फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र पानी- 1

(GMT+08:00) 2011-05-13 14:38:59

           रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ता चिनियाँ खानामा विभिन्न परिकार हुन्छ भन्ने विषयमा कुराकानी गर्दागर्दै पैचिङ्ग डायरीको निर्धारित समय सकिएको थियो ।

           ध्रुव- हजुर रविजी । मैले चिनियाँ र नेपाली खाना र खानाखाने शैलीमा पाइने भिन्नताको विषयमा कुरा गरिरहेको थिएँ । मैले चिनियाँ खाना खान थालेको कम्तिमा पनि दश वर्ष भयो । सन् २०००मा हाम्रो नेपाली विभागको २५औं वार्षिकोत्सव मनाउनका लागि पैचिङ्गमा आयोजित विशेष कार्यक्रममा सहभागिता जनाउनका लागि म पहिलो पटक चीन आएको थिएँ । र, मलाई याद भएसम्म त्यसैबेला मैले पहिलो पटक चिनियाँ खाना खाएको हुँ । त्यसबेला म र मित्र राजेन्द्र पहाडी सँगै पैचिङ्ग आएका थियौं । ल्हासाबाट छन्तुहुँदै पैचिङ्ग आइपुग्दा साँझ परिसकेको थियो । हामीले होटलमा सामान राख्नेबित्तिकै खान खानका लागि होटलबाहिरको रेष्टुराँमा गयौं । पैचिङ्ग आउनुभन्दा पहिला नै कुशुम दिदी र सुहाओ दाइसँग काठमाडौंमा राम्रोसँग चिनजान भएकाले धेरै राहतको अनुभव पनि गरेको थिएँ । खाना खान टेबुलमा बसेपछि एकपछि अर्को गर्दै टेबलमा धेरै खाना ल्याइयो । हामीलाई पैचिङ्ग पुग्नुअघि ल्हासामा एक रात बास बस्दा खाना रोज्न गाह्रो परेको थियो । तर पैचिङ्गमा सबै खाना हामीलाई मीठो लाग्यो । वास्तवमा हाम्रो खाना र खाने बानीको बारेमा कुशुम दिदी र सुहाओ दाइ दुबैजना अभ्यस्त हुनुहुँदो रहेछ । नुनिलो खानेकुरा बढी अर्डर गरिएको थियो ।

           तर हामीले खाना खाने टेबुलमा चिसो पानी राखिएको थिएन । खानासँगै पानी पनि पिउने मेरो बानी थियो । कति धेरै दुःख दिनु भनेर मलाई केही भन्न मन लागेन । "मलाई चिसो पानी खान मन लागेको छ" भनेर भन्न पनि धेरै गाह्रो भयो । खाना खाएर सकिने बेलामा मलाई अत्ति नै भयो र पानी पिउन मन लागेको सुहाउ दाइलाई बताएँ । त्यसपछि चिनियाँमा उहाँले पानी मगाइदिनुभयो । तर केही समयपछि टेबुलमा तातो पानीको गिलास आयो । अब भने मलाई झन फर्साद पर्यो । अघिदेखि नै चिसो पानी पिउन मन लागिरहेको थियो । तर तातो पानी पिउन पनि सकिनँ । त्यसको भोलिपल्ट चाहिँ मैले सुहाओ दाइलाई खानासँगै सुरुमै चिसो पानी पनि मगाउन अनुरोध गरेँ । त्यसपछि भने मलाई केही समस्या परेन । तर मैले के याद गरेँ भने हामी जहाँ र जतिबेला खाना खान गएपनि चिसो पानी हाम्रो टेबुलमा मात्रै देखिन्थ्यो । चीनको १६ दिनको बसाइमा चिनियाँहरु खानासँग चिसो पानी पिउदैनन् भन्ने कुरा मलाई निश्चित भयो ।

           रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअघि अधिकांश चिनियाँहरु खानासँगै चिसो पानी पिउँदैनन भन्ने बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

           ध्रुव- हजुर रविजी । वास्तवमा धेरै नेपालीहरुले खाना खाँदा खानासँगै अथवा खाना खानेबित्तिकै चिसो पानी पिउने गर्छन् । त्यसैले नेपालमा घरमा खाना खाँदा होस् अथवा रेष्टुराँमा खाना खादा होस्, सबै खाना खान पाकेपछि र खानेमान्छे तयार भएर बसेपछि टेबुलमा पहिला पानी ल्याइन्छ ।

           म चीनका धेरै ठाउँमा घुम्दाखेरी पनि अधिकांश ठाउँमा खानेखाने टेबुलमा चिसो पानी राखेको मैले पाएको छैन । यसरी चीनभरि पाहुना भएर जाँदा चिसो पानी मगाउने काम मलाई त्यति राम्रो लागेन । त्यसैले पानी मगाउनुभन्दा खाना खादाँ पानी नपिउने बानी बसाल्न प्रयास गरेँ । मलाई खाना खाने बेलामा पानी नपिउने बानी बसाल्नको लागि ज्यादै कठिन भयो । यस्तो बानी बसाल्न मेरो विचारमा करिब एक वर्षजतिको समय नै लाग्यो । तर करिबकरिब एक वर्षमा मैले त्यो बानी चटक्कै छोडेँ ।

           रविजी, पैचिङ्ग आइसकेपछि पनि म चारपाँच पटक नेपाल गइसकेको छु । नेपाल जाँदा म कम्तिमा दुई महिना र बढीमा पाँच महिना बसेको छु । तर त्यसपछि नेपालमा रहदाँ पनि मैले खानासँग पानी खाने गरेको छैन ।

           त्यसको साथसाथै खानासँग चिसो पानी खाने नेपालीको बानी र खानासँग चिसो पानी नखाने चिनियाँको बानीको बारेमा राम्रोसँग जानकारी भएकोले मलाई चीनमा अरु नेपालीसँग रहदाँ अथवा नेपालमा चिनियाँ साथीहरुसँग रहदाँ यसको बारेमा बताउने गरेको छु । र, चीनको भ्रमणमा आउने नेपालीसँग सँगै खाना खान जाँदा नेपालीहरुका लागि मैले पहिलै नै चिसो पानी मगाइदिने गरेको छु । त्यसले गर्दा खाना खान बोलाउने चिनियाँ र पाहुनाको रुपमा गएका नेपाली दुबै पक्षलाई सजिलो भएको मेरो अनुभव छ ।

           रविजी, चिनियाँ भाषा बोल्नसक्ने थोरै नेपालहरुमध्ये पर्ने भएकोले नेपालमा रहदाँ मैले चिनियाँ मित्रहरुलाई घुमाउने काम गरेको पनि छु । प्रायः सबै चिनियाँहरुलाई कम्तिमा एकपटक नेपाली खाना खुवान लैजाने चलन छ । नेपाली खाना खान जाँदा रेष्टुराँ अथवा घरमा पनि सुरुमै टेबुलमा चिसो पिउने पानी राख्ने गरिन्छ । यसको बारेमा कुनै पनि चिनियाँ साथीले जिज्ञासा राखेको मैले पाएको छैन । तर चिसो पानी पिउने नेपालीको बानीको बारेमा मैले चिनियाँ मित्रहरुलाई जानकारी दिने गरेको छु र सँगसँगै तातो पानी अथवा चिया मगाइदिने गरेको छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह