फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिन्च्याङ् खाना

(GMT+08:00) 2011-06-03 14:47:26

            रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा चीनको सिन्च्याङ्ग प्रान्तका मानिसहरुले मन पराउने सेकुवाको बारेमा बताउनुभएको थियो । त्यसको बारेमा बताउनुपर्ने अरु केही कुरा बाँकी छन् कि ?

            ध्रुव- रविजी । मैले अगिल्लो हप्ताको कार्यक्रममा चीनको सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशका अधिकांश मानिसहरुले खसीको अथवा भेडाको मासुको सेकुवा खान मनपराउँछन र पैचिङ्गमा सिन्च्याङ्ग प्रान्तको विशेषतायुक्त सेकुवाघर पनि गल्लीगल्लीमा भेटिन्छ भनेर भनेको थिएँ । सेकुवाकै बारेमा बताउनुपर्ने त केही छैन जस्तो लाग्छ । तर आजको कार्यक्रमको सुरुमा यही सिन्च्याङ्ग प्रान्तको खानाको बारेमा केही जानकारी दिउँ भन्ने लागेको छ रविजी ।

            चीनको सिन्च्याङ्ग प्रान्तको खानाको स्वाद नेपाली खानाको स्वादसँग केही मात्रामा मिल्छ । भन्नुको मतलब सिन्च्याङ्ग प्रान्तीय खाना प्रायः नुनिलो हुन्छ । त्यसैगरी सिन्च्याङ्ग प्रान्तको तरकारीमा जिरा, टिमुर, खुर्सानी, बेसारलगायका मसला प्रयोग गरिएको हुन्छ । त्यसैले पनि अरु प्रान्तको खानाको तुलनामा सिन्च्याङ्ग प्रान्तको खाना नेपाली स्वादसँग मिल्दोजुल्दो हुन्छ । पैचिङमा अध्ययन गर्ने धेरै नेपाली साथीहरुले खाना पकाउनुहुन्न । म र मेरी श्रीमती पैचिङ्गमा रहदाँ कहिलकाहिँ नेपाली खाना पकाउने गर्थ्यौं । तर दुबैजनाको पढाइ भएको बेलामा र अलि ब्यस्त भएको बेलामा नेपाली खाना खान मन लाग्यो भने हामी सिन्च्याङ्ग खाना खान जान्थ्यौं । अनि जमघाटको बेलामा पनि नेपाली साथीहरुको पहिलो रोजाइ सिन्च्याङ्ग रेष्टुराँ नै हुन्छ । वास्तवमा सिन्चाङ्ग रेष्टुराँमा गएर हामी मुख्यरुपमा खाने ताफान ची, जीरान याङ्गरो, लाचची, याङ्गरो छुवार, नाङ्गलगायतका खाना हुन् । ताफानची खाना कुखुराको मासु, आलु, भेडेँ खुर्सानी, प्याज हालेर नेपाली तरकारीजस्तै गरि पकाइन्छ । तुलनात्मकरुपमा ठूलो भाँडोमा कुखुराको मासु मिसाइएको तरकारी हुनाले ताफान ची भनिएको हुनुपर्छ । जीरान याङ्गरो भनेको जीरा र तील राखेर तेलमा भुटेको भेडाको मासु हो । त्यसैगरी याङ्गरो छुवार भनेको झीरमा उनेर सेकेको भेडाको मासुको परिकार हो । यी सबै परिकार जीरा हालेर पकाइएको हुनाले नेपाली स्वादको खानाजस्तो लाग्छ ।

           रविजी, मलाई एउटा कुराको याद आयो । सायद दुई वर्षअगाडि जस्तो लाग्छ । त्यसबेलाको अङ्ग्रेजी नयाँवर्ष मनाउने सन्दर्भमा डिसेम्बर एकतीस तारिकको साँझ हामी करिब १२जना नेपालीहरु पैचिङ्गको सबैभन्दा ठूलो र महँगो सिन्च्याङ्ग रेष्टुराँमा खाना खाने र रमाइलो गर्ने हिसाबले गएका थियौं । धेरै दिनसम्म चिनियाँ खाना लगायताररुपमा खाएकोले खसीको मासु खान मन लागिरहेको थियो । साथीहरुले यसैअनुसार योजना पनि बनाउनुभयो । र, हामी खाना खान गयौं । वेटरले हामीलाई पोलेको खसी सिङ्गै ल्याऊ कि काटेर टुक्रा पारेर ल्याऊ भन्यो । मलाई सिङ्गै पोलेको खसी हेर्न मन पनि लागेको थियो । हामीले सबैले सिङ्गै ल्याउन भन्यौं । आन्द्राभुँडी निकालेर छाला तारेर खसी त सिङ्गै पोलिएको रहेछ । आन्द्राभुँडी र छालाबाहेक टाउकोसमेत राखेर सिङ्गै खसी हाम्रो टेबुलमा राखियो । त्यो खसी खाएर सक्न हामीलाई झन्डै चारपाँच घन्टा नै लागेको थियो । वास्तवमा नयाँ वर्ष मनाउने तरिकाप्रति मेरो त्यस्तो कुनै लगाव छैन र त्यसमाथि पनि अङ्ग्रेजी नयाँ वर्ष । तर साथीहरुसँगको जमघाटको महत्व नै बढी लागेको थियो । त्यो सिन्च्याङ्ग प्रान्तको खाना र सिङ्गै पोलेको खसी खाएको त्यो झण वास्तवमा मैले कहिले पनि बिर्सन सक्तिनँ पनि होला ।

           रवि- श्रोताहरु आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअघि सिन्च्याङ्ग खाना बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

           ध्रुव- हजुर रविजी । यो छोटो सन्देसअगाडि मैले सिन्च्याङ्ग रेष्टुराँ र त्यहाँको खाना नेपाली स्वादको जस्तो लाग्ने भनेर कुराकानी गरिरहेको थिएँ । र, सेकुवाको बारेमा कुरा गर्दा मलाई मेरो विश्वविद्यालयको पूर्वी गेट र पश्चिम गेटको रात्रीजीवनको याद आयो । सिन्च्याङ्ग रेष्टुराँमा पाइने भेडाको सेकुवा साँझ र रातमा कतैकतै पदमार्गमा पनि बसेर खान पाइन्छ पैचिङ्गमा । मेरो विश्वविद्यायको पूर्वी र पश्चिम ढोका नजिक रातको एघार बजेपछि यस्तो सेकुवाजन्य खानेकुरा बेच्ने र खानेको ठूलो भीड नै लाग्छ । यो भीड अहिलेको जस्तो जाडो याममा भने अलि कम हुन्छ नत्र यो डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनाबाहेक अरु महिनामा पूरै देखिन्छ । सेकुवाका पनि विभिन्न परिकार तयार पारिन्छन । खसीको रातो मासुको सेकुवाबाहेक कुखुराको साप्रो, कुखुराको छाती, घेक्रो, विभिन्न सागसब्जीलाई तोफुमा बेरेर तयार पारिएको एक प्रकारको परिकार, पाउरोटी, सामुद्रिक खाना, आलु, हरियो सागसब्जी आदि पनि तातोमा सेकेर तयार गरिन्छ । यस्ता सेकुवामा विशेष गरेर नुन, जिरालगायत अन्य मसलाको पनि प्रयोग गरिन्छ ।

           रविजी, चीनमा विशेष गरेर अधिकांश चिनियाँ विद्यार्थीहरुले साँझ छ बजेअगाडि नै साँझको खाना खाने भएकोले राति अबेलासम्म पढेर बसेका विद्यार्थीहरुलाई रातको ११ वा १२ बजेपछि भोक लाग्नु स्वभाविकै हो । त्यही भोक मेटाउनका लागि र पढ्दापढ्दै हुने दिग्दारीबाट मुक्ति लिनका लागि र अझ रातको समयको सफा हावामा घुम्नका लागि विद्यार्थीहरु यसरी मुख्य कम्पाउन्डबाहिरका यस्ता फुटपाथमा राखिने घुम्ति सेकुवा पसलमा सेकिएका मासु, सागसब्जी र पाउरोटीजन्य खानेकुरा खाने गर्छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह