फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र पानी-- 2

(GMT+08:00) 2011-05-20 14:42:28

          रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा खाना खाँदा चिसो पानी पिउने नेपालीहरुको बानी रहेको कुरा बताउनुभएको थियो । यसको बारेमा अरु केही भन्न बाँकी छ कि ?

          ध्रुव- हजुर रविजी । मैल अगिल्लो हप्ताको पैचिङ्ग डायरीमा खाना नेपालीहरुको खानाखाने टेबुलमा पहिले नै चिसो राखिन्छ र खाना खाँदा अथवा खानेबित्तिकै चिसो पानी पिउने गरिन्छ । तर चीनमा खाना खाँदा चिसो पानी पिइँदैन भनेर भनेको थिएँ । यसै विषयमा आजको कार्यक्रममा अलि बिस्तारमा कुरा गर्ने विचार गरेको छु ।

          रविजी, चीनमा खानासँग प्रायः चिसो पानी नपिउने भए तापनि खाना खादाँ कतैकतै तातो पानी वा चिनियाँ चिया पिएको मैले देखेको छु । अझ विशेष गरेर नेपाली खानामा दाल समावेश गरेजस्तै चिनियाँ खानामा सुप पनि राख्ने चलन छ । चिनियाँ खानामा सुप मात्रै नभएर सुपसँगै कम्तिमा एउटा चिसो खाना, एउटा मासु, एउटा माछा, एउटा सागसब्जी, एउटा मुख्य खानाको परिकार राख्ने गरिन्छ । नेपाली खाना खाने बेलामा अधिकांश खाना पहिले नै टेबुलमा ल्याइन्छ । अझ दाल, भात, मासु, तरकारी, सबै कुरा एकैचोटी ल्याइन्छ । प्रायः सबै सागसब्जी र तरकारी भातसँग मुछेर खाने गरिन्छ । तर चिनियाँ खाना खाँदा पहिला चिसो खाना ल्याइन्छ र जुन चाहिँ पहिलेदेखि नै तयार गरेर राखिएको हुन्छ । यो चिसो खाना खाँदै गर्दा बल्ल अरु खाना पालैपालो राख्ने गरिन्छ । र, यसै क्रममा सागसब्जी, मासु, माछा क्रमशः ल्याइन्छ । त्यसपछि मात्रै मुख्य खाना राखिन्छ । मुख्य खानामा भात मात्रै नभएर रोटी, पानीमा उमालिएका र बाफमा पकाइएका मम एवम् चाउचाउमध्ये एउटा खाना राख्ने गरिन्छ । यसरी भात वा अन्य मुख्य खाना ल्याउँदा भने अरु खानेकुरा करिब करिब खाइसकिएको हुन्छ । मुख्य खाना राखिएपछि बल्ल सुप राख्ने गरिन्छ । कुनै झोल भएको तरकारी अर्डर भइसकेको छ भने सुप अर्डर नगर्न पनि सक्छिन्छ । सबै खाना खाइसकेपछि टेबुलमा बल्ल फलफूल राखिन्छ । मुख्य खाना आइसकेपछि अरु तरकारी आउँदैन भन्ने बुझिन्छ भने फलफूल राखिएपछि भने अब अर्डरका सबै खाना सकिए भनेर सजिलै बुझ्न सकिन्छ ।

          रविजी, पानीको कुरा गर्दागर्दै प्रशङ्ग अर्कैतिर मोडिएछ । वास्तवमा खाना खाँदा पानी नखाए तापनि खानामा सबै परिकार मिलाइएकोले शरीरलाई पानीको मात्रा त्यहीबाट पूरा हुन्छ भन्ने चिनियाँहरुको मान्यता राखेको पाइन्छ । अर्को कुरा धेरै चिनियाँहरुले सादा चिया पिउने गर्छन् । अधिकांश कार्यालय, स्कुल, क्याम्पस र विश्वविद्यालयमा २४सै घन्टा उम्लिरहेको पानीको व्यवस्था गरिएको हुन्छ र आफ्नो खुशी र इच्छाअनुसार आफ्नो गिलास, थर्मस वा बोत्तमा भर्न पाइन्छ । त्यसैले अधिकांश चिनियाँहरुको साथमा एउटा कप, गिलास, बोत्तल अथवा बोकेर हिँड्न मिल्नेखालेको सानो थर्मस हुन्छ । अनि जहाँ चाह्यो त्यही उम्लिरहेको पानी भर्न पाइन्छ । दिनभरि अथवा अधिकांश समय पात वा फूलको चिया पिइरहने भएकोले पनि हुनसक्छ चिनियाँ खाना खाने बेलामा चिसो पानीको आवश्यकता महसुस नभएको ।

          रवि- श्रोताहरु आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअघि अधिकांश चिनियाँहरु खानासँगै चिसो पानी पिउँदैनन भन्ने बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

           ध्रुव- हजुर रविजी । मैले यो छोटो सन्देशभन्दाअगाडि सुपको कुरा गरेको थिएँ । मलाई अहिले याद भयो । पश्चिमी मुलुकको खानामा सुप र सलाद सबैभन्दा सुरुमा लिने गरेको पाइन्छ तर चीनमा भने खानाको पछिल्तिर सुप खाने चलन छ । म चीनको दक्षिणी भागतिर जस्तो कि क्वाङ्ग्चौ, युननान, हाइनान, कुइचौलगायतका प्रान्तहरुको यात्रामा जाँदा त्यहाँ अन्य परिकार ल्याउनुभन्दाअगाडि नै सुप ल्याएको पाएँ जुन पश्चिमी चलनसँग मिल्छ । तर उत्तरतिर भने खाना खाइसकेपछि अन्त्यतिर बल्ल सुप ल्याउने चलन छ । मलाई के लाग्यो भने दक्षिणी भागको मौसम तुलनात्मकरुपमा उत्तरतिरको भन्दा न्यानो छ । र, उत्तरतिर तुलनात्मकरुपमा चिसो हुन्छ । दक्षिणतिर गर्मी हुने भएकोले तिर्खा पनि लागिरहेको हुन्छ र शरीरमा पानीको मात्रा पनि कम भइरहेको हुन्छ । त्यसैले खाना खाने बेलामा सुरुमै सुप खाने र पछि मात्रै अरु खानेकुरा खाने गरेको हुनसक्छ । तर उत्तरमा भने मौसम चिसो हुने भएकोले टेबुलमा राखिएको खाना खाँदाखाँदै चिसो हुन्छ । मासु र मासुजन्य खानामा भएको चिल्लो पदार्थलाई पचाउन सहयोग पुग्ने किसिमले खाना खाँदा सबैभन्दा पछि सुप खाने गरिएको हो कि भन्ने मलाई लाग्छ । यो मेरो व्यक्तिगत सोच मात्रै हो । तर सुपले पानीको आवश्यकतालाई पनि पूर्ति गर्छ भन्ने कुरामा त कसैको दुई मत नहोला ।

           रविजी, धेरै नेपालीले खानासँग पानी पिउने विषयमा मैले नेपाली चिकित्सकहरुसँग अनौपचारिकरुपमा छलफल गरेको पनि थिएँ । उहाँहरुले चिनियाँहरुको खानासँग पानी नखाने चलन एकदमै राम्रो भएको खाना खानुभन्दा एक घण्टाअगाडि र एक घण्टापछाडि पानी सकेसम्म नपिउनका लागि सल्लाह दिनुभएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह