फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र स्वास्थ्य

(GMT+08:00) 2011-03-04 20:34:09

         रवि- श्रोताहरु, हामीले अगिल्लो हप्ताको पैचिङ्ग डायरीमा चिनियाँ खाना र स्वास्थ्य विषयमा कुराकानी गरेका थियौं । ध्रुवजी, अगिल्लो हप्ता यसै विषयमा कुराकानी गर्दागर्दै पैचिङ्ग डायरीको निर्धारित समय सकिएको थियो । आज त्यसैलाई निरन्तरता दिनुहुन्छ कि ?

         ध्रुव- हजुर रविजी । मैले अगल्लो हप्ताको कार्यकममा श्रोताहरुलाई चिनियाँ खाना र स्वास्थ्यको बारेमा आफूले सुनेका देखेका र भोगेका कुराहरु सुनाइरहेको थिए । त्यसक्रममा चिनियाँहरु एकाबिहानै पेटभरि डम्म, दिउँसो अलि कम र बेलुकी सकेसम्म थोरै खाने गर्छन् । अझ बूढाबूढी र उमेर पुगेका पाका मानिसहरुले त बेलुकीको छाक सकेसम्म खाँदै नखाने प्रचलन पनि छ, जुन स्वास्थ्यको दृष्टिकोणले ज्यादै महत्त्वपूर्ण छ भनेर भनेको थिएँ । त्यसको केही वैज्ञानिक कारण पनि बताएको थिएँ । आजको कार्यक्रममा पनि त्यही कुरालाई निरन्तरता दिने विचार गरेको छु ।

         रविजी, बिहानी नास्ता नखाने र अलि अबेर खाना खाने मानिसहरुमा पत्थरी वा रक्तचापको समस्या देखिने धेरै चिनियाँहरुले भनेको मैले सुनेको छु । यस विषयमा पनि मैले सांघाईस्थित थोङ्गची विश्वविद्यायमा अध्ययन गरिरहनुभएका डा प्रज्ज्वल पाण्डेसँग कुराकानी गरेको थिएँ । उहाँले अबेर खाना खाने मानिसहरुमा पत्थरी वा रक्तचापको समस्या देखिने समस्याबारे चिकित्सकीय दृष्टिकोणले कुनै तथ्यांक सार्वजनिक भएको आफूलाई थाहा नभएको जानकारी दिनुभएको थियो ।

        बिहानी खानाको विषयमा मैले केही समयअगाडि एउटा समाचार पढेको थिएँ । समाचारमा जनाइएअनुसार चीनको भित्री मंगोलियामा गरिएको एक अध्ययनमा बिहानको खाना नखाने विद्यार्थीहरुको भन्दा बिहानी खाना खाने विद्यार्थीको पढाइको नतिजा राम्रो पाइएको छ । अझ रक्तअल्पता भएका विद्यार्थीहरुमध्ये झन्डै एक तिहाइले बिहानको खाना राम्रोसँग नखाएको वा खाँदै नखाएको पाइएको छ । अध्ययनको नतिजा सार्वजनिक भएपछि ती विद्यार्थीहरुलाई बिहानको खाना अनिवार्यरुपमा खुवाउन थालिएको र त्यसको केही महिनापछि नै उनीहरुको रक्तअल्पताको समस्या समाधान भएको थियो।

         त्यस्तै अमेरिकाको बोस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुद्वारा हालै प्रकाशित एक तथ्यांकअनुसार बिहान खाना खाएका विद्यार्थीहरुको नतिजा बिहान खाना नखानेहरुको तुलनामा २० प्रतिशतले राम्रो देखिएको छ । यो तथ्यांक सार्वजनिक भएपछि अमेरिकाका दशौं हजार विद्यालयले विद्यार्थीहरुलाई बिहानी खाना खुवाउने व्यवस्था मिलाएको थियो । त्यसपछि बिहान खाना खुवाउने लहरले अमेरिकामा पनि ठूलो हलचल ल्याएको बताइएको छ ।

         रवि- श्रोताहरु,आजको कार्यक्रममा हामीले चिनियाँ खाना र स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअघि तपाईंले चिनियाँहरुको खाना खाने शैलीको विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

          ध्रुव- हजुर रविजी । हामी नेपालीहरुको बिहान उठ्नेबित्तिकै खाना खाने बानी छैन । बरु दिउँसोको खाना पनि अलि चाडै खाने तर बिहान अधिकांशको चियाबाहेक केही नखाने चलन पाइन्छ । चिनियाँहरुको भने बिहान आठ बजेअगाडि बिहानी खाना खाएपछि मध्यान्ह १२ बजेतिर खाना खाने चलन छ । बिहान खाएको खानालाई साथ दिनको लागि अझ भोक मेटाउनका लागि मात्रै चिनियाँहरु मध्याह्नमा खाना खाने गर्छन् । त्यसैले दिउँसोको खानाको मात्रा बिहानको तुलनामा कम हुन्छ । दिउँसोको खाना खाएपछि प्रायः चिनियाँहरु सुत्ने गर्छन् । यसरी सुत्दा मानसिक र शारीरिकरुपमा शक्ति सञ्चित गर्न सहयोग पुग्ने र सो शक्तिलाई दिउँसोको काममा पूरापूर उपयोग गर्न सकिने केही चिनियाँ मित्रहरुबाट मैले सुनेको छु । दिउँसो आधा घण्टासम्म मात्रै सुते तापनि शरीरको क्रियाशीलता, एकाग्रता र लगनशीलता बढाउन सहयोग पुग्ने साङ्घाईस्थित थोङ्गची विश्वविद्यायमा अध्ययन गरिरहनुभएका डा. प्रज्ज्वल पाण्डे बताउनुभएको थियो । मैले पनि के पाएको छु भने दिउँसो आधा अथाव एक घन्टा सुतेका मानिसहरुले बिहान भर्खरै कार्यालय गएर काम गरेकै जस्तो जोश र उमङ्गमा काम गर्छन् । मेरो विचारमा दिउँसोको खाना खाएर छोटो समय सुतेर उठ्नेहरुको मुहारमा निकै उज्ज्यालो पनि देखिन्छ । त्यसैले दिउँसोको खाना खाएर केही समय सुत्ने बानीका कारण चिनियाँहरुले बिहान तीन चार घन्टामा जुन जोश र परिश्रमका साथ काम गर्छन् दिउँसो पनि त्यसरी नै काम गर्ने गरेको मैले अनुभव गरेको छु ।

         रविजी, सामान्यतया चिनियाँहरु बेलुका १० बजेतिर सुत्छन् । साँझ ६ बजे खाना खाएपछि उनीहरु बेलुका आठ बजेतिर हल्का शारीरिक कसरत गर्छन् । उमेर पुगेका र वृद्धहरु हल्का हिँड्छन् । त्यसले बेलुकाको खाना पचाउन मद्दत गर्ने र रातिको निद्रा मीठो तथा आनन्दमय हुने चिनियाँहरुको धारणा छ ।

          रविजी, चिनियाँहरु खाना खानको लागि कहिल्यै हतारिएको देखिंदैन । उनीहरु आरामसँग रमाइलो मानी-मानी खाना खान्छन्, जसले गर्दा खाएको खाना पचाउन सजिलो हुन्छ । केही नेपालीहरु निकै हतारहतार गरी खान्छन् । यसरी हतारपतार गरेर खाना खाँदा धेरै तातो हुने र त्यसले मुख र खाद्यनलीमा विभिन्न समस्या देखिन सक्छ । तातो खानाले पाचन ग्रन्थिबाट निस्कने प्रोटिनजन्य पदार्थको संरचना पनि बिगार्छ । चिकित्सकहरुका अनुसार यसरी बढी तातो खाना खाने मानिसको बानीले उनीहरुको पेटमा ग्यास्ट्रिक, अल्सर र क्यान्सर हुने सम्भावना बढाउँछ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह