फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना

(GMT+08:00) 2011-03-11 14:36:34

              रवि- श्रोताहरु, हामीले अगिल्लो हप्ताको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरेका थियौं । ध्रुवजी, अगिल्लो हप्ता चिनियाँ खानाको विषयमा कुराकानी गर्दागर्दै पैचिङ्ग डायरीको निर्धारित समय सकिएको थियो । आज त्यसैलाई निरन्तरता दिनुहुन्छ कि ?

             ध्रुव- हजुर रविजी । मैले अगल्लो हप्ताको कार्यकममा श्रोताहरुलाई चिनियाँ खानाको बारेमा आफूले सुनेका, देखेका र भोगेका कुराहरु सुनाइरहेको थिए । अगिल्लो हप्ताको कार्यक्रमको अन्त्यतिर मैले चिनियाँहरु खाना खानको लागि कहिल्यै हतारिएको देखिंदैनन् । उनीहरु आरामसँग रमाइलो मानी-मानी खाना खान्छन्, जसले गर्दा खाएको खाना पचाउन सजिलो हुन्छ भनेको थिएँ । नेपालीहरु विशेष गरी बिहानको खाना नखाने कारण के हो भने प्रायः सार्वजनिक कार्यालय र स्कुल बिहान दश बजे खुल्छ । अनि गाउँघरमा मेलापात वा जङ्गलमा घाँस दाउरा गर्न जाँदा पनि बिहान दश बजेतिर घरबाट निस्किने गरिन्छ । त्यसैले बिहानको खाना अधिकांश नेपालीहरुले बिहानको दश बजे अझै साढे नौ बजेअगाडि नै खानुपर्ने हुन्छ । स्कुल जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले पनि बिहानै खाना खानुपर्ने भएकोले घरका बाँकी सदस्यले पनि बिहानै खान्छन् । र, नेपालमा मैले प्रायः के देखेको छु भने बिहान कार्यालय अथवा स्कुल पुग्न ढिलो हुने ठानेर एकदमै हतार हतार गरेर खाना खाइन्छ । यसरी हतारपतार गरेर खाना खाँदा धेरै तातो हुने र त्यसले मुख र खाद्यनलीमा विभिन्न समस्या देखिन सक्ने चिकित्सकहरुले बताउँछन् । तातो खानाले पाचन ग्रन्थिबाट निस्कने प्रोटिनजन्य पदार्थको संरचना पनि बिगार्छ । जसले गर्दा प्रोटिनजन्य खाद्यपदार्थ पचाउन गाह्रो हुन्छ । चिकित्सकहरुका अनुसार यसरी बढी तातो खाना खाने मानिसको बानीले मानिसहरुको पेटमा ग्यास्ट्राइटिस, अल्सर र क्यान्सर हुने सम्भावना बढाउँछ । तातो खानाले मात्रै नभएर बिहान ढिलो खाने मानिसको पेटको अम्लियपना बढेर जान्छ । अम्लियपना बढ्दै गएपछि पनि ग्यास्ट्राइटिस, अल्सर र क्यान्सर हुने सम्भावना बढी हुने चिकिसकहरु बताउँछन् ।

             चीनमा भने बिहान आठ बजेअगाडि नै स्कुल र विश्वविद्यालय पुग्नुपर्ने हुन्छ । त्यसैगरी कर्मचारीहरु पनि बिहान आठदेखि नौ बजेभित्रै काममा पुग्नुपर्ने हुन्छ । त्यसैले चिनियाँहरु बिहानी खाना खाएर मात्रै स्कुल, विश्वविद्यालय र काममा जाने गर्छन् । बाँकी विश्वमा पनि यस्तै चलन छ रे भन्ने मैले सुनेको छु । यो स्वास्थ्यका दृष्टिकोणले पनि ज्यादै राम्रो बानी हो भन्ने चिकित्सकहरुको भनाइ रहेको मैले पाएको छु ।

             रविजी, यो त भयो चिनियाँहरु र नेपालीहरुले खाने बिहानी खानाको बानी र समयको बारेमा । अब म चिनियाँ खानाको परिकारमा पाइने विविधताको बारेमा बताउँछु ।

             रवि- श्रोताहरु,आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअघि तपाईंले चिनियाँहरुको खानाको परिकारमा पाइने विविधताको बारेमा कुराकानी गर्छु भन्दै हुनुहुन्थ्यो ।

             ध्रुव- हजुर रविजी । चिनियाँहरु प्रायः धेरै परिकार बनाउँछन् । चाहे घरमा पकाउने बेलामा होस वा होटल वा रेष्टुराँमा खाँदा होस् । खाना खाने टेबुल खानाको परिकारले भरिएको हुन्छ । हरेक पटकको खानामा मासु, हरियो सागसब्जी, अन्न, सुप हुन्छ । मैले सुनेअनुसार पाँच रङ्गका खाना खायो भने शरीरलाई चाहिने सबै प्रकारका अवयवहरु प्राप्त हुन्छ । जस्तो कि मासुको रङ्ग रातो हुन्छ । मूलाको रङ्ग सेतो हुन्छ । सागसब्जीको रङ्ग हरियो हुन्छ । भन्टाको रङ्ग बैजनी हुन्छ । भातको रङ्ग सेतो हुन्छ । मकैको रङ्ग पहेँलो हुन्छ । प्याजको रङ्ग प्याजी हुन्छ । च्याउको रङ्ग खैरो हुन्छ । पाकेको फर्सीको रङ्ग पहेलो हुन्छ । धेरै खानेकुराका रङ्गहरु भिन्दाभिन्दै हुन्छन् । यसरी विभिन्न रङ्गका खानामा फरकफरक प्रकारका अवयवहरु पाइन्छन् । त्यसैले एकै छाकमा विभिन्न परिकार अथवा विभिन्न रङ्गका खाना खाँदा शरीरलाई चाहिने क्याल्सियम, भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, लवणलगायत हरेक प्रकारका तत्त्वहरु सन्तुलितरुपमा पुग्ने गर्दछ । यसर्थ चिनियाँ खानामा कम्तिमा पाँच रङ्ग हुनुपर्छ भन्ने भनाइ वैज्ञानिक छ र स्वास्थ्यका दृष्टिकोणले पनि ज्यादै महत्तवपूर्ण छ भन्ने मलाई लाग्छ ।

             रविजी, नेपालमा भने धेरै मानिसहरु सकेसम्म बढी भात खाने गर्छन् । भात भन्नुको मतलब नेपालीहरुको खानामा अन्नको मात्रा धेरै हुन्छ । भात खाने मात्रै नभएर मकैको आँटो र फापर अनि गहुँको ढिँडो खाने मानिसहरुले पनि अन्नको मात्रा धेरै खाने गर्छन् भने खानामा तरकारी र सागसब्जीको मात्रा तुलनात्मकहरुपमा कम हुन्छ । मैले पैचिङ्गको मात्रै कुरा गरेको होइन कि चीनका हरेक प्रान्त, सहर, विशेष प्रशासनिक क्षेत्रमा पनि मैले यस्तै विविधता देखेको छु ।

              तर ¬¬नेपालीहरु प्रायः धेरै भात खाने र तरकारीको परिकार कम खाने गर्छन् । नेपाली खाना के हो भनेर सोध्यो भने पनि दाल भात तरकारी भन्ने गरिन्छ । एउटा तरकारी, एउटा दाल र एउटा भात हुने हो भने सामान्य नेपालीले खाने खाना पूर्ण भएको मानिन्छ । तरकारी थोरै हुने भएकोले भात अथवा अन्नको मात्रा धेरै खाने गरिन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह