फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र आठ परिकार

(GMT+08:00) 2011-06-10 14:50:14

          रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा चीनको सिन्च्याङ्ग प्रान्तको विशेषतायुक्त खानाको बारेमा बताउनुभएको थियो । आजको कार्यक्रममा पनि चिनियाँ खानाको बारेमा कुरा गर्ने विचार गर्नुभएको छ कि ?

          ध्रुव- रविजी, मैले केही हप्ताअगाडिदेखिका कार्यक्रममा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेको छु । विशेष गरेर चिनियाँ खाना विश्वप्रसिद्ध मानिनुमा धेरै कारण छन् । यसैक्रममा चिनियाँ खानाको सभ्यता, इतिहास र संस्कृतिसमेतको सबै कुरा खोतल्ने हो भने त निकै गहनरुपमा अध्ययन गर्नुपर्ने हुन्छ र छोटो रुपमा भन्न पनि निकै कठिन हुन्छ। किनभने चीन अत्यन्त ठूलो क्षेत्रफल भएको मुलुक हो जुन नेपालभन्दा ६५ गुनाले ठूलो छ । यहाँको जनसंख्या एक अर्ब तीस करोडभन्दा बढी नै रहेको छ । यत्रो विशाल देशको मुख्यभूमिमा मात्र छपन्न प्रकारका जनजातिहरू बसोबास गर्दछन् । ती हरेकको खानाखाने सभ्यता पनि फरकफरक रहेको छ । छपन्न अल्पसंख्यक जातिबाहेक यहाँ रहेको मूल जातिले पनि परम्परादेखि नै सयौँ प्रकारका खानामा रम्दै आएको कुरा मैले सुनेको र पढेको छु । यसरी विभिन्न क्षेत्रमा विभिन्न र छुट्टाछुट्टै प्रकारका खानाहरू तयार गरिन्छन् अनि जात र ठाउँ विशेषअनुसार खानाको सभ्यतालाई कायम राख्तैआएको पाइन्छ ।

          दश वर्षअगाडि म पहिलोपटक चीनको यात्रामा आउँदाखेरी जम्मा १६ दिन चीनमा बिताएको थिएँ । यो छोटो अवधिमा हरेक दिन अझ भनौं हरेक छाकमा भिन्नाभिन्नै परिकार खाएका थियौं । त्यसबेला पनि चिनियाँहरुको खानामा विविधता पाइन्छ भनेर मैले सुनेको र केही मात्रामा आफ्नै आँखाले पहिलोपटक देखेको थिएँ । हामीलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागबाट निवृत्त हुनुभएका पत्रकार दाजु सुहाउले घुमाउने जिम्मेवारी लिनुभएको थियो । मैले चिनियाँ खानाको परिकार धेरै हुने कुरा बताएपछि उहाँले एउटा मात्रै उदाहरण दिएर के भन्नुभयो भने चीनमा भटमासबाट बन्ने तोफुको मात्रै २ सयभन्दा बढी परिकार पाइन्छ । एउटै तोफुलाई विभिन्न जातका र विभिन्न ठाउँका मानिसहरुले विभिन्न तरिका र फरकफरक मसला हालेर पकाउछन् । मैले यहाँ देख्ताखेरी पानीमा हुने लेउ, झ्याउदेखि कमलको जरा, फलफूल र तरकारीको बियाँसमेत चिनियाँहरुको खानामा पाइन्छ । म अध्यननको शिलशिलामा पैचिङ्ग आउने निश्चित भएपछि पैचिङ्गबाट पनि स्वास्थ्यसम्बन्धी लेख पठाउनका लागि काठमाडौंबाट प्रकाशित हुने साधना हेल्थ मासिकका सम्पादक लक्ष्मण अधिकारी र उपसम्पादक रोहिणी घिमिरेले सुझाव दिनुभएको थियो । त्यसभन्दाअगाडि कामना प्रकाशन समूह प्रालिबाट प्रकाशित हुने साधना हेल्थ मासिकका लागि संवाददाताको रुपमा मैले पनि तीनचार वर्ष काम गरेको थिएँ । त्यसैले उहाँहरुले त्यस्तो सुझाव दिनुभएको थियो । अझ सम्पादकले त सुरुमै विश्वप्रसिद्ध चिनियाँ खानाको बारेमा एउटा लेख्नका लागि भन्नुभएकोले चार वर्षअगाडि पैचिङ्ग आइपुग्ने बित्तिकै नै मैले चिनियाँ खाना र स्वास्थ्यको विषयमा एउटा लेख लेखेको थिएँ । त्यो लेख लेख्ने क्रममा मैले बेइजिङस्थित नेपाली राजदूतावासमा मिनिस्टर काउन्सिलर भई काम गर्नुभएका पूर्व नेपाली राजदूत निरञ्जन भट्टराईसित कुराकानी पनि गरेको थिएँ । उहाँको केही महिनाअगाडि निधन भएको छ । उहाँले मसँगको कुराकानीको क्रममा चिनियाँ खानाको विविधताबारे स्पष्ट पार्दै- 'चिनियाँहरु उड्नेमा जहाज, चार खुट्टेमा खाट र पानीमा हुने डुङ्गाबाहेक सबै चीज खान्छन्,' भन्नुभएको थियो । उहाँ यस धर्तीमा अहिले हुनुहुन्न । तर चिनियाँ खानाको विविधताको विषयमा कुरा गर्दा म उहाँलाई र उहाँको यो भनाइ सम्झिने गर्छु ।

          रवि- ध्रुवजी, हामी पैचिङ्ग डायरीको करिबकरिब मध्यतिर आएका छौं । त्यसैले एउटा सन्देश राख्ने बेला भएको छ । यो छोटो सन्देशपछि तपाईंले आफ्ना कुराहरुलाई निरन्तरता दिनुहोला ।

          रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअघि चिनियाँ खानाको विविधताको बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

          ध्रुव हजुर रविजी । यो छोटो सन्देसअगाडि मैले चिनियाँ खानाको विविधताको बारेमा कुरा गरिरहेको थिएँ । वास्तवमा चिनियाँ खानाको विविधताको कुरा गर्दा चिनियाँ खाना पकाउने कलाले पनि संसारमा नाम कमाएको छ । मैल विभिन्न किताब र लेखहरु पढ्दा पाएको जानकारीअनुसार चिनियाँ खानामा दश हजारभन्दा बढी परिकार छन् । त्यसको साथसाथै लामो ऐतिहासिक विकासका क्रममा चीनका विभिन्न ठाउँमा क्रमशः आ-आफ्नो स्थानीय विशेषतायुक्त सेटयुक्त परिकार तयार पार्न थालिएको छ । तीमध्ये पनि "चीनका आठ पाक-प्रणाली" सबै चिनियाँको मुखमा झुन्डिएको मैले पाएको छु । ती आठ पाक-प्रणालीमा सानतोङ परिकार, स छ्वान परिकार, क्वाङ तोङ अथवा क्यान्टोनिज परिकार, च्याङ्सु परिकार, च च्याङ परिकार, फु च्यान परिकार, हु नान परिकार र आन हुई परिकार पर्दछन् । विभिन्न स्थानीय खानाका स्वाद पनि विविध नै छन् । जस्तो उदाहरणका लागि छ्वान छाइ भनेर चिनिने स छ्वान खानाको परिकार मसलादार र पिरो हुन्छ । चाहे हरियो सागसब्जी खानुस्, चाहे माछामासु अधिकांश परिकार पिरो हुन्छ । त्यसैगरी च्याङ सु परिकार केही गुलियो हुन्छ । गुलियो मसला प्रयोग गरेर बनाइएका माछा, मासु र तोफुसमेत गुलियो हुन्छ । त्यसैगरी क्वान्तोङ् खाना अथवा क्यान्टोनिज खानामा अलि कुरुम कुरुम हुने हलुका खालका परिकार हुन्छन् । यद्यपि, क्वान्तोङ्ग खाना तुलनात्मकरुपमा त्यति चिल्लो चाहिँ हुँदैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह