फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन लिच्याङ्ग सहरको भ्रमण-2

(GMT+08:00) 2010-05-21 15:15:38

    श्रोताहरु, ध्रुवजीले चीनको सुन्दर युनान प्रान्तस्थित प्राचीन सहर लिच्याङ्ग भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई केही हप्ताअगाडिदेखिको कार्यक्रमबाट राख्तैआएका छौं । अगिल्लो हप्ताको कार्यक्रममा ध्रुवजीले प्राचीन लिच्याङ्ग सहरमा पैदलयात्रा गर्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो । ध्रुवजी, आजको कार्यक्रममा लिच्याङ्ग प्राचीन सहरको बारेमा बताउन मन लागेका अरु कुराहरु बाँकी छन् कि?

    अझ धेरै नै बाँकी छन् रविजी । चीनको युनान प्रान्तको पुरानो सहर लिच्याङ्ग सहरमा पैदलयात्रा गर्दा संगालेका अनुभवहरुको बारेमा मैले अगिल्ला हप्ताका कार्यक्रममा पनि कुरा गरेको थिएँ । लिच्याङ्गको पुरानो सहरको रात्रीजीवन हेर्न हामी पैदलयात्रामा नै गएका थियौं । युनेस्कोले विश्व सम्पदा सूचिमा सुचिकृति गरेको लिच्याङ्ग प्राचीन सहरको रात्रीजीवन अवलोकन गर्दा छुटाउन नहुने त्यहाँको बारस्ट्रिट पनि हो । लिच्याङ्गको बारस्ट्रिट चीनभरी नै चर्चित भएको मैले पाएँ । म पैचिङ्ग फर्किएपछि धेरै साथीहरुसँग लिच्याङ्गको मौलिकता र प्राचीनताको बारेमा कुरा गर्न खोजेँ । तर धेरै साथीहरुले मलाई त्यहाँको बारस्ट्रिट त छुटाउनै नहुने बताउनुभयो । हाल पैचिङ्ग नजिकैको थियनचिन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत मेरा मित्र चिरन थापाले त मैले लिच्याङ्ग पुगेको कुरा सुनाउने बित्तिकै लिच्याङ्गको बारस्ट्रिट चीनकै सबैभन्दा आकर्षक बारस्ट्रिट हो, तपाईंले त त्यहाँको भ्रमण गर्न छुटाउनुभएन होला नि, भनेर सोध्नुभएको मलाई अझै पनि सम्झना छ ।

    रविजी, त्यहाँको पुरातात्विक महत्त्वसमेत बोकेका पुराना घरहरुसहितको बारस्ट्रिटको जहाँ पुगेपनि मैले पाएको समान र उल्लेख गर्न लायकको कुरा के भने त्यहाँ समाजिक सद्भाव र परम्परागत शैलीको राम्रो समायोजन पाइन्छ ।

     राति वा दिउँसो जहिले पुगे पनि हरेक पर्यटकहरुले लिच्याङ्ग प्राचीन सहरका पसलहरुमा पाइने आधुनिक शैलीका फेन्सी सामान र ग्रामीण क्षेत्रको परम्परागत हस्तकलाका सामानले सयौं वर्ष पुरानो लिच्याङ्ग सहरले अहिलेसम्म पनि प्राप्त गरिरहेको सम्पन्नता र सफलताको अनुभव गर्न सक्छन् भन्ने मलाई लाग्छ । पहाडको श्रृंखलासँगै र नदीको वहाबसँगै निर्माण गरिएको प्राचीन सहरको ज्यादै पुरानो बास्तुशास्त्रले अनुसन्धानको अत्यन्तै महत्त्वपूर्ण नमूना प्रस्तुत गरेको छ । विशेष भौगोलिक अवस्था, ऐतिहासिक पृष्ठभूमी र बहुजातीय आवासको कारण मेरो विचारमा लिच्याङ्ग प्राचीन सहरले विशेष महत्त्व बोकिरहेको छ भन्ने मलाई लाग्छ ।

    ध्रुवजी, तपाईंले यसअघि लिच्याङ्ग सहरमा नासी अल्पसंख्यक जातिको बाहुल्यता छ भन्नुभएको थियो । अहिले भने बहुजातीय सहर भन्नुभयो नि ?

     रविजी, तपाईंले सही कुरा गर्नुभयो । वास्तवमा लिच्याङ्ग सहर प्राचीन कालदेखि नै तिब्बत, युनान र स छुवानको मात्रै नभएर भारत र दक्षिण एशियाकै प्रमुख वाणिज्यकेन्द्रको रुपमा विकसित भएको कुराको जानकारी मैले यसअघि पनि दिएको थिएँ । यसरी बहुराष्ट्रिय संस्कृति र नासी अल्पसंख्यक जातिको उन्नतिको समायोजनको कारण लिच्याङ्ग सहरमा बनाइएका पुराना घर तथा भवनहरुमा चीनका हान, पाइ र तिब्बती बास्तुशास्त्रको उत्कृष्ठ शैलीलाई समायोजन गरिएको पाइन्छ र फलस्वरुप छुट्टै र विशेषखालको नासी शैलीको बास्तुशास्त्र विकसित भएको छ । त्यसैले त्यहाँ नासी अल्पसंख्यक जातिको बाहुल्यता भए तापनि उनीहरुले अनुसरण गरेको हान, पाइ र तिब्बतीशैली र संस्कृतिसमेत पाइने भएकोले त्यहाँका नासी जाति र उनीहरुले अंगालेको संस्कृतिको छुट्टै विशेषता छ भनेर मैले भन्न खोजेको हो रविजी ।

   

ध्रुवजी अब भने श्रोताहरुलाई गीत सुनाउने बेला भएको छ । अब पहिला श्रोताहरुलाई एउटा गीत प्रस्तुत गरौं । त्यसपछि तपाईंले आफ्ना कुराहरुलाई पुनः अगाडि बढाउनुहोला ।

     हुन्छ रविजी । श्रोताहरुसँगै हामी पनि गीत सुनेर एकै छिन आराम गरौं । गीतपछि म त्यहाँका घरहरुको बनौटको बारेमा जानकारी दिउलाँ ।

    

श्रोताहरु, यो मीठो गीतपछि तपाईंहरुलाई पैचिङ्ग डायरीमा पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले ध्रुवजीले चीनको युनान प्रान्तमा रहेको लिच्याङ्ग प्राचीन सहरको भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरु राखिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको गीतभन्दा अगाडि तपाईंले लिच्याङ्ग प्राचीन सहरमा बनाइएका घरहरुको बारेमा कुरा गर्छु भन्नुभएको थियो ।

      हजुर रविजी । लिच्याङ्ग प्राचीन सहरमा धेरै वर्षअगाडि बनाइएका र अहिलेसम्म पनि उस्तै स्वरुपमा सिँगारिएका घरहरुको बारेमा पनि हाम्रा श्रोताहरुलाई केही जानकारी दिनैपर्छ भन्ने मैले सोचेको थिएँ । लिच्याङ्गको सहरको निर्माण योजना मुल्याङ्कन गर्ने हो भने त्यो एकदमै स्वतन्त्र र लचकतायुक्त योजना भन्न सकिन्छ । एक घरदेखि अर्को घरको दुरी निकै नजिक छ । मतलब पुरानो सहरमा घरहरुबीचको खाली ठाउँ एकदमै कम छ र बस्ती घना छ भन्न केही फरक पर्दैन । घरहरुबीचको गोरेटो बाटो पनि निकै साँगुरा छन् र बाटाहरु सीधा पनि छैन । त्यसको साथसाथै एउटा घरबाट अर्को घर हेर्ने हो भने हरेक घरहरुको मौलिकतामा विविधता पाइन्छ । तर नासी जातिले एकदमै ध्यान दिएको कुरा के भने उनीहरुले घर सजावटलाई निकै ध्यान दिएको मैले पाएँ । घर र भवन निर्माणमा सबैभन्दा बढी काठको प्रयोग गरेको मैले पाएँ भने घरको छानामा पूरै टायलको प्रयोग गरिएको छ । दैनिकरुपमा प्रयोग गरिने अधिकांश भाडाबर्तन र फर्निचरमा पनि काठकै प्रयोग बढी पाइन्छ । भवन र घरबाहेक खाली जग्गाभएको सबै ठाउँमा बगैँचा देखिन्छ । हरेक घरका ढोका र झ्यालमा मानिस र जनावरका विभिन्न चित्र कोरिएका छन् भने बगैँचा हरिया रुख र रङ्गिबिरङ्गी फूलहरुले ढपक्क ढाकको देखिन्छ । रविजी, त्यति सुन्दर र आरामदायी वातावरणमा जीवन बिताउनु भनेको जीवनको एउटा छुट्टै र वास्तविक सुख हो भन्ने मलाई लाग्छ ।

रवि- ध्रुवजी, आजको हाम्रो कार्यक्रमको निर्धारित समय सकिनै लागेको छ । त्यसैले अब श्रोताहरुसँग बिदा माग्नुपर्ने भएको छ ।

ध्रुव- हुन्छ रविजी । अर्को हप्ताको कार्यक्रममा लिच्याङ्ग सहरमा बग्ने कुलोको र बारेमा मैले देखेका र अनुभव गरेका अन्य रोचक जानकारीहरु अवश्य नै लिएर आउनेछु । किनभने एउटै श्रोतबाट आएको पानी विभाजित भइ हरेक घरको आँगनबाट बग्ने गरी बनाइएको छ । प्राचीनकालमा बनाइएको कुलो भए तापनि स्थानीय जनताले त्यहाँको पानी प्रयोग वैज्ञानिक तरिकाले गर्छन् । यसको पूरा जानकारी म अर्को हप्ता अवश्य नै लिएर आउनेछु ।

रवि- श्रोताहरु आजको कार्यक्रमबाट सहकर्मी मित्र ध्रुव पौडेल र म रविलाई बिदा दिनुहोस् ।

दुबै- नमस्कार

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह