फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन लिच्याङ्ग सहरको भ्रमण -2

(GMT+08:00) 2010-04-19 14:11:55

    रवि- श्रोताहरु, ध्रुवजीले चीनको सुन्दर युनान प्रान्तस्थित प्राचीन सहर लिच्याङ्ग भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई पैचिङ्ग डायरीको अगिल्लो हप्ताको कार्यक्रमबाट हामीले राख्न सुरु गरेका छौं । अगिल्लो हप्ताको कार्यक्रममा ध्रुवजीले लिच्याङ्ग सहरको प्राचीनताको विषयमा चर्चा गर्दै हुनुहुन्थ्यो । ध्रुवजी, लिच्याङ्ग सहर त विश्व सम्पाद सूचिमा पनि सुचिकृत छ नि ?

    ध्रुव- तपाईंले सही कुरा उठाउन गर्नुभयो रविजी । वास्तवमा लिच्याङ्गको पुरानो सहर प्राचीन सहरको रुपमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोले विश्व सम्पदा सूचिममा सुचिकृत गरेको जानकारी मैले श्रोताहरुलाई अगिल्लो कार्यक्रममा नै दिनुपर्ने हो । युनान प्रान्तको प्रमुख पर्यटकीय गन्तब्य स्थलमध्येको एक लिच्याङ्ग सहर प्रशसनिक हिसावले हाल चार काउन्टी र प्राचीन सहर क्षेत्रको रुपमा विभाजित गरिएको छ । ती चार काउन्टीबाहेको पुरानो सहरलाई प्राचीन लिच्याङ्ग सहर भनिन्छ । लिच्याङ्गबासीले आफ्नो पुरानो सहरलाई उत्कृष्ठरुपमा संरक्षित गरिराखेको हुनाले युनेस्कोले सन् 1997 को डिसेम्बर 4 तारिखका दिनमा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो । त्यसपछियताको समयमा स्थानीय सरकारले पुरानो लिच्याङ्ग सहरको संरक्षण र विकासमा ठूलो जिम्मेवारी निर्वाह गर्दैआइरहेको छ । त्यसपछि लिच्याङ्गको पर्यटनको विकास यति तीब्र भएको छ कि चीनबाट आन्तरिक पर्यटक मात्रै होइन विश्वका विभिन्न मुलुकका पर्यटकहरुको ओइरो लागेको छ लिच्याङ्गमा । लिच्याङ्ग प्राचीन सहरको भ्रमणमा जाने पर्यटकहरुको बढ्दो संख्याका कारण त्यहाँका स्थानीय जनताहरु प्राचीन लिच्याङ्ग सहरको मौलिकता हराउँदै जाने त होइन भनेर चिन्तित रहेको पनि मैले पाएँ । वास्तवमा भन्ने हो भने रविजी, लिच्याङ्गको पुरानो सहरमा राति पर्यटकको यति धेरै भीड थियो कि त्यहाँ खुट्टा राख्ने ठाउँसमेत थिएन । लिच्याङ्गको यो विकास आधुनिक विकास मात्रै होइन । किनभने प्राचीनकालमा पनि पुरानो सहर सम्पूर्ण लिच्याङ्गकै सदरमुकामको रुपमा रहेको थियो । करिब 800 वर्षअगाडि चीनको युवान राज्यबंशका पहिला सम्राट कुब्लाई खाँको राज्यमा लिच्याङ्ग समेटिएको थियो भन्ने कुरा मैले पढेको थिएँ । त्यसैबेलादेखि लिच्याङ्गले आफ्नो विकासको गतिलाई तीब्र पार्दै राजनीतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रको केन्द्रको रुपमा विकसित भएको थियो । त्यति मात्रै नभएर लिच्याङ्ग नगर चीनको तिब्बत, युनान र चीनका छिमेकी मुलुक भारत र अन्य एशियाली राष्ट्रहरुबीचको वाणिज्य केन्द्रको रुपमा विकसित भएको थियो ।

    

रवि- ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा लिच्याङ्गबाट हिमाल पनि देखिन्छ भन्नुभएको थियो, लिच्याङ्ग सहर कति समुद्रसतहबाट कति उचाइमा रहेको छ ?

     ध्रुव- रविजी, लिच्याङ्ग प्राचीन सहर समुद्र सतहबाट 2 हजार 4 सय मीटर अर्थात् 7 हजार 8 सय 74 फिटको उचाइमा पर्छ । चीनको नासी अल्पसंख्यक जातिको लिच्याङ्ग स्वायत्त काउन्टीको केन्द्रमा रहेको छ प्राचीन लिच्याङ्ग सहर । रविजी, लिच्याङ्गको पश्चिम दिशामा हरिया रुखहरुले ढाकेका पहाड देखिन्छन् भने उत्तरतिर भीमकाय सुनौला पहाडका श्रृंखलाहरु देख्न सकिन्छ । दक्षिणपूर्वी भागमा खेतीयोग्य उर्वरभूमि देखिन्छ । नगरबाट बाग्ने स्वच्छ पानीका कुलो, नहर र खोल्साहरुसमेत यी सबै दृश्यलाई एकै ठाउँमा राखेर कल्पना गर्ने हो भने पुरानो सहर एउटा ठूलो मसिको ठिक्क भएको पथ्थर जस्तो लाग्छ । मैले पछि थाहा पाएँ कि पुरानो लिच्याङ्ग सहरलाई चिनियाँ भाषामा Dayanzhen अर्थात् मसीको ठूलो ठिक्कको पुरानो सहर भन्ने चलन पनि रहेछ ।

     प्राचीन स्थानीय जीवनशैलीलाई निरन्तररुपमा जीवन्त राख्तै आएको लिच्याङ्ग सहरमा विशेष खालका घर र भवनहरुको समूह देखिन्छ भने मौलिक सांस्कृतिक सम्पदाहरुको पनि उचित संरक्षण गरिएको छ । त्यहाँ पुग्ने स्वदेशी हुन वा विदेशी जोकोहीको पनि त्यहाँको शान्तिपूर्ण वातारवणले मन छुन्छ चाहे पर्यटक प्राचीन सहरमा टहलियोस वा नयाँ सहरका चोकहरुमा हिँडोस् ।

     रवि- आजको कार्यक्रममा हामीले ध्रुवजीले चीनको युनान प्रान्तको प्राचीन सहर लिच्याङ्गको भ्रमणका बेला लेख्नुभएका डायरीको अंश प्रस्तुत गरिरहेका छौं । ध्रुवजी, यो गीतभन्दा अगाडि तपाईंले पैदल हिँड्दा गर्नुभएको अनुभव बारे बताउन थाल्नुभएको थियो ।

    

ध्रुव- हजुर रविजी, प्राचीन लिच्याङ्ग सहर पुगेर कम्तिमा एक दुई घन्टा पैदलयात्रा नगर्ने हो भने एउटा रमाइलो पाटो अपुरो हुन्छ भन्ने मलाई लाग्छ । त्यहाँको शान्त वातावरण, शीतल मौसम, हार्दिक र मैत्रीपूर्ण जनता एवम् स्थानीय रहनसहनको प्रत्यक्ष साक्षी हुने मौका पनि गुम्छ जस्तो मलाई लाग्छ । प्राचीन सहरभित्र सवारीसाधनको प्रवेशमा रोक लगाइएकोले पनि केही समय त अनिवार्यरुपमा पैदाल पनि हिँड्नुपर्छ । म होटलबाट पैदल नै हिँडेर साँझको सूर्यास्त र बिहानको सूर्योदय हेर्न पुरानो सहर गएको थिएँ । लिच्याङ्गको प्राचीन सहरमा रहेको एउटा डाँडाको टुप्पोबाट सूर्योदय र सूर्यास्तको दृश्य ज्यादै मनमोहक देखिन्छ । पुरानो सहरको डाडाको टुप्पोबाट सूर्योदय र सूर्यास्तको साथै स्थानीय कृषकका घर र खेतबारीको दृश्य हेर्दाको रमाइलो पनि भिन्दै पाएँ मैले । म मात्रै होइन सूर्योदय र सूर्यास्त हेर्न मसँगै गएका दुई बेलायती मित्रहरुले पनि डाँडाको टुप्पोबाट देखिने पुरानो बस्ती, किसानका घर र खेतबारीसहितको रमणीय दृश्यको निकै प्रशंसा गरे ।

     प्राचीन सहरको अतिरिक्त त्यहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण धेरै नै पर्यटकीय स्थलहरु छन् । तर तीमध्ये सबैभन्दा प्रसिद्ध मुफु अर्थात मुको दरवार छुटाउन नहुने कुरा स्थानीय बासिन्दाले हामीलाई जानकारी दिए ।

     रवि- ध्रुवजी, आजको हाम्रो कार्यक्रमको निर्धारित समय सकिनै लागेको छ । अब भने श्रोताहरुसँग बिदा माग्नुपर्ने बेला भएको छ ।

     ध्रुव- हुन्छ रविजी । अर्को हप्ता श्रोताहरुसँग पुनः भेट हुन्छ नै ।

     रवि- श्रोताहरु, आजको कार्यक्रमबाट सहकर्मी मित्र ध्रुव पौडेल र म रविलाई बिदा दिनुहोस् ।

     दुबै - नमस्ते ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह