।पैचिङस्थित् सिछेङ जिल्लामा रहेको यो स्थान नोभेम्बर देखि मार्चसम्म विहान साढे छ बजेदेखि बेलुकी साढे आठसम्म र अप्रिलदेखि अक्टोबरसम्म बिहान छ बजेदेखि बेलुकी साढे नौबजेसम्म खुला रहने गर्दछ र प्रवेश शुल्क चाहिँ प्रतिव्यक्ति 10 चिनियाँ युआन लाग्ने रहेछ। त्यस स्थानसम्म पुग्न 101,103,105,107,109,111,118 तथा 823 नंबरका बसहरू उपलब्ध हुने रहेछन्। तपाईँ पनि चीन आउँदा पै हाइ जान नभुल्नोस् है।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह