फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाड -1

(GMT+08:00) 2011-08-29 18:46:19

 

 

              आज म चीनमा मनाइने विविध चाडपर्बहरूमध्ये सबैभन्दा ठूलो चाडको रुपमा रहेको चाड वसन्त चाडको बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।चीनका परम्परागत उत्सबहरु त धेरै नै छन्। चीन देश जसरी क्षेत्रफलको हिसाबले विशाल छ त्यसरी नै परम्परा र संस्कृतिमा पनि त्यत्तिकै विशाल र धनी छ भन्न सकिन्छ।

               आधुनिकताको चरम उत्कर्षमा पुगेको चीन परम्परा र संस्कृतिलाई पनि आफ्नो जीवनको एक पाटो ठानेर यसको हर तरहले संरक्षण गर्नु चिनियाँहरूको मूल विशेषता बनेको छ। पाँचहजार बर्षभन्दा पनि पुरानो चालचलन र परम्परालाई आत्मसात गर्दै संस्कृतिलाई जगेर्ना गर्न चीन सक्षम देखिन्छ।चीनमा मनाइने चाडपर्ब र उत्सबहरूमा वसन्त उत्सब सबैभन्दा ठूलो रहेको छ।यसका अतिरिक्त लालटिन उत्सब , विशुद्ध उज्यालो दिन, ड्रागन बोट उत्सब, मध्य शरद ऋतु उत्सब तथा दोहोरो नौ उत्सब पर्दछन्।चीनका अल्पसंख्यक जातिहरूले पनि आफ्ना परम्परागत उत्सब कायमै राखेका छन्।तिनमा ताड जातिका तानु वा विगत कहिल्यै नबिर्स उत्सब, पाइ जनताका तेस्रो महिना मेला, तिब्बती जनताको तिब्बती नयाँवर्ष अनि ओङ घोर वा राम्रो फलको आशा उत्सब तथा म्याओ जातिका जनताको उफ्रने फूल उत्सब पर्दछन्। तर मेरो आजको विषय भनेको चीनमा मनाउने गरिएको वसन्त चाड जसलाई नेपालको दशैँसँग तुलना गरेर पनि हेर्न सकिन्छ, त्यही बारेमा म केही चर्चा गर्न जाँदैछु।

               यस पर्बलाई मैले यि अघि नै पैचिङमा दुई पटकसम्म अनुभव गरिसकेको छु। यसका कतिपय परम्परागत सँस्कृति र चालचलन नेपालको सबैभन्दा ठूलो पर्बको रुपमा रहेको दशैँसँग मिल्न आउछ। दशैँमा गरिब धनी सबैले आफ्नो गच्छेअनुसारको खर्च गरेर आफ्ना बालबच्चालाई नयाँ लुगा किनिदिने गर्दछन्, त्यसैगरी चीनमा पनि वसन्त चाडमा नयाँ लुगा लगाउने, मीठो खानाको बन्दोबस्त गर्ने गरिन्छ। बच्चाहरूलाई यस समयमा पकेट मनी दिने चलन नेपालमा पनि छ अनि वसन्त चाडमा चीनमा पनि आफूभन्दा ठूलाले सानालाई र बालबच्चालाई पैसा दिने गर्दछन्। आफ्ना मान्यजनको घरमा आशीर्वाद लिन जाने विषय पनि मिल्दोजुल्दो कुरा हो। यो कुरा दशैँ पर्वमा हुने नै कुरा हो र वसन्त चाडमा पनि चिनियाँहरू आफ्ना मान्यजनको घरमा भेटघाटमा जाने कुरा रहेको नै दखिन्छ।

               कर्मचारीलाई राज्यको तर्फबाट दशैँ बोनस दिने चलन रहिआएको छ। जुन कुरा चीनको वसन्त चाडसँग पनि मिल्न आउछ। वसन्त पर्वमा चीनमा देशले आफ्ना कर्मचारीलाई बोनस रकम अग्रिम उपलब्ध गराउने गर्दछ। एकापसमा वर्ष दिनसम्म रिसाएका साथीभाइ पनि यो चाडमा बोलचाल सुरु गर्ने गर्दछन्। अनि घर लिप पोत गर्ने चोक तथा आँगन बढार्ने अनि बाटोघाटो सफा गर्ने चलन नेपालको दशैँ पर्वको अवशरमा हुने चलन हो। वसन्त चाडमा चीनमा आआफ्ना घर सफा गर्ने, नयाँ सामानहरू जोड्ने, मेलमिलाप गर्ने, घरै उज्यालो बनाउने, माच्याङ भन्ने खेल खेल्ने चलन छ। नेपालमा पनि दशैँ तिहारका अवशरमा जुवातास खेल्ने चलन पनि रहिआएको छ। पारिवारिक रुपमा पनि पैसाको लागि नभई रमाइलो र राम रहुसका लागि तास खेल्ने चलन रहेको दखिन्छ।रमाइलो गर्ने र यस वसन्त चाडको अवशरमा तास तथा माच्याङ खेल्ने चिनियाँहरूको चलन हो।

              वसन्त चाडको अवधिमा व्यापक रुपमा आतीशबाजी गर्ने र पटाका पड्काउने चलन रहेको छ। तर बटुवालाई असर नपर्ने हिसाबले ठूलो चोकमा तथा आफ्नै घर परिसरमा पटाका पड्काएर रमाइलो गर्ने चिनियाँहरूको चलन रहेको पनि मैले देखेको कुरा हो।

 

             हरेक देश र जनता अनि जाति र जनजातिहरूले आआफ्नै ढंगले नयाँवर्षलाई स्वागत गरिरहेका हुन्छन्।चिनियाँहरूका लागि वसन्त चाड भनेको नयाँवर्ष हो भन्न सकिन्छ।यो पर्ब चीनको परम्परागत पात्रोको आधारमा तय हुने गर्दछ।चीनमा छिङ र मिङ वंशकै पालादेखि यो वसन्त चाडलाई मनाइआएको देखिन्छ, तर त्यो समयमा अलिकति धनीमानी राजा महाराजाहरूले मात्र यो चाड मनाउने गर्थे रे तर आज आएर हरेक चिनियाँको मुटुको ढुकढुकीको रुपमा यो चाड रहेको छ।

              जसरी नेपालमा दशैँ पर्वको बारेमा किम्बदन्ती रहेको छ त्यसरी नै चीनको वसन्त चाडको बारेमा पनि किम्बदन्ती रहेको छ। दशैँ पर्व भगवान रामले रावणलाई वध गरेर विजय प्राप्त गरेको अवशरका रुपमा मनाउने चलन छ। देवी दुर्गाको बहादुरीको प्रसङ्ग पनि त्यत्तिकै जोडिएको छ यस पर्वसँग। त्यसरी नै चनियाँहरूले मनाउने वसन्त पर्वबारे पनि पुरानो कथा यथावत रहेको छ।

            किम्बदन्तीअनुसार भन्ने हो भने परापूर्ब कालमा चीनमा एउटा राक्षसले मानव बस्तीमा जनावर तथा पशु प‌क्षीको विनाश गर्न थाल्यो रे। दिनानुदिन त्यस पिशाचले बस्तीमा अनेक प्रकारका दुःखहरु पनि दिन थाल्यो रे।त्यो पिशाचको नाम नियान थियो रे। त्यसपछि बस्तीका मानिसहरूले त्यस नियानलाई खुसी पार्नका लागि घरको ढोकामा खानेकुरा आदि राखिदिने गर्न थालेछन्।त्यो खाना खाएर नियान निकै खुसी भएर गाउँले र पशुपंक्षीलाई पनि दुःख दिन छाडेछ।त्यही बेलादेखि नै यो चाडको सुरुआत भयो भन्ने भनाइ र जनश्रूति रहिआएको देखिन्छ।त्यसैले यस पर्वलाई को नियान भनेर सम्बोधन गरेको पनि पाइन्छ।

             त्यही पिशाच नियानको नामबाट नै आज यो चाड मनाउने गरिन्छ।नियानको अर्थ वर्ष हो चिनियाँ भाषामा । यही वसन्त चाडबाट नै चिनियाहरूको परम्परागत हिसाबले नयाँवर्ष प्रारम्भ हुने गर्दछ।सबै चिनियाँहरुको मुखबाट सिन नियान ख्वाय ल भन्ने आवाज सुन्न पाइन्छ यस अवहरमा ।सिन नियान ख्वाय ल भनेको चाहिँ नयाँ वर्षको शुभकामना छ भनेको हो।वसन्त चाडलाई चाहिँ चिनिया भाषामा छुन्चे भन्ने गरिन्छ। जसमा छुन थेनको अर्थ वसन्त ऋतु भन्ने हो। चे भनेको चाड वा पर्व हो ।

              मीठो खाने र राम्रो लगाउने मात्र नभई आपसमा अभिवादन साटासाट गर्ने ,सबैको उन्नति र प्रगतिको कामना गर्नेसमेतको उत्सब हो भनेर वसन्त चाडलाई चिनाउन सकिन्छ। चिनियाँ परम्परागत पात्रोअनुसारको नयाँवर्ष चीनमा उल्लासपूर्ण रुपमा आएको छ।यसपटक चीनमा राशीचक्रले हेर्दा खरायोवर्ष परेको छ। म सबै श्रोतामा यस पर्बको हार्दिक शुभकामना दिन चाहन्छु। आजको यो वसन्त चाडको कार्यक्रम यहाँलाई कस्तो लागेको छ?यसमा तपाईँका सुझाबले हाम्रो कार्यक्रम प्रस्तुतिलाई अझ राम्रो पार्न अवश्य सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह