फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्हाई विश्वएक्स्पो नेपाल दिवस- 3

(GMT+08:00) 2010-11-26 18:14:30

           रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडि देखिका कार्यक्रममा साङ्हाई विश्वएक्पो 2010को बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको बारेमा चर्चा गर्नुभएको थियो । त्यसको विषयमा जानकारी दिन अझै बाँकी छ कि?

          ध्रुव- हो रविजी, साङ्हाई विश्वएक्स्पोको आयोजनास्थलमा गत सेप्टेम्बर महिनाको तीन तारिखका दिन आयोजना गरिएको नेपाल दिवसको उद्घान समारोहका मोटामोटी कुराहरु त मैले अगिल्ला दुई हप्ताका कार्यक्रममा राखिसकेँ । तर उद्घाटन समारोहका कार्यक्रमहरुमध्ये नेपाली पेभिलियनमा प्रतिस्थापित गरिएको शान्तिद्वीपको बारेमा मलाई लागेका केही कुराहरु श्रोताहरुलाई राखुँ जस्तो लागेको छ आजको कार्यक्रममा ।

          रवि- हुन्छ ध्रुवजी । शान्तिद्वीप सम्बन्धी जानकारी र त्यसको बारेमा तपाईंलाई लागेका कुराहरुको बारेमा आजको कार्यक्रममा जानकारी दिनुहोस् ।

          ध्रुव- रविजी, बुद्धको जन्मस्थल लुम्बिनीबाट ल्याइएको उक्त शान्तिद्वीप विश्वएक्स्पो अवधिभर नेपाली पेभिलियनमा राखिने भएको छ । मैले चीनका धेरै ठाउँमा घुम्दाखेरी के पाएको छु भने धेरै ठाउँका चिनियाँहरुलाई शान्तिका अग्रदूत भगवान गौतमबुद्ध नेपालमा जन्मिएको कुरा थाहा छैन । चिनियाँहरुलाई मात्रै होइन अन्य धेरै देशका नागरिकहरुसँग पनि मैले बुद्धको जन्मस्थलको बारेमा चर्चा गर्ने गरेको छु । उनीहरुले बुद्धको जन्मस्थलको बारेमा अझै पनि भ्रम नै पालेर राखेका छन् । केही हप्ताअगाडि चीनको राष्ट्रिय दिवसको साप्ताहिक विदामा म साङ्हाई नजिकै ज्याङ्गसु प्रान्तको उसी सहर गएको थिएँ । उसीको एक दिनको बसाइका क्रममा म लिङ्गसान भन्ने पहाडमा घुम्न गएको थिएँ । मलाई मेरा साथीका दम्पत्तिले उसी विमानस्थलबाट सोझै उक्त पहाडतिर लगेका थिए । पहाडमा बुद्धको वास्तविक शरीरभन्दा सय गुना ठूलो तामाको मूर्ति प्रतिस्थापन गरिएको छ । त्यो मूर्तिलाई मानिसहरुले नजिकै पुगेर पनि छुन सक्छन् । त्यही डाँडामा उक्लिनुभन्दा अगाडि एउटा भित्तामा बुद्धको जन्मदखि, बाल्यकाल, ध्यान गर्दाका, बुद्धत्व प्राप्त गरेको र निर्वाण प्राप्त गर्दासम्मका सबै कथालाई धातुकलामार्फत उजागर गरिएको छ । अझ त्यसभन्दा अगाडि शाक्यमुनिको जन्म कसरी भयो भनेर एउटा प्रस्तुति पनि देखाइने रहेछ । करिबकरिब बीस मिनेट लामो कार्यक्रमको सुरुमा शाक्यमुनि बुद्ध भारतमा जन्मिएको भनेर उद्घोषकले नै बताए । त्यसैले बुद्धको जन्मस्थानको बारेमा धेरै ठाउँका मानिसमा अझै पनि भ्रम छ भनेर मैले यो उदाहरण मात्रै दिन खोजेको । साङ्हाई विश्वएक्स्पोमा उद्घाटनका अवसरमा शाक्यमुनि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबाट लगिएको शान्तिद्वीप नेपाली पेभिलियनमा प्रतिस्थापित गरिएकोले त्यसबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर चिनियाँ मात्रै नभएर विश्वएक्स्पोको भम्रण गर्ने विश्वकै मानिसहरुलाई जानकारी दिन सजिलो हुने विश्वास मैले लिएको छु ।

          रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीहरुले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशभन्दा अगाडि तपाईंले साङ्हाई विश्वएक्स्पो मनाइएको नेपाल दिवसको बारेमा चर्चा गरिरहनुभएको थियो ।

          ध्रुव- हजुर रविजी । मैले यो छोटो विश्रामभन्दा अगाडि साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको उद्घाटनको विषयमा कुराकानी गरिरहेको थिएँ । गएको सेप्टेम्बर महिनाको तीन तारिकका दिन आयोजित नेपाल दिवसको उद्घाटनका अवसरमा नेपाली पेभिलियनमा प्रतिस्थापित गरिएको लुम्बिनीको पवित्रज्योति विश्वएक्स्पोको समापनपछि नेपाली पेभिलियनका निर्माण तथा सञ्चालक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले जनाएको छ । यसको बारेमा मैले ग्रुपका अध्यक्ष अमृत शाक्यसँग कुराकानी गरेको थिएँ । उहाँले 'शाक्यमुनि बुद्धको पवित्र जन्मथलोबाट ल्याइएको शान्तिद्वीप चिनियाँ नागरिकलाई दिन लगिएको मायाको चिनो हो' भनेर मलाई भन्नुभएको थियो । त्यसले चिनियाँ जनतमा बुद्धको वास्तविकता उजागर गर्न ठूलो मद्दत पुग्ने उहाँको पनि विश्वास थियो । विश्वएक्स्पोमा स्थापित गरिएको शान्तिद्वीप विश्वशान्तिको कामना, विश्वएक्स्पो र चीनको सफलतालगायत नेपाल-चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहने पनि अध्यक्ष शाक्यले बताउनुभयो । अध्यक्ष अमृत शाक्यको भनाइसँग म पनि सहमत छु । किनभने विश्वएक्स्पोस्थल बिताएको दुई दिनमध्ये मैले अधिकांश समय नेपाली पेभिलियनमा नै बिताउनुपर्यो । किनभने नेपाल र शाक्यमुनि बुद्धको बारेमा जानकारी लिन चाहने आगन्तुकको ठूलो भीड थियो ।

          रविजी, लुम्बिनीबाट लगिएको शान्तिद्वीपको अतिरिक्त नेपाली लुम्बिनीकै अशोकस्तम्भ पनि राखिएको छ । लुम्बिनीमा रहेको अशोकस्तम्भमा सम्राट अशोकले पाली भाषामा लेख्न लगाएको लेखोटमा शाक्यमुनि बुद्ध त्यहाँ जन्मिएका थिए भन्ने कुरा उल्लेख छ । नेपाली पेभिलियनमा एउटा मात्रै नभएर अशोकस्तम्भका आठवटा प्रतिकृति बनाई त्यही पाली भाषामा लेखिएको लेखोटलाई पाली, चिनियाँ, नेपाली, अङ्ग्रेजी, कोरियन, जापानीलगायत विभिन्न देशका आठ भाषामा अनुवाद पनि गरेर राखिएको छ । ती अशोकस्तम्भको प्रतिकृति राखिएको ठाउँमा पुगेर आफूले बुझ्ने भाषामा आगन्तुकहरुले जानकारी लिइरहेका थिए । त्यसैले ती अशोकस्तम्भ र शान्तिद्वीपको मद्दतले नेपाली पेभिलियनमा पुगेका आगन्तुक र उनीहरुमार्फत विश्वका जनतालाई भगवान गौतम बुद्धको पवित्र जन्मस्थलको बारेमा जानकारी हाँसिल निकै उपयोगी हुने विश्वस गर्न सकिन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह