फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चुङ छ्यू चे पर्ब-1

(GMT+08:00) 2011-09-12 18:46:48

           चीन विश्वमा सबैभन्दा धेरै जनसंख्यालाई हाँकेर अघि बढेको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो। यस मुलुकमा आधुनिकता पनि रेहको छ अनि परम्परा पनि राम्रोसँग जोगिएको देखिन्छ। आजको विश्वमा युवायुवतीलाई आधुनिकताले नराम्रोसँग गाँजेको देखिन्छ। त्यसैले उनीहरूले परम्परा र मान्यतालाई बिर्सँदै गएका छन्। तर चीन एउटा यस्तो देश बनेको छ कि जहाँका युवा युवती बूढापाका अनि बालबालिका सबै नै आफ्नो चाडपर्बको बारेमा सचेत छन्।

            यसरी आज प्रस्तुत हुने कार्यक्रममा चीनमा वसन्त चाडभन्दा दोस्रो ठूलो चाड चुङ छ्यौ चे वा मध्य शरद चाडबारेको जानकारी हो। चीन सरकारले यस पर्वमा सार्वजनिक विदा पनि दिएको छ। अघिल्लो हप्ताको कार्यक्रममा हामीले म नेपालबाट चीनतर्फ आउदाको क्षणलाई समेटेर लिएको अनुभवलाई श्रोतागणसँग आपसमा बाँडेका थियौँ। तर यस सेप्टेम्बर बाह्र तारिखका दिन यो महत्वपूर्ण पर्व अर्थात चुङ छ्यौ चे परेको हुनाले यस विषयका दुई अङ्क पेश गर्ने निर्णय गरेका छौँ।

             सेप्टेम्बर वा यसै महिनाको बाह्र तारिख चिनियाँ परम्परागत चाड "चुङ छ्यू चे" अर्थात् मध्य शरद चाड परेको छ। यो चाडलाई चीनमा वसन्त चाडपछिको दोस्रो ठूलो परम्परागत चाड मानिन्छ। एक वर्षमा चार वटा ऋतु रहेका छन् र वर्षको सातौं, आठौं तथा नवौं महिना यी तीनटा महिनालाई शरद ऋतु मानिन्छ। आठौं महिनाको मध्यतिर शरद ऋतुको मध्यकाल परेकोले यस अवधिलाई मध्य शरद मानिन्छ।

            मध्य शरद चाडको दिनमा चन्द्रमा निकै चम्किलो हुन्छ र मानिसहरूमा चन्द्रमा रहेको रातीको आकाश हेर्दै परिवारसँग भेट्ने विचार आउनु स्वाभाविकै कुरा हो। टाढा टाढा रहेका परिवारका सदस्य पनि यसै दिनमा परिवार तथा नातेदारप्रति आफ्नो सम्झना तथा माया-ममता व्यक्त गर्दछन्। यस दिनको रातमा चन्द्रमा सबैभन्दा बाटुलो र उज्यालो हुन्छ। यस्तो पूर्णिमा भएका कारण यस दिनलाई "थुआन युआन चे"चाड अर्थात् सबै भेला हुने चाड पनि भनिन्छ।

             प्राचीन चीनमा राजाहरुले वसन्त ऋतुमा सूर्यको पूजा गर्ने र शरद ऋतुमा चन्द्रमाको पूजा गर्ने गर्दथे। चन्द्रमाको पूजाआजा गर्ने चलन रहँदै आएको सिलसिलामा थाङ राजबंश अर्थात् एक हजार वर्षभन्दा पनि अघिदेखि मध्य शरद चाडलाई निश्चित गरिएको थियो। पछिको सयौं वर्षमा मध्य शरद चाड चीनका मुख्य चाडहरुमध्येको एक बनेर गयो।

             हजारौं वर्षअघि आकाशमा नौ वटा सूर्य थिए रे अनि मानिसहरु तातो वातावरणबाट पीडित थिए। हरेक दिन उनीहरू गरमबाट दुखी बनेका थिए। कसरी यसबाट मुक्ति पाउने भनेर उनीहरू छट्पटाइरहेका थिए।

             यसै सन्दर्भमा एक जना साहसी हौ यी भन्ने व्यक्तिले नौवटा सूर्यमध्येका आठवटा सूर्यलाई तीरले हानेर खसालिदिएपछि मानिसहरुको जीवन आनन्दित् बनेको थियो। सबैतिर शीतलताले ढाकेको थियो। यो ठूलो काम गरेपछि हौ यीले भगवानबाट अमरत्वको ‌औषधि पाए र यस औषधि आफ्नी पत्नी छाङ अलाई पनि दिए। उनीहरुको छिमेकी मङ फङले यति राम्रो औषधि छाङअले राखेको कुरा कताकताबाट सुनेका थिए। हौ यी बाहिर गएको बेला, मङफङले अमर हुने उक्त औषधि आफूले पनि पाउनुपर्छ नत्र सबै सखाप पारिदिने भनेर धम्की दिए।

               यसै बेला उक्त औषधि अरुलाई नदिनका लागि छाङअले त्यो पूरै औषधि आफ्नो मुखमा राखिन्। औषधि खाएर छाङअमा एउटा शक्ति प्राप्त भयो र उक्त शक्तिको प्रभावले उनी चन्द्रमातिर उडेर भगवती बनिन्। सर्वसाधारणले छाङ अ चन्द्रमातिर गएको खबर सुनेर चन्द्रमाको पूजा गर्दै आफ्नो सुस्वास्थ्य तथा सुरक्षित जीवनका लागि कामना गरेर चन्द्रमाको पूजा अर्चना गर्न थाले। हो यसै बेलाबाटै मध्य शरद चाडमा चन्द्रमाको पूजा गर्ने चलनको सुरुआत भयो भन्ने भनाइ रहेको छ।

                मध्य शरद चाडको अवधिमा चिनियाँहरु चन्द्रमाको दर्शन गर्ने, चन्द्र-केक खाने, पजलको उत्तर खोज्ने, अग्नी ड्रागन नाच नाच्ने, ओस्मान्थुस फूल हालेको रक्सी खानेलगायत विविध चालचलन मान्ने गर्दछन्।

                 चन्द्रमाको दर्शन गर्नु तथा पूजाआजा गर्नु मध्य शरद चाडको अवधिमा महत्वपूर्ण परम्परा हो। पहिले प्राचीन राजाहरुले चन्द्रमाको पूजाआजामा महत्व दिँदै पछि चन्द्रमाको दर्शन गर्नु पूजाआजाभन्दा प्रचलित भएको देखिन्छ। राजधानी पैचिङ्गमा अवस्थित थेन थान अर्थात् द टेम्पल अफ हेवन मिङ राजबंशकालमा राजाले राजपरिवारले चन्द्रमाको पूजा गर्नका लागि निर्माण गरिएको थियो। मध्य शरद चाडमा हरेक परिवारले खुला ठाँउमा मिठाइ, फलफूलाई टेबुलमा राख्दै चन्द्रमाको पूजा गरेपछि सम्पूर्ण परिवारका सदस्यले टेबुल वरिपरि बसेर गफ गर्दै खाना खाँदै चन्द्रमाको दर्शन गर्दा-गर्दै युए पिङ्ग वा एक प्रकारको केक खाने गर्दछन्। यसलाई चन्द्र केकको रुपमा पनि लिन सकिन्छ।

                सेप्टेम्बर बाह्र तारिखका दिन चीनमा ठूलो उल्लास देखिनेछ । त्यसदिन चीनमा मध्य शरद चाड वा चुङ छ्यौ चे परेको छ। सबैमा खुसी र आनन्द छाउने छ। पारिवारिक मिलन धुमधामसँग गरिने चाड हो यो । सबैमा मुहारमा रौनक छाएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह