फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र आतिथ्यता

(GMT+08:00) 2011-07-01 15:39:59

            रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले तपाईंको विश्वविद्यालयको क्यान्टिनको बारेमा कुराकानी गर्नुभएको थियो । आज चाहिँ कुन विषयबाट कार्यक्रम अगाडि बढाउने विचार गर्नुभएको छ तपाईंले ?

           ध्रुव- रविजी । अगिल्लो हप्ताको कार्यक्रममा चिनियाँ खानाको बारेमा जानकारी दिने क्रममा मैले म अध्ययन गरिरहेको रनमिन विश्वविद्यालयको क्यान्टिनको बारेमा कुराकानी गरेको थिएँ । हाम्रा नेपाली साथीहरुलाई विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक दिनको पढाइ सकिएपछि घर गएर किन खाना खाँदैनन् भन्न लाग्न सक्छ होला । किन भने नेपालमा चाहे स्कुल जाने विद्यार्थी हुन् अथवा क्याम्पस पढ्न जाने विद्यार्थी, सबैले पढ्न जानुअघि आफ्नो घर वा कोठामा खाना खाएर जान्छन् भनेर पढाइ सकेर फर्किएपछि पनि सीधै घरमा आएर घरमै पकाइएको खाना खाने गर्छन् । तर पैचिङ्गका सबै विश्वविद्यालयका करिबकरिब पूरै विद्यार्थीहरुले क्यान्टिनमा नै खाना खान्छन् । रनमिन विश्वविद्यायलयमा चीन सबै प्रान्त, सहर, स्वायत्तप्रदेश, विशेष प्रशासनिक क्षेत्रका विद्यार्थीहरुले पढ्छन् । तर पैचिङ्गकै स्थानीय विद्यार्थीहरु पनि पढाइ भइन्जेल छात्राबासमा नै बस्ने र विश्वविद्यालयकै क्यान्टिनमा खाने गर्छन् । जसले गर्दा उनीहरुले खाना खानको लागि घर जानआउन खर्च हुने समय पनि पढाइमा लगाउन सकेका छन् । र, नेपालमा जस्तो चाडपर्व र विदा पनि धेरै हुँदैन चीनमा । त्यसैले एउटा शैक्षिकसत्रको पढाइ सुरु भएपछि लगातार चार महिनासम्म पढाइ हुन्छ र हरेक वर्षको जाडोविदा वा गर्मीविदाको अगाडि परीक्षा सकिन्छ । परीक्षापछिको करिब दुई महिनाको विदामा बल्ल उनीहरु आआफ्नो घरतिर जाने गर्छन् ।

          विद्यार्थी जीवनबाट अलिकति बाहिर निस्कने हो भने चाडपर्वमा, विदाको दिनमा, जन्मोत्सव, विवाहउत्सव हुँदा वा सामान्य दिनमा नाता-कुटुम्बहरु र साथीहरुबीच जमघट हुँदा सधैं नै होटेल वा रेष्टुराँमा खाना खान जाने चलन चीनको जुनसुकै भागमा छ । अधिकांश चिनियाँ रेष्टुराँमा प्रायः गोलाकार टेबुल राखिन्छ र त्यसको वरिपरि कुर्चीहरु राखिन्छन् । सामान्यतयाः दशजनासम्मले एउटै टेबुलको प्रयोग गर्न सक्छन् । गोलो टेबुलमा कुमालेको चक्रजस्तो घुमाउन मिल्ने गरी सिसा राखिएको हुन्छ । त्यही सिसामाथि खाना राखेपछि त्यसलाई घुमाउँदै आफूलाई खान मन लागेको खाना लिन सकिन्छ । यसरी खाना खान चिनियाँ साथीहरुले बोलाउँदा मलाई जहिलेपनि कुनातिर भन्नुको मतलब ढोकाबाट सबैभन्दा टाढाको कुर्चीमा राख्नुहुन्थ्यो । सुरुसुरुमा त मैले याद गरिनँ तर सधैँ यस्तो भएपछि मलाई त्यसबारे जान्न पनि मन लाग्यो । केही समयपछि मैले ढोका नजिकै बस्छु भने । तर साथीहरुले मान्नुभएन । तपाईं हाम्रो अतिथि भित्र बस्नुहोस भनेर अनुरोध गर्नुभयो । पछि मैले यो कुरा गुरुसँग सोधेँ । वास्तवमा पाहुनालाई खाना खान बोलाउँदा मुख्य अतिथी अथवा सबैभन्दा महत्त्पूर्ण व्यक्तिलाई घरको मुलीसँग सबैभन्दा कुनामा बसाल्ने चलन छ । अनि त्यसपछि क्रमशः कम महत्वपूर्ण व्यक्तिहरु क्रमशः ढोका नजिकतिर बस्ने गर्छने । तर नेपालमा मैले यस्तो चलन देखेको छैन । अरु धेरै देशका मित्रहरुले पनि उहाँहरुको देशमा यस्तो चलन नभएको बताउनुभएको थियो ।

           रवि- ध्रुवजी, अब एउटा सन्देश राख्ने बेला भएको छ । पहिला एउटा छोटो सन्देश राखौं ।

           ध्रुव- हुन्छ रविजी ।

           सन्देश

           रवि- श्रोताहरु, यो सन्देशपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअगाडि ध्रुवजीले खाना खान बोलाउँदा चीनमा अतिथिलाई सबैभन्दा कुनामा राखिन्छ भन्दै हुनुहुन्थ्यो ।

           ध्रुव- हजुर रविजी । यो छोटो सन्देशअगाडि मैले अतिथी वा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिलाई कुनामा राखिन्छ भनेको थिएँ । वास्तवमा कुनै कार्यालयका कर्मचारी अथवा सरकारी अधिकारीहरु पनि सँगै खाना खान जाँदा मर्यदाक्रममा सबैभन्दा विशिष्ट ब्यक्तिलाई सबैभन्दा कुनाको कुर्ची राखिएको हुन्छ । त्यसपछि मर्यादाक्रमअनुसार कम महत्वपूर्ण व्यक्तिलाई बसालिन्छ । र ढोकाको नजिक सबैभन्दा कनिष्ठ व्यक्ति बस्छन् । यदि कुनै अधिकारीले अथवा व्यापारिक प्रतिष्ठानका प्रमुखले खाना खान बोलाएको अवस्थामा पनि मुख्य अतिथी र प्रमुख व्यक्ति कुनामा सँगै बस्छन् भने निमन्त्रणा गर्ने संस्था वा प्रतिष्ठानका कनिष्ठ व्यक्ति नै ढोका नजिक बस्छन् । र, ढोका नजिक बस्नेले प्रायः बिल तिर्ने र अतिथी एवम् होटलका सेवकहरुबीच सेतुको काम गर्छन् । यस्तो चलन वास्तवमा नेपालमा छैन । नेपालमा घरको मुलीले पहिला खाने चलन भए तापनि जहाँ र जसरी बसेर खाना खाए पनि खासै फरक पर्दैन ।

           रविजी, मैले अगिल्ला कार्यक्रमहरुमा पनि भनेँ कि खाना खान बसेपछि क्रमशः परिकारहरु एकएक गरेर केही समयको अन्तरालमा टेबुलमा ल्याइन्छ । नेपालमा भने सबै परिकार पाकेर तयार भैसकेपछि मात्रै खानको लागि कुर्चीमा बसिन्छ । तर चीनमा भने पहिला चिसो खाना खाँदै गरिन्छ र तातो खाना बिस्तारै ल्याइन्छ । यसरी एउटा परिकार ल्याएपछि वेटरले सकेसम्म खानाको परिकार टेबुलमा मुख्य अतिथिको ठिक अगाडि पुर्याइदिन्छन् । मुख्य अतिथि वा मर्यादाक्रममा विशिष्ठ व्यक्तिले पहिला झिक्नुपर्छ । सम्मान भाव व्यक्त गर्नका लागि आतिथ्ययले प्रायजसो खाना निकालेर मुख्य अतिथिको भाँडामा राखिदिने चलन पनि छ । पहिले मानिसहरुले प्रायजसो आफूले प्रयोग गरिरहेको चप्स्टिकद्बारा पाहुनालाई खाना झिकेर दिनेगर्थे । तर अहिले मानिसले सार्वजनिक चप्स्टिकको प्रयोग गर्नथालेका छन् । तर जे भए पनि अरुलाई तरकारी झिकेर दिने तरिका पश्चिमी संसारभन्दा धेरै फरक छ । पश्चिमी खानाको हकमा प्रायजसो अलग-अलग खाने चलन छ ।

           रवि- ध्रुवजी, आजको हाम्रो पैचिङ्ग डायरीको निर्धारित समय सकिनै लागेको छ । त्यसैले अब भने श्रोताहरुसँग बिदा माग्नु पर्ने भएको छ ।

          ध्रुव- हुन्छ रविजी । श्रोताहरु, अन्य नियमित कार्यक्रमसहित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको प्रसारण भने जारी नै रहनेछ । सुन्दै गर्नुहोला ।

          रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरी कार्यक्रमबाट भने म रवि..

          ध्रुव- अनि म ध्रुव पौडेल बिदा हुन्छौं ।

          दुबै- नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह