फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ठू सी नामक रात बारेको किम्बदन्ती

(GMT+08:00) 2011-01-28 20:08:34

            चिनियाँ पात्रो अनुसार, वर्षको बाह्रौं महिना अर्थात् वर्षको अन्तिम दिनको रातलाई ठू सी भनिन्छ। ठूको अर्थ हटाउनु वा लत्याउनु हो। सी भनेको रात हो। ठू सी भनेको यस वर्षको अन्तिम रातलाई हटाएर आउनलागेको नयाँ वर्षको स्वागत गर्ने भन्ने हो। चीनमा ठू सीलाई "रातलाई हटाउने","वर्षको रात" र "वर्षको तीसौं रात" पनि भन्ने चलन छ।

           चीनको परम्परागत चलनअनुसार ठू सीलाई हटाउन लत्याउने गरिन्छ र यसो गर्ने तरिका विभिन्न स्थानमा फरक-फरक छन। भनौं:ठू सी अघिका केही दिनमा मानिसहरु आ-आफ्नो आँगन र कोठा सफा गर्छन्। यो चलन पहिलेदेखि नै चलिआएको देखिन्छ। वर्षको अन्तिम दिन मानिसहरु घर-आँगन अझ राम्ररी सफा गर्नेगर्दछन्। त्यसको अर्थ"पूरानोलाई हटाउनु र नयाँको स्वागत गर्नु"हो। यो चलन प्राचीनकालको एउटा किम्बदन्तीबाट आएको हो। त्यस भनाइअनुसार, पौराणिक कथामा "ठुआन सु"नामका राजाको एउटा छोरो थियो। त्यो एकदमै अल्छी थियो। उ दिनभरि थोत्रा लुगा लगाउँथ्यो र खोले मात्र खान्थ्यो। कुनै वर्षको अन्तिम रात अर्थात् ठू सीमा उसलाई जाडो र भोकका कारण कोठाको कुनामै मर्‍यो। त्यसै कारण वर्षको सो अन्तिम दिनमा सफा गर्ने मौकाको प्रयोग गरी नयाँ वर्ष आउनु अघि घरका सबै थोत्रा लुगाफाटा र बाँकी रहेका भात तरकारी फ्याँक्नुपर्छ। यसको अर्थ गरीबीलाई आफ्नो घरमा आउन नदिनु हो।

           घर सफा गरेपछि चाडवाडको वातावरण सिर्जना गर्नका लागि मानिसहरु आ-आफ्ना घरका ढोकाका खापामा वसन्त चाड सम्बन्धी शुभकामना लेखिएका लखौट टाँस्ने र नागरुपी बत्तिहरु झुण्ड्याउने गर्दछन्। लोक-दुनियाँमा ठू सी अर्थात् अन्तिम दिनको राति मानिसहरुमा"थु सु" नामक एक किसिमको पेय पदार्थ खाने चलन छ। त्यो रक्सी र पानी मिसाएर बनाइएको हुन्छ। किम्बदन्ती अनुसार, "थु सु" नामक एउटा परालको घरमा एकजना असाधारण मान्छे बसिरहेको थियो। उ विशेष गरी वन-जंगलमा गएर जडीबुटी बटुल्ने गर्थ्यो। हरेक वर्षको अन्तिम दिन उ मानिसहरुका घर-घरमा जान्थ्यो, आफूले तयार पारेको जुडीबुटी औषधी त्यहाँका बासिन्दाहरुलाई दिन्थ्यो र रोग निवारण गर्न तथा बिपत्ति टार्नका लागि नयाँ वर्षको पहिलो दिन यो औषधी सबैले खानुपर्छ भनेर सम्झाउने गर्थ्यो। त्यसका साथै उक्त औषधी बनाउने तरिका बारे पनि उ स्थानीय बासिन्दाहरुलाई सबिस्तार जानकारी दिन्थ्यो। त्यसै कारण गाउँले बासिन्दाहरुले त्यस औषधीको नाम"थु सु"राखे। प्राचीनकालको एउटा औषधी सम्बन्धी किताबका अनुसार, "थु सु"नामक त्यो औषधी सुन्तलाका बोक्रा र ता हुङ्ग नामक वनस्पतिका जरा आदि सातवटा जडीबुटीबाट बनाइन्थ्यो। त्यसले रोग निवारण र उपचारको प्रभावकारी भूमिका निर्वाह गर्दथ्यो।

          वर्षको अन्तिम राति परीवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर खाना खाने चलन त झण्डै सबै घरमा छ। यसै दिन अरु ठाउँमा काम गर्नेहरु पनि फुर्सत निकालेर अवश्य नै आफ्नो घर फर्कन्छन। परीवारका सबै सदस्यहरु खुशीसाथ वर्षको अन्तिम खाना खाने गर्छन्।

          चीन निकै ठूलो भएकाले चीनका विभिन्न क्षेत्रमा वर्षको अन्तिम दिनका लागि तयार पारिएको खाना पनि फरक-फरक हुन्छ। चीनको दक्षिणी भेगमा यस छाकको खानामा धेरैजसो दर्जनौंवटा तरकारी राखिन्छन्। तीनमा तोफू र माछा नभई नहुने खाने कुरा हुन्। किनकि चिनियाँ भाषामा तोफू र माछाको संयुक्ताक्षरको उच्चारणले सम्पन्नताको अर्थ दिन्छ। त्यसैले यसको अर्थ आउने नयाँ वर्षमा अवश्य नै धनी हुने भन्ने हुन्छ। चीनको उत्तरी भेगमा एउटै परीवारका सबै सदस्यहरुले सँगै बसेर खानुपर्ने खानामा च्याउ च नामक एक किसिमको खाद्य पदार्थ अर्थात् ममचा महत्वपूर्ण खाना हो। एउटै परीवारका सबै सदस्यहरुले सँगसँगै मिलेर बनाएको त्यो खाना मैदाको मुछेको पीठोभित्र मसिनो हुने गरी काटिएको मसला मिसाइएको मासु हालेर दुइ कुने स-साना डल्ला पारी उमालेको पानीमा पकाएर तयार गरिएको खाद्य-पदार्थ हो। सबैले एउटै ठाउँमा बसेर खुशीसाथ खानुपर्ने भएबाट यो मिलनको द्योतक पनि भएको देखिन्छ।

           वर्षको अन्तिम राति ठूला मान्छेले केटा-केटीहरुका साथ आ-आफ्ना नाता-कुटुम्ब र इष्ट-मित्रहरुको घर गई कोसेली चढाउने र सोधनी गर्ने एवम् शुभकामना व्यक्त गर्ने कुरालाई"ख्वै स्वै"भनिन्छ। "ख्वै स्वै"भनेको साथीहरुलाई कोशेली दिनु हो। सँगसँ‌गै मिलेर अन्तिम रात्रीको खाना खानका लागि अरु मानिसहरुलाई आफ्नो घर बोलाएर भोज खुवाउने कुरालाई"बे स्वै"भनिन्छ,अर्थात् त्यसको अर्थ वर्षलाई विदा गर्नु हो र भोज खाएपछि एकले अर्कालाई धन्यवाद दिएर आ-आफ्नो घर जाने कुरालाई"सान स्वै"भनिन्छ। घरमा सानाहरुले ठूलाहरुलाई नमस्कार गर्दछन भने शिक्षा दिने विषयमा ठूलाहरुले सानाहरुलाई केही सम्झाउनुका साथै काम नगर्ने केटा-केटीहरुलाई केही पैसा दिन्छन। यस कुरालाई"छ स्वै"भनिन्छ। त्यस बेला कसैलाई पनि सुत्नजान मन लाग्दैन। परीवारका सबै सदस्यहरुले नयाँ वर्ष नआउन्जेलसम्म टेलिभिजनमा कार्यक्रम हेर्ने वा तास खेल्ने गर्दछन्। यसलाई "शौ स्वै"भनिन्छ।

          शौ स्वै पूरानो वर्षको अन्तिम दिनको रातलाई विदा गरी नयाँ वर्षको पहिलो दिनलाई पर्खने एक किसिमको साधारण कार्यक्रम हो। प्राचीनकालमा लु यु नामका एकजना चिनियाँ कविले आफ्नो चर्चित कवितामा यसरी लेखेका थिएः "केटा-केटीहरुलाई निकै निद्रा लागे पनि सुत्ने मन छैन। त्यसैले सँगसँगै मिलेर होहल्ला गर्छन्।" उनले भनेको यो कुरा एकदमै ठीक छ। यस बेला केटाकेटीहरु एकदमै खुशी हुन्छन्। किनकि यस बेला बाहेक अरु साधारण दिनमा ठूला मान्छेहरुले कडाइका साथ केटा-केटीहरुलाई नियन्त्रित गर्नेगरेका हुन्छन। अहिले अनुशासनको वास्ता नगरी उनीहरु ठूला मान्छेहरुसँगसँगै मिलेर खेल्नसक्छन्। कति रमाइलो छ है। होइन र?

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह