फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र आतिथ्यता

(GMT+08:00) 2011-07-08 15:43:03

            रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले चिनियाँ खाना र आतिथ्यताको बारेमा कुराकानी गर्नुभएको थियो ।

            ध्रुव- हजुर रविजी । मैले अगिल्लो हप्ताको कार्यक्रममा चिनियाँहरुले खाना खाना निमन्त्रणा गरेपछि अतिथि र मर्यदाक्रममा सबैभन्दा विशिष्ठ व्यक्तिलाई सबैभन्दा कुनाको कुर्चीमा बसालिन्छ र अरुलाई पनि मर्यादक्रमअनुसार क्रमशः बसालिन्छ भन्ने विषयमा कुराकानी गरेको थिएँ । केयौंपटक म होटलमा यसरी पहुनाको रुपमा खाना खान गएको छु । पैचिङ्गमा हिउँदमा तीन महिनासम्मको बाहिरको तापक्रम शून्य डिग्रीभन्दा तल नै रहन्छ । त्यसैले बाहिर जाँदा मजाले न्याना कपडा लगाएर निस्कनुपर्छ । र, वर्षभरीको तीनचार महिनाको गर्मीबाहेक प्रायः जकेट लगाउनुपर्छ । गर्मी महिनामा पनि कोट त लगाइन्छ नै । यसरी लगाएर गएको बाहिर कपडा रेष्टुराँमा पुगेपछि खानाखाने कुर्चीको पछाडि राख्ने गरिन्छ । एकपटक ज्याकेट लगाएर रेष्टुराँमा खाना खान जाँदा मैले मेरो पातलो जाकेट मै बसेको कुर्चीको पछाडिपट्टि राखेको थिएँ । खानेखाने बेलामा मेरो भिजिटिङ्ग कार्ड झिक्नुपर्ने भयो । तर मैले राखेको ठाउँमा जाकेट थिएन । मैले उत्तिनै बेला वेटरलाई मेरो ज्याकेटको बारेमा सोधेँ । उसले तुरुन्तै आएर मेरो कुर्चीको अडेस लगाउने भागको खोल निकालिदियो । मेरो जकेट त जहाँ राखेको त्यही रहेछ । मैले जाकेट राखेपछि वेटरले आएर जकेटसमेत भित्रै पर्नेगरी कुर्चीको पछाडिपट्टिको अडेस लगाउने भागमा खोल लगाइदिएको रहेछ । अनि मैले सबैको कुर्चीमा हेरेँ । जकेट अथवा कोट राखेका सबै साथीको कुर्चीमा खोल ओडाइएको रहेछ । र, खाना खाएर सकेपछि रेष्टुराँबाट निस्कने बेलामा त्यो खोल वेटरले झिकिदिने रहेछन् । मैले यस्तो चलन अरु ठाउँमा देखेको छैन । तर यो यसरी कुर्चीमा राखिएको जाकेट, सुइटर र कहिलेकाहिँ झोला पनि झुन्ड्याएर राखिन्छ कुर्चीको अडेस लगाउने भागको पछाडिपट्टी । यस्तो चलन चाहिँ मलाई ज्यादै रमाइलो लाग्यो । किनभने कुर्चीको पछाडि राखिएका समान सफा र उज्यालो कपडाले ढाकेपछि कोठाको शोभामा कमी आउन पाएन । र, अर्को कुरा जस्तो खानाको परिकार टेबुलमा राख्ने बेलामा अथवा खानेबेलामा पनि खाना उछुट्टिएर गएर कपडा नै बिग्रेको घटना मैले थुप्रै पटक बेहोरेको छु । यसरी बाहिरी कपडा र झोला ढाकेर राखेपछि तरकारी अथवा खानाको झोल अथवा छिटाबाट बचाउन पनि सहयोग पुगेको छ ।

           अर्को कुरा के भने, हुन त चीनमा मैले चोरीको घटनाको बारेमा त्यति सुन्न परेको छैन । हामीहरुले महत्वपूर्ण र बहुमुल्य सामग्री पनि कोट, ज्याकेट अथवा झोलामा राख्छौं । त्यस्ता समानसमेत भएको कपडा पूर्णरुपमा सुरक्षित राख्न पनि त्यसले मद्दत गरेको छ । यसरी कुर्चीमा झुन्ड्याएर राखेका सबै कुरा ढाकेर कपडाको खोल ओडाइदिने भएपछि चोरी हुनबाट पनि सजिलै बच्न सकियो । त्यसैले यी तीन कारणबाट कुर्चीपछाडिको अडेस लगाउने भागमा खोल ओडाउने चलन ज्यादै राम्रो र व्यवहारिक लाग्यो मलाई ।

           रवि- ध्रुवजी, अब एउटा सन्देश राख्ने बेला भएको छ ।

           ध्रुव- हुन्छ रविजी ।

           सन्देश

           रवि- श्रोताहरु यो सन्देशपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । भर्खरै बजाइएको सन्देशअगाडि ध्रुवजीले होटल र रेष्टुराँमा ग्राहकहरु बसेपछि कुर्चीको खोल लगाउने चलनको बारेमा कुराकानी गरिरहनुभएको थियो । यो दोस्रो चरणमा कुन विषय राख्नुहुन्छ ध्रुवजी ?

           ध्रुव- रविजी, चिनियाँहरुले अतिथिलाई साह्रै ठूलो सत्कार गर्छन् र आदरभाव व्यक्त गर्छन् । कसैलाई अतिथिको रुपमा खाना खान निम्तो गरिएको छ भने सकेसम्म धेरै परकार अर्डर गरिन्छ । सामान्यतया भात, सुप, पेयपदार्थ छोडेर एकजनाले कम्तिमा एउटा परिकार रोज्ने चलन छ । तर अतिथीलाई स्वागत र सत्कार गर्ने क्रममा चिनियाँहरुले साह्रै धेरै खाना अर्डर गरेको पाइन्छ । मैले धेरैपटक साथीहरुलाई यस्तो धेरै खाना अर्डर गर्नुपर्दैन भनेर भन्ने गरेको पनि छु तर उहाँहरु मन्दैमान्नुहुन्न । टेबुलमा यति धेरै खाना हुन्छ कि कहिलेकाहिँ त सबै परिकार एकएक पटक चाख्दा नै अघाइन्छ । खान हो कि चाख्न मात्रै गएको जस्तो पनि लाग्छ कहिलेकाहिँ । यसरी धेरै खाना अर्डर गरेको देख्ता मलाई साँच्चै नै मजा चाहिँ लाग्दैन । पाहुनाले सकेसम्म धेरै खाइदिए हुने थियो भन्ने चाहना राखिएको हुन्छ । यसरी पाहुनाको रुपमा जाँदा के के खाना अर्डर गरिएको छ भनेर थाहा पनि हुँदैन र के के खाना अर्डर गर्नुभयो भनेर सोध्नु पनि त्यति राम्रो हुँदैन । तर कहिलेकाहिँ यस्तो पनि भएको छ कि खाना खाएर अघाएपछि पनि केही खानाका परिकारहरु ल्याइराखिन्छ । अनि आतिथ्यको मन बुझाउनका लागि कम्तिमा एक टुक्रा खाइदिनुपर्ने हुन्छ । त्यो अवस्थाको सामना गर्न ज्यादै अप्ठ्यारो हुन्छ मलाई । खाना खाइसकेपछि पनि टेबुलमा अझै केही खाना बाँकी छ भने अतिथिको पेट भरियो भन्ने लाग्छ रे चिनियाँहरुलाई । अझ टेबुलमा खान नसकेको खाना बाँकी नै भएको अवस्थामा पनि उठ्ने बेलासम्म पनि अझ केही खान मन छ कि, अघाउनुभयो कि भएन भनेर पटकपटक सोध्ने चलन छ ।

          तर यसरी धेरै खाना अर्डर गरिए तापनि बाँकी रहेको खाना अथवा उब्रेको खाना के गरिन्छ भनेर म अर्को हप्ताको कार्यम्रममा बताउँला । किनभने आजको लागि पैचिङ्ग डायरीको निर्धारित समय सकिनै लागेको छ ।

          रवि- हो ध्रुवजी, अब भने श्रोताहरुसँग बिदा माग्नु पर्ने भएको छ ।

          ध्रुव- हुन्छ रविजी । हामी श्रोताहरुसँग विदा लिऊँ । तर श्रोताहरु, अन्य नियमित कार्यक्रमसहित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको प्रसारण भने जारी नै रहनेछ । सुन्दै गर्नुहोला ।

          रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरी कार्यक्रमबाट भने म रवि..

          ध्रुव- अनि म ध्रुव पौडेल बिदा हुन्छौं ।

          दुबै- नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह