फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन लिच्याङ्ग सहरको भ्रमण -7

(GMT+08:00) 2010-07-02 17:46:05

      श्रोताहरु, ध्रुवजीले चीनको सुन्दर युनान प्रान्तस्थित प्राचीन सहर लिच्याङ्ग भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई केही हप्ताअगाडिदेखिको कार्यक्रमबाट राख्तैआएका छौं । अगिल्लो हप्ताको कार्यक्रममा ध्रुवजीले प्राचीन लिच्याङ्ग सहरमा धेरै वर्षअगाडि बनाइएका कुलो र नहरबाट बग्ने नदीको बारेमा सुनाउँदै हुनुहुन्थ्यो । ध्रुवजी, आजको कार्यक्रममा लिच्याङ्ग प्राचीन सहरको बारेमा कुरा बाँकी छन् कि अन्य विषयमा कुरा गर्ने विचार गर्नुभएको छ?

       रविजी वास्तवमा लिच्याङ्ग प्राचीन सहरलाई अनुसन्धानको एउटा भाग नै बनाउन सकिन्छ । त्यसैले लिच्याङ्गको बारेमा अनुसन्धान गरेर सोधपत्र अर्थात् थेसिस नै लेख्न सकिन्छ । सोधपत्र पनि एउटा विषयमा नभइ धेरै विषयमा केन्द्रित भएर लेख्न सकिन्छ । त्यसैले लिच्याङ्ग सहरको बारमा मैले देखेका, अनुभव गरेका र अध्ययन गरेका कुराहरु सबै राख्नको लागि त हाम्रो पैचिङ्ग डायरी नियमित कार्यक्रमको सिमित समयमा सम्भव छैन । तर प्रमुख र श्रोताहरुलाई रोचक लाग्ने खालका अधिकांश कुराहरु मैले राखेँजस्तो लाग्छ । यद्यपि आजको कार्यक्रममा अन्य केही जानकारी दिएर लिच्याङ्ग प्राचीन सहरको भ्रमणका क्रममा मैले लेखेका डायरीका अंशहरुलाई टुङ्ग्याउनुपर्छ भन्ने लागेको छ ।

      हुन्छ ध्रुवजी । आज लिच्याङ्गको विषयमा तपाईंले भन्न बाँकी रहेका सबै कुराहरु राख्नुहोला ।

      हुन्छ रविजी । वास्तवमा प्राचीन लिच्याङ्ग सहर वर्गाकाररुपमा फैलिएको सहर हो । यो वर्गाकार सहरको केन्द्रबाट मुख्य चारवटा सडकहरु छुट्टाछुट्टै चार दिशातिर गएका छन् । तर मुख्य सडकहरुबाट पनि हरेक दिशामा पुग्न सकिने गरेर अनगिन्ती गोरेटो र सहायकमार्गहरु जोडिएका छन् । यसरी चारैतिर अथवा चारै दिशा जोड्ने गरेर बनाएका जालोजस्तो गोरेटोहरुबाट सहरको प्रत्येक भागका लागि सम्पर्कको माध्यम भएका छन् । मेरो मतलब सहरको हरेक कुनाबाट अर्को जुनसुकै कुनामा र हरेक दिशाबाट अर्को जुनसुकै दिशामा त्यही सञ्जाल भएर पुग्न सकिन्छ ।

       ध्रुवजी, तपाईंले लिच्याङ्ग सहरको बाटो चाहिँ कस्तो पाउनुभयो नि ?

      

रविजी, लिच्याङ्ग प्राचीन सहरको बाटो न त हिलो हुन्छ न त धुलो नै । यसको कारण के भने त्यहाँको गोरेटोबाटोमा स्थानीय नीलढुङ्गको छपनी लगाइएको छ । निलढुङ्गा मात्रै नभनौं, रङ्गिन ढुङ्गाहरुको छपनी लगाइएको छ । राम्रोसँग कुँदिएका असंख्य ढुङ्गाले लिच्याङ्ग प्राचीन सहरको पुरातत्विक महत्त्व वढाएका छन् भने त्यहाँको भ्रमणमा जाने पर्यटकहरुको कौतुहलताको विषय बन्न पनि सफल भएका छन् । अनि मध्यरातसम्म पनि त्यहाँको सफा सहरको केन्द्र भाग खुल्ला रहिरहन्छ । यसरी सफा भए तापनि मध्यरातमा पानीका फोहराहरु अर्थात् फाउन्टेनबाट निस्कने पानी बाटोबाटोमा पनि पुर्याइन्छ । यसरी बाटोबाटोसम्म पुग्ने गरि बनाएको फोहराबाट मानिसहरुले मनोरञ्जन लिन सक्छन भने बगेको पानीले पनि सहरलाई सफा र उज्यालो बनाउन थप मद्दत गरेको छ । धेरै मानिसहरु मध्यरातसम्म पनि पानीको फोहरा अर्थात् फाउन्टेनअगाडि बसेर फोटो खिच्नमा मस्‍त रहेको मैले पाएँ । यसरी पानीको ब्यवहारिक प्रयोग वास्तवमा वैज्ञानिक प्रयोग मात्रै भनेर सिमित गर्नु हुँदैन भन्ने लाग्छ । र, त्यसलाई लिच्याङ्ग नगरबासीको दैनिक जीवनको एउटा महत्वपूर्ण पक्ष पनि हो भन्न उचित हुन्छ भन्ने मलाई लाग्छ ।

      अब भने श्रोताहरुलाई एउटा गीत सुनाउँ जस्तो लाग्यो । किनभने श्रोताहरुलाई एउटा मीठो नेपाली गीत राख्ने बेला पनि भएको छ ।

      हुन्छ रविजी । हामी पनि आराम गर्दै श्रोताहरुसँगै नेपाली गीत सुनौं र सँगसँगै मनोरञ्जन पनि लिऊँ । र, गीतपछि लिच्याङ्ग प्राचीन सहर वरिवरिका अन्य पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँहरुको बारेमा संक्षिप्त जानकारी दिने विचार गरेको छु ।

       हुन्छ ध्रुवजी । श्रोताहरु, अब सुन्नुहोस यो मीठो नेपाली गीत ।

       श्रोताहरु, यो मीठो नेपाली गीतपछि तपाईंहरुलाई पैचिङ्ग डायरीमा पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले ध्रुवजीले चीनको युनान प्रान्तमा रहेको लिच्याङ्ग प्राचीन सहरको भ्रमणका बेला लेख्नुभएका डायरीका अंशहरुलाई राखिरहेका छौं । ध्रुवजी, भर्खरैको गीत बजाउनुभन्दा अगाडि तपाईंले लिच्याङ्गमा प्राचीन सहरबाहेक वरिपरिका अन्य पर्यटकीय स्थलहरुको बारेमा पनि जानकारी दिन्छु भन्दै हुनुहुन्थ्यो ।

      

 हजुर रविजी । लिच्याङ्ग आफैंमा प्राकृतिक दृष्टिकोणले पनि निकै राम्रो लाग्यो मलाई । बिहान सुर्योदय भएदेखि सूर्यास्त नहुन्जेलसम्म पनि सूर्यको सोझो प्रकासले सहरमा पर्छ र सहरको पूरै भाग निकै उज्यालो देखिन्छ भने राति पनि झिलिमिली बत्ति, नाचगान र बारस्ट्रिटको रमझमले निकै जीवन्त देखिन्छ लिच्याङ्ग प्राचीन सहर । तर त्यस वरिपरि पनि थुप्रै पर्यटकीय स्थलहरु छन् । जस्तो उदाहरणको लागि भन्ने हो भने मैले लिच्याङ्गको कुरा गर्नुभन्दा अगाडि कुरा गरेको साङ्गरिला पनि लिच्याङ्गबाट धेरै टाढा भन्न मिल्दैन । अर्को पर्यटकीय सहर ताली पनि लिच्याङ्गबाट नजिकै पर्छ ।

तर रविजी लिच्याङ्ग वरिपरिकै कुरा गर्ने हो भने पनि त्यहाँ केही मन छुने खालका प्राकृतिक सम्पदाहरु पनि छन् जसले मन नै पुलङ्कित बनाउँछ । सबैभन्दा उत्कृष्ठ प्राकृतिक दृश्य हेर्न चाहनेलाई त्यहाँको जेड ड्रागन (Jade Dragon) हिमालले मोहित पार्छ । किनभने राति जुन लागेको बेलामा उक्त हिमालको छायाँ Black Dragon Pond अर्थात् कालो ड्रागनको पोखरीमा पर्छ । त्यो दृश्य मलाई साँच्चै नै मनमोहक लाग्यो पनि ।

अनि लिच्याङ्गमा अलि छुट्टै र भिन्नै खालको अनुभव गर्न चाहनेले लिच्याङ्ग नजिकै रहेको लुकु तालको किनारमा बसोबास गर्ने मुसो जातका मानिसहरुसँग भेट्न सक्छन् । मुसो जानका मानिसहरु बस्ने ठाउँलाई महिलाहरुको अधिराज्य पनि भन्ने गरिएको मैले पाएँ ।

त्यसैगरी, त्यहाँको जीवनशैलीको बारेमा जानकारी लिने हो र त्यसको प्रत्यक्षदर्शी बन्न मनलाग्ने पर्यटकहरुले त्यहाँका स्थानीय बासिन्दासँग मिलेर त्यहाँ मनाइने पर्व र आयोजना गरिने मेलाहरुमा भाग लिन सक्छन् । यस्ता विविध पर्व वर्षै भरी पर्छ भने कैयौं मेलाहरु पनि वर्षैभरी जस्तो आयोजना गरिने रहेछ ।

       ध्रुवजी, आजको कार्यक्रमको समय सकिनै लागेको छ । अब भने श्रोताहरुसँग बिदा माग्नुपर्ने बेला भएको छ ।

       रविजी, आजको कार्यक्रमको अन्त्यसँगै मैले लिच्याङ्ग भ्रमणका बेलामा लेखेका मेरा डायरीका अंशहरुलाई पनि टुङ्गिएको श्रोताहरुलाई जानकारी गराउन चाहन्छु । मैले लिच्याङ्गको बारेमा जानकारी दिनुभन्दा अगाडि लिच्याङ्ग नजिकैको साङ्गरिलाको विषयमा पनि केही चर्चापरिचर्चा गरेँ । तपाईंहरुलाई यी कार्यक्रम कस्ता लागे? म श्रोताहरुलाई चिठी, इमेल वा फ्याक्सबाट जानकारी गराउनका लागि अनुरोध गर्छु । म अर्को हप्ताको पैचिङ्ग डायरीमा कुनै अर्को नयाँ विषय लिएर आउने छु ।

        श्रोताहरु, आजको पैचिङ्ग डायरीबाट म रवि

       अनि म ध्रुव पौडेललाई बिदा दिनुहोस् ।

        नमस्ते ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह