फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको तोङ युए मन्दिर

(GMT+08:00) 2010-06-07 15:57:26

               पैचिङ शहर निकै नै ठूलो शहर हो। नेपालका रहेको कुनै एक विकास-क्षेत्र जत्रै नै रहेको छ यसको क्षेत्रफल।यहाँको जनघनत्व निकै नै बाक्लो रहेको पाइन्छ।करिवन साढे दुई करोड जनता यस शहरमा बसोबास गर्दछन्। निहालेर हेर्ने हो भने पैचिङ पनि काठमाडौँजस्तै एउटा उपत्यका नै हो। यस उपत्यकाका वरिपरि नै अग्ला होचा पहाडहरू विद्यमान छन्।पैचिङ शहरी सरकारले ती सबैतिरका डाँडालाई व्यवस्थित रुपमा सञ्चालन गरेर पर्यटकलाई आकर्षण गरेको देखिन्छ।हरेक पहाडी श्रृङ्खलाको फेदमा केबुलकारको व्यवस्था अनिवार्य रुपमा गरेको देखिन्छ। त्यसै गरेर पहाडको फेदीबाट माथिसम्म जानका लागि वा पदयात्रा गर्नका लागि एकदम  फराकिलो र ढुङ्गा आदि छापिएको बाटो पनि रहेको पाइन्छ।

              अर्को कुनै पनि पाटोबाट पहाडको थुम्कासम्म जाने चिल्ला मोटरबाटाहरू पनि छन्। त्यसै गरेर हरेक पाँच-दश मिनेटको हिँडाइपछि सफा शौचालयहरु तथा खानेकुराका पसलहरू माथिसम्मै रहेका छन्।जसले गर्दा विदेशी तथा पैचिङबासीहरू त्यस्ता पहाड चढ्नका लागि धेरै नै इच्छुक भएको पाइन्छ। यो त भयो पैचिङमा रहेका पहाडी भागहरूमा रहेका सुविधाका कुराहरू । तर आजको मेरो विषय भनेको पैचिङको पूर्वी पहाडी भागमा रहेको एउटा मन्दिरको विषयको कुराकानी हो।

              पैचिङको पूर्वतर्फको एक कुनामा एउटा शान्त स्थान देख्न सकिन्छ। जहाँ शहरको कोलाहल छैन अनि शान्ति नै यहाँको सर्वोच्च चरित्र बनेको छ। धेरै मानिसको जमघट पनि छैन तर राष्ट्रले दिने ध्यान अन्य स्थानसरह नै मिलेको छ, त्यो हो पेचिङको तुङ युए मन्दिर।

 

             यो मन्दिर चीनका विभिन्न प्राचीन मन्दिरहरूमा एक मन्दिर हो। यो मन्दिर बनावटको हिसाब अनि प्राचीनताको हिसाबले पनि धेरै नै सुन्दर देखिन्छ।मैले बुझेसम्म यसको चिनियाँ नाम तुङ युए म्याओ भन्ने हो। जसमा तुङ भनेको तुङ भनेको पूर्वतिरको भन्ने अर्थ हुन्छ अनि युए भनेको पहाड भन्ने अर्थ लाग्छ अनि म्याओ भनेको मन्दिर नै हो। यसरी हेर्दा पूर्वी पहाडको छेउमा रहेको मन्दिर भएको हुनाले नै यसको नाम तुङ युए मन्दिर रहन गएको स्पष्ट हुन्छ।यस मन्दिरको वरिपरि रुख र बुट्यानहरूले घेरेर राखेको छ। भनौँ कि यसो हेर्दा यो मन्दिर जङ्गलभित्र रहेको जस्तो भान हुन जान्छ।मन्दिर तथा यस वरिपरिको क्षेत्रमा तथा वरिपरि बनाइका बाटामा ठूलाठूला ढुङ्गाहरू छापिएको पाइन्छ।

               अनि मन्दिरको दायाँ तथा बायाँ दुबैतिर बस्ने फलैँचा तथा हलहरू पनि विद्यमान रहेका छन्।तीन मीटर उचाइ रहेका ढुङ्गाका पाताहरू व्यवस्थित रुपमा राखिएका छन् अनि ती चिल्ला ढुङ्गाहरूमा प्रचीन चिनियाँ लिपिमा त्यस मन्दिरबारेको इतिहास खडा गरेर राखिएको छ।मैले गन्ती गरेसम्म यस्ता विशाल ढुङ्गाका पाताहरू करिब सयको सङ्ख्यामा रहेका छन्।साथै ती ढुङ्गाका पाताहरू धेरै नै सुन्दर पनि देखिन्छन्।मन्दिरबाट यताउता जानका लागि बनाइका बाटाहरू पनि ज्यादै नै सुन्दर र सफा अनि हेर्दै रहरलाग्दा प्रकारका देखिन्छन्।

              वास्तवमा यस्तो सुन्दर तुङ युए मन्दिर पैचिङको खास कुन भागमा पर्छ त भन्ने खुल्दुली पनि हुनसक्छ।पैचिङको छाओयाङ जिल्लामा अबस्थित् छाओयाङमन भूमिगत रेल वै स्टेशनबाट सातसय मीटर पूर्वतिर पर्दछ यो मन्दिर। यो भूमिगत रेल वै स्टेशन भनेको दुई नम्बर रेल वै लाइनमा पर्छ।हरेक हप्ताको मङ्गलबारदेखि आइतबारसम्म यो मन्दिर परिसर खुल्ने गर्दछ अनि केवल सोमबार एकदिन मात्र बन्द हुन्छ यो मन्दिर परिसर।

              मैले बुझेसम्म बेलुकी चारबजेसम्म मात्र यहाँ प्रवेश गर्ने टिकट काउन्टर खुल्ने गर्दछ। यो मन्दिर बिहान साढे आठबजे सर्बसाधारण र अवलोकनकर्ताहरूका लागि खुल्ने गर्दछ भने बेलुकी साढे चार बजेबाट बन्द हुने रहेछ। टिकटको कुरा गर्ने हो भने यहाँको प्रवेशका लागि चिनियाँ युआन दश तिरेर प्रवेश गर्न सकिने अवस्था छ।

              यस मन्दिरभित्रको परिसरमा पैचिङका विभिन्न साँस्कृतिक तथा परम्परागत कार्यक्रमहरू हुने गर्दछन्।यहाँका सुन्दर वृक्षहरू सँगसँगै नाच्ने गाउनेहरूको भिड नै हुनेगर्छ यहाँ।विशेष गरेर मध्य-शरद चाड तथा वसन्त चाडका समयमा लोकगाना सुन्न र लोकभाकाका नृत्यहरू हेर्न पाइन्छ। यहाँभित्र चित्रकला तथा कलीग्राफी वा हातले चिनियाँ अक्षर लेख्ने तरिका पनि सिकाइने कार्यक्रमहरू रहेका हुन्छन्। त्यसैले श्रोता यदि तपाईँ पनि पैचिङ आउदैहुनुहुन्छ भने कृपया तुङ युए मन्दिर जान नभुल्नुहोला भन्न चाहन्छु। सिल्क मार्केटसम्म भूमिगत रेलमा गएर 28 नंबरको बसबाट पनि यो स्थान सजिलै पुग्न सकिन्छ। जसका लागि तपाईँ तुङ ता छ्याओ लुमा ओर्लनुपर्ने हुन्छ बसबाट।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह