फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जून छ तारिख, खुनमिङ, युननान, चीन

(GMT+08:00) 2010-06-08 10:42:34
        अठारौं खुनमिङ आयात तथा निर्यात मेला र तेस्रो दक्षिण एशियाली मुलुकको वस्तु प्रदर्शनी आज बिहान सुरु भयो। साढे आठ बजेतिर उद्‍घाटन समारोहको आयोजना गरिने चोकमा प्रवेश गर्नेवित्तिकै मैले मेरा अगाडि एक सयजति केटाकेटी देखेँ। तिनीहरु युननान प्रान्तका विभिन्न अल्पसङ्ख्यक जातिका पोशाक लगाएर पाहुनाहरुको स्वागत गरिरहेका थिए। तिनीहरुको रङ्गीचङ्गी पोशाक तथा अलौकिक मुस्कानबाट हरेक पाहुनाको मन जितिएको देखिन्थ्यो। मैले त्यतिखेरै क्यामरा उठाएर तिनीहरुको थुप्रै फोटो खिचेँ। पछि फुर्सद भएमा मलाई पनि ती पोशाक लगाएर फोटो खिच्ने विचार आएको थियो मेरो मनमा। तर तुरुन्तै अल्पसङ्ख्यक जातिको लुगा लगाएपछि मेरी छोरीले मलाई चिन्न नसक्ने हो कि भन्ने लहड पनि ममा एक्कासी आयो। ओहो ! छोरीको याद पनि कस्तो घरिघरि आउने होला । अचम्म लाग्छ। मातृस्नेह भनेको कस्तो कुरा रहेछ। बल्ल मलाई थाहा भयो। एउटी आमाको लागि सन्तानको माया नै सर्वस्व रहेछ है।

        उद्‍घाटन समारोह सम्पन्न भएपछि मैले चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्कीसँग नेपाली व्यापारीको स्टलहरुको अवलोकन गरेकी थिएँ। ती नेपाली व्यापारीहरुले कति रमाइला सामानहरु ल्याएका है। थाङ्का, बुद्धको मूर्ति, काठ कुँदेर बनाएका किसिम-किसिमका सामान, कपडा, खुकुरी अनि गहनालगायत विभिन्न किसिमका वस्तुहरु सो प्रदर्शनीमा देख्न पाइएको थियो। ती सामान हेर्दा त कतै म काठमान्डूको ठमेलमा त छैन भन्ने लाग्यो मलाई । तर मन ठमेल पुगे पनि तन त खुनमिङमा नै थियो मेरो।

         समाचार सङ्कलन गर्नुपर्ने हुनाले आज मैले केही पनि सामान किनेकी थिइनँ। भोलि वा पर्सितिर किन्ने विचार गरेँ। मलाई थाङ्का सबैभन्दा बढी मनपर्छ किनकि म थाङ्कामा भएको कलालाई हेरेर आफैँलाई हराउन सक्छु। अर्कातिर छोरीलाई केही सुन्दर स्कर्ट किन्ने योजना पनि छ मेरो ।

         दिनमा काममा व्यस्त हुने गरेकीले होला ,बेलुका अलि थकाइ लाग्छ मलाई। घरमा फोन गरेँ मैले। टेलिफोनमा श्रीमानले छोरीलाई "आमासँग कुरा गर" भन्नुभएको मैले सुनेँ। त्यसैले मैले छोरीको नाउँले बोलाएँ उसलाई ।उसले त साँच्चिकै "ममी" भनी । ओहो ! मेरी छोरी पनि अब बोल्न सक्ने भई। हिजै जस्तो लाग्छ मैले जन्म दिएकी। संसारको नियम नै यस्तै होला है । त्यो मीठो बोली सुन्दा म कति गदगद भएँ भन्ने कुरा म यस डायरीमा शायद बयान नै गर्न सक्दिनँ । दिनभरिको थकाइ त्यसै हरायो मेरो । फेरि समाचारको तर्खरमा लागेँ म।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह