फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्घाई विश्वएक्स्पो समापन समारोह

(GMT+08:00) 2011-01-14 19:45:47

         रवि- श्रोताहरु, हामीले केही महिनाअगाडिदेखिका कार्यक्रममा साङ्हाई विश्वएक्पो 2010का विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, विश्वएक्स्पो सकिएको १२ दिन भइसकेको छ । तर विश्वएक्स्पोको बारेमा जानकारी दिन अझै बाँकी छ कि ?

         ध्रुव- रविजी, चीनको औद्योगिक तथा व्यापारिक सहर सांघाईमा आयोजित विश्वएक्स्पो सकिएको आज १२ दिन भइसकेको छ । भब्य कार्यक्रमका बीच आयोजित विश्वएक्स्पोको समापन समारोहमा भाग लिन नेपालका राष्ट्रपति डा. रामवरण यादव सांघाई पुग्नुभएको थियो । त्यसैले आजको कार्यक्रममा विश्वएक्स्पोको समापन समारोह र त्यसमा नेपालको सहभागिताबारे जानकारी गराउने विचार गरेको छु ।

         रवि- समापन समारोहको बारेमा समाचार संकलन गर्न तपाईं पनि सांघाई जानुभएको थियो होइन र ?

        ध्रुव- हजुर रविजी । म विश्वएक्स्पोको समापन समारोहमा नेपालका राष्ट्रपति डा. रामवरण यादवसहितको १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिने निश्चित भएपछि नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल सांघाई पुग्नुभन्दा दुई दिनअघि नै म त्यहाँ पुगेको थिएँ ।

        रवि- प्रत्यक्षरुपमा हेर्नुभएको सांघाई विश्वएक्स्पोको समापन समारोह तपाईंलाई कस्तो लाग्यो ध्रुवजी ?

        ध्रुव- रविजी, विश्वएक्स्पोको समापन समारोहमा नेपाल राष्ट्रपति डा. रामवरण यादव, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे, चीनका प्रधानमन्त्री वान च्या पाओसहित विश्वका आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको विशेष उपस्थिति रहेको थियो । अझै राष्टसंघीय महासचिव वान कि मुनलगायत विश्वएक्स्पोको समापन समारोहमा सबै गरेर १ सय ८९ देशका उच्चपदस्थ सरकारी अधिकारी र विश्वका सबैभन्दा ठूला मानिएका र विश्वएक्स्पोमा सहभागिता जनाएका ५७ अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुले पनि भाग लिएको त्यो समापन समारोह विश्वकै एक महत्वपूर्ण कार्यक्रम थियो भन्ने मलाई लाग्छ ।

        चिनियाँ प्रधानमन्त्री वन च्या पाओले १ सय ८४ दिनसम्म चलेको विश्वएक्स्पो समापन भएको घोषणा गर्नुभएपछि करिब एक घन्टा विविध सांस्कृतिक कार्यकम प्रस्तुत गरिएको थियो । समापन समारोहअगाडि विश्वनेताहरुबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएका थिए । त्यसका साथसाथै विश्वएक्स्पो समापन हुने दिन अर्थात् अक्टोबर ३१ तारिकका दिन आयोजित विश्वएक्स्पो शिखर मञ्चमा पनि आठ देशका राष्टप्रमुख तथा सरकारप्रमुखसहित विश्वका २ सय ४४ मुलुक तथा क्षेत्र एवम् अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए । समापन समारोहका साथसाथै त्यसै दिन आयोजित एक्स्पो शिखर मञ्च र विभिन्न मुलुकका राष्ट्र तथा सरकारप्रमुखबीच भएका भेटवार्ताहरु पनि बढी नै महत्वपूर्ण थिए भन्ने लाग्छ ।

       रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले सांघाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअगाडि तपाईंले साङ्हाई विश्वएक्स्पोको समापन समारोहमा भाग लिन पुगेका विश्वनेताहरुको द्विपक्षीय भेटवार्ताका विषयमा कुराकानी गर्नुभएको थियो । नेपालका राष्ट्रपतिले कुन कुन नेतासँग भेट गर्नुभयो ?

        ध्रुव- रविजी चीनका प्रधानमन्त्री वन च्या पाओले विश्वएक्स्पोको समापन समारोह सुरु हुनुभन्दा केही घन्टाअगाडि सांघाईमा रहेको स्टेट गेष्टहाउसमा नेपालका राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचारभेट गर्नुभएको थियो । यसवर्ष चीन र नेपालबीच उच्चस्तरमा गरिएको यो भेटवार्ता वास्तवमा यो वर्षकै सबैभन्दा उच्चस्तरीय भेटवार्ता पनि हो । नेपालकै पहिलो राष्ट्रपति डा. रामवरण यादवसमक्ष चिनियाँ प्रधानमन्त्री वन च्या पाओले चीन सधैं नेपालको शान्ति र स्थायित्वका पक्षमा रहेको बताउँदै नेपालले आफ्नो घरभित्रको समस्या आफैंले सुल्झाउनुपर्ने धारणा राख्नुभएको थियो । दुबै देशका नेताको भेटवार्तापछि भेटका अवसरमा उपस्थित नेपालका पर्यटन तथा नागरिक उड्ययनमन्त्री शरतसिंह भण्डारीसँग मैले कुराकानी गरेको थिएँ । मन्त्री भण्डारीका अनुसार चिनियाँ प्रधानमन्त्रीले नेपालमा चाँडो संविधान निर्माण गर्न र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सुझाव पनि दिनुभएको थियो ।

        रविजी, नेपालका राष्ट्रपति डा. यादवले शिष्टाचार भेटको सुरुमै चिनियाँ प्रधानमन्त्रीसमक्ष एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । उहाँले नेपाली भूमि मित्रराष्ट्र चीनको हितविरुद्ध प्रयोग हुन नदिने दृढतासमेत व्यक्त गर्नुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री वनले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै चीनको तिब्बतको सुरक्षामा नेपालले खेलेको भूमिकाका लागि धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री वनले नेपाल र चीनबीच परम्परागत मित्रता मजबुत र आपसी सहयोगात्मक सम्बन्ध दरिलो पार्दै जाने इच्छा व्यक्त गर्नुभएको पनि थियो ।

        चीनको मैत्रीपूर्ण सद्भावना भ्रमणमा क्रममा राष्ट्रपति यादवलाई चिनियाँ प्रधानमन्त्री वनले उपयुक्त समयमा चीनको राजकीय भ्रमणको निम्तोसमेत दिनुभएको थियो । 'मैत्रीपूर्ण सद्भावना भ्रमण भए पनि चीनले नेपालका राष्ट्रपतिको स्वागत सत्कारमा कुनै कमी हुन दिएन' भनेर मसँगको कुराकानीमा पर्यटनमन्त्री भण्डारीले 'भ्रमणले नेपाल-चीन सम्बन्धलाई अझ उँचो पारेको छ' भन्नुभएको थियो । मैले चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्कीसँग पनि कुराकानी गरेको थिएँ । राजदूत कार्कीले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिको भ्रमण दुईपक्षीय हितका विषयमा जान्ने-बुझ्ने राम्रो अवसर भएको बताउनुभएको थियो । राजदूतलाई जस्तै मलाई पनि राष्ट्रपतिको चीन भ्रमणले दुई देशबीचको पारस्परिक ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बनाएको छ भन्न लागेको छ रविजी ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह