फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन लिच्याङ्ग सहरको भ्रमण-1

(GMT+08:00) 2010-05-14 12:29:22

    श्रोताहरु, ध्रुवजीले चीनको युनान प्रान्तस्थित प्राचीन सहर लिच्याङ्ग भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई केही हप्ताअगाडिदेखिको कार्यक्रमबाट राख्तैआएका छौं । अगिल्लो हप्ताको कार्यक्रममा ध्रुवजीले प्राचीन लिच्याङ्ग सहरमा धेरै वर्षअगाडि बनाइएका घरहरु र त्यहाँको बारस्ट्रिटको बारेमा सुनाउँदै हुनुहुन्थ्यो । ध्रुवजी, आजको कार्यक्रममा लिच्याङ्ग प्राचीन सहरको बारेमा सुनाउन बाँकी तपाईंका अनुभवहरु बाँकी छन कि ?

ध्रुव छन् रविजी । मैले अगिल्लो हप्ता कार्यक्रमबाट बिदा लिने बेलामा यो हप्ताको कार्यक्रममा लिच्याङ्ग सहरमा बग्ने कुलोको बारेमा मैले देखेका र अनुभव गरेका अन्य रोचक जानकारीहरु लिएर आउनेछु भनेको थिएँ । श्रोताहरुलाई मैले एउटै स्रोतबाट आएको पानी विभाजित भइ हरेक घरको आँगनबाट बग्ने गरी बनाइएको छ र प्राचीनकालमा बनाइएको कुलो भए तापनि स्थानीय जनताले त्यहाँको पानीको प्रयोग वैज्ञानिक तरिकाले गर्छन् भनेर जानकारी दिएको थिएँ । त्यसैले आजको कार्यक्रममा लिच्याङ्ग सहरमा हरेक घरहुँदै बग्ने कुलो र पानीको प्रयोगको बारेमा जानकारी दिने विचार गरेको छु ।

    हुन्छ ध्रुवजी । तपाईंले लिच्याङ्ग प्राचीन सहरमा बग्ने कुलो र त्यहाँका बासिन्दाले कसरी त्यो कुलोको पानी वैज्ञानिक तरिकाले प्रयोग गर्छन् भन्ने जानकारी दिनुहोला ।

     रविजी, प्राचीन लिच्याङ्ग सहर आफ्नो अस्तित्वको लागि पानीमा भर परेको छ भन्न सकिन्छ । पानी वास्तवमा लिच्याङ्ग प्राचीन सहरका बासिन्दाहरुका लागि उनीहरुको शरीरमा बग्ने रगतसरह मत्त्वपूर्ण छ भन्ने मान्छन् । चिनियाँ भाषामा है लोङ्ग थान, यसलाई अंग्रेजीमा भन्ने हो भने Black Dragon Pool, लिच्याङ्ग प्राचीन सहरको पानीको मुख्य स्रोत हो । एउटै स्रोतबाट आएको पानी सहरमा पुग्नेबित्तिकै विभिन्न कुलो र कुलेसोमा विभाजित हुन्छ । यसरी विभाजित भएको पानीको कुलो हरेक घरमा अझ भनौं प्राचीन सहरको प्रत्येक बाटोबाटोमा पुग्छ ।

     

ध्रुवजी लिच्याङ्ग प्राचीन सहरमा हरेकको घरमा र बाटोमा पानीको कुलो पुग्ने भएपछि पुरानो लिच्याङ्ग सहरमा पुलहरु पनि धेरै छन् जस्तो लाग्यो ।

     रविजी, तपाईंले गर्नुभएको अनुमान सही छ । मैले लिच्याङ्गमा बनाइएका सयौंको संख्यामा रहेका पुलहरुको बारेमा पनि कुरा गर्नै लागेको थिएँ । वास्तवमा लिच्याङ्ग सहरमा करिब करिब ३ सय ५० वटा पुलहरु बनाइएका छन् । तर त्यति सानो सहरमा भएका त्यति धेरै पुलहरुको पनि आआफ्नै विशेषता छन् । सबैभन्दा मलाई राम्रो लागेको दुईवटा कुराहरुमध्ये पहिलोमा के हो भने ती सबै पुलहरुको बनावट र स्वरुपमा विविधता पाइन्छ । यसरी फरकफरक बनावटका पुलहरु सबैको आकर्षणको केन्द्रबिन्दू नै भएका छन् । अनि दोस्रो कुरामा, त्यहाँ बनाएका पुलहरु आधुनिक हुन् भन्ने मलाई लागेको थियो । तर ती पुलहरुको पनि लिच्याङ्ग सहरजत्तिकै पुरानो इतिहास रहेछ । मैले स्थानीय बासिन्दाबाट पाएको जानकारीअनुसार लिच्याङ्ग सहरमा हालसम्म अस्तित्वमा रहेका केही पुलहरु मिङ्ग र छिङ्ग राज्यवंशमा बनाइएका रहेछन् । पुलमा कुदिएका मूर्तिकलाबाट पनि चीनको मिङ्ग र छिङ्ग राज्यवंशका कलाकारिता देख्न पाइन्छ त्यहाँ ।

     ध्रुवजी, तपाईंको कुराहरु रोचक र जानकारीमुलक भएकोले मलाई सुनिरहुँ जस्तो लागेको छ । तर अब भने श्रोताहरुलाई एउटा नेपाली गीत राख्ने बेला भएकोले तपाईंको कुराहरु एकैछिनका लागि थाति राख्नुहोला ।

     हुन्छ रविजी । हामी पनि आराम गर्दै श्रोताहरुसँगै नेपाली गीत सुनौं र सँगसँगै मनोरञ्जन लिऊँ । नेपाली गीतपछि मैले लिच्याङ्ग प्राचीन सरहका स्थानीय बासिन्दाले कुलोमा बगेको पानी कसरी वैज्ञानिक तरिकाले उपयोग गर्छन् भन्ने र त्यसको बारेमा मलाई कस्तो अनुभव भयो भन्ने कुरा गरुलाँ ।

     श्रोताहरु, अब सुन्नुहोस यो मीठो नेपाली गीत ।

    

श्रोताहरु यो मीठो नेपाली गीतपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा ध्रुवजीले चीनको पश्चिमी युनान प्रान्तमा रहेको लिच्याङ्ग सहरको भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई राखिरहेका छौं । ध्रुवजी, यो भर्खरै बजाइएको गीतभन्दा अगाडि लिच्याङ्ग नगरबासीले कुलोमा बग्ने पानी कसरी प्रयोग गर्छन् भन्ने कुरा बताउँछु भन्नुभएको थियो ।

    हजुर रविजी । मैले स्थानीय बासिन्दाले प्रयोग गर्ने पानीको बारेमा बताउँछु भनेको थिएँ । वास्तवमा लिच्याङ्गका नगरबासीले प्रयोग गर्ने पानी त्यही कुलोको पानी हो । मैले पहिले पनि भनेकोजस्तो लाग्छ कि लिच्याङ्गको प्राचीन सहरको हरेक घर र बाटोहुँदै बग्ने पानी निकै सफा र कञ्चन छ । त्यसैले स्थानीय बासिन्दाले पिउने, पकाउने र सफा गर्ने सबै कामको लागि त्यही कुलोको पानी प्रयोग गर्छन् । कुलो र नहरको माथिल्लो भूभागबाट बगेर आउने र तल्लो भूभागसम्म पुग्नुभन्दाअगाडि पानीको वहावलाई तीन भागमा विभाजित गरिएको छ । र, हरेक परिवारले आफ्नो घरअगाडिबाट बग्ने तीनवटा छुट्टछुट्टै कुलोमा तीनवटा कुवाजस्तो संरचना निर्माण गरेका छन् । ती तीनवटा कुवाको प्रयोग पनि छुट्टछुट्टै कामको लागि गरिन्छ । पहिलो कुवाको पानी पिउनको लागि प्रयोग गरिन्छ । दोस्रो कुवाको पानी फलफूल र सागसब्जी पखाल्न प्रयोग गरिन्छ भने बाँकी रहेको तेस्रो कुवाको भाँडाकुँडा र लुगा धुनको लागि प्रयोग गरिन्छ । यसरी सहरबाट बग्ने कुलो र नहरबाट स्थानीय बासिन्दाको पानीको आवश्यकता पूर्ति हुनका साथै प्राचीन सहरलाई सौन्दर्यता थपेका छन् । अझै कुलेसो र नहरको किनारमा रहेका बेत र नर्कटलगायतका रुखहरुले सहरलाई हरियाली बनाइराखेका छन् । त्यसैले प्राचीन लिच्याङ्ग सहरमा बग्ने पानीले गर्दा सहर निकै सुन्दर मात्रै होइन शान्त र शीतल भएको अनुभव मैले गरेँ । मैले लिच्याङ्गलाई कसैले इटालीको पूर्वी भेनिससँग तुलना गरेको पाएँ भने कसैकसैले उच्चभूभागमा भएको चीनकै प्रमुख पर्यटकीय स्थलहरुमध्येको एक सुचौ सहर भन्ने पनि गर्दा रहेछन् । तर यी दुबै ठाउँमा पुगेका मान्छेहरुसँग कुरा गर्दा ती दुबै ठाउँभन्दा लिच्याङ्ग अझै धेरै सुन्दर र मनमोहक छ भन्ने प्रतिक्रिया मैले पाएको छु । त्यसैले एक पटक लिच्याङ्ग प्रचीन सहर पुगेपछि आजन्म नै मानिसहरुको मनमा लिच्याङ्ग प्राचीन सहरले ठाउँ जमाइराख्छ भन्ने कुरामा चाहिँ सबै जना सहमत भएको मैले पाएँ रविजी ।

     ध्रुवजी आजको हाम्रो कार्यकमको निर्धारित समय सकिनै लागेको छ । अब भने श्रोताहरुसँग बिदा मागौं ।

     हुन्छ रविजी ।

     श्रोताहरु, आजको कार्यक्रमबाट सहकर्मी मित्र ध्रुव पौडेल र म रविलाई बिदा दिनुहोस् ।

    नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह