फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा यातायातको निर्माणमा टड्कारो उपलब्धि हासिल

(GMT+08:00) 2011-05-16 15:02:37

              बितेका पाँच वर्षको अवधि भनेको तिब्बत स्वायत्त प्रदेशमा यातायात निर्माणका लागि सबैभन्दा बढी लगानी गरिएको, सबैभन्दा छिटो गतिले विकास भएको तथा सबैभन्दा टड्कारो उपलब्धि हासिल गरिएको अवधि हो। विगत पाँच वर्षदेखि समस्त स्वायत्त प्रदेशमा यातायात निर्माणका लागि गरिएको खर्च छब्बीस अर्ब चिनियाँ युआन पुगेको छ। यो सन् 2005 अघिका पच्पन्न वर्षमा यातायातको निर्माणका लागि गरिएको कूल लगानीको रकमभन्दा पनि बढी छ। अहिले तिब्बतमा राजमार्ग भएका सम्पूर्ण गाउँबस्तीमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ। जसले तिब्बती किसान तथा पशुपालकहरु बाहिर घुम्ने अप्ठ्यारो समस्याको आधारभूत रुपमा समाधान गरेको छ। अब यसै विषयमा एउटा विस्तृत विवरण सुन्नुहोस्।

             विश्वको छानो कहलिएको तथा हिउँदे पठारभूमिमा अवस्थित तिब्बत स्वायत्त प्रदेशको सीमित भौगोलिक तथा प्राकृतिक वातावरण भएको कारण राजमार्ग तथा रेलमार्गलगायत यायायात निर्माणको अभावले आर्थिक विकासलाई रोकेको थियो। विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसान तथा पशुपालकहरुको यात्रा असहज बनेको थियो। तथापि अहिले बाटोको निर्माण तथा सार्वजनिक यातायातको विकासको शिलशिलामा यस समस्याको समाधान भइसकेको छ।

              तिब्बतको शान नान क्षेत्रको यातायात तथा ढुवानीको व्यवस्थापन कार्यालयका प्रमुख हु हङ लिन हाल जिल्लाको ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवा सञ्चालन गर्न सम्बन्धित प्रक्रिया गरिरहनुभएको छ। उहाँका अनुसार, पहिले दुर्गम क्षेत्रमा यात्रुवाहक बस सेवा सञ्चालनमा अभिरुचि भएका कुनै पनि व्यक्ति थिएनन्, तथापि अहिले यस सेवा सञ्चालन गर्ने व्यक्तिको निवेदन परेको छ। उहाँले भन्नुभयो, अहिले हामीले श्या च्याङ गाउँ, छ्यु तो गाउँ तथा च्या छा जिल्ला र सि कुङ गाउँबीचको सार्वजनिक बस सेवालगायत तीन किसिमको यात्रुवाहक बस सेवा सञ्चालन गरेका छौं। यो पहिले नभएको कुरा हो। अहिले सरकारले हामीलाई सम्बन्धित भत्ता उपलव्ध गराएको छ। यो ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवा सञ्चालन गर्नखोज्नेका लागि निकै आकर्षित छ।

             शान नान क्षेत्र तिब्बतका ग्रामीण क्षेत्रमा राजमार्गको निर्माणको सङ्ख्या तथा यात्रा बजारमा तुलनात्मक रुपमा राम्रोसँग विकास भएका क्षेत्रहरुमध्येको एक हो। तथापि गत वर्षको अन्त्यसम्म शान नान क्षेत्रमा गाउँस्तरीय यात्रुवाहक बस सेवा पच्पन्न प्रतिशत स्थानमा मात्र उपल्बध थियो। धेरै प्रशासनिक गाउँका किसान तथा पशुपालकहरु बस चढेर बाहिर जाने समस्याको समाधान भएको थिएन। शान नान क्षेत्रको यातायात तथा ढुवानीको व्यवस्थापन कार्यालयका प्रमुख हु हङ लिनले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै भन्नुभयो, ग्रामीण क्षेत्रमा सार्वजनिक बस सेवा खोल्न अप्ठ्यारो थियो। किनभने दुर्गम क्षेत्रमा बाटोको स्थिति त्यति राम्रो थिएन। त्यसै कारण सर्वसाधारणको बाहिर घुम्ने ठूलो चासो पनि थिएन। सार्वजनिक बस सेवा कम्पनीले नाफा नभएको कारणले यो सेवा बन्द गरेको थियो।

             तिब्बतको ग्रामीण क्षेत्रमा यात्रुवाहक बजारको विकाससम्बन्धी समस्याको समाधान गर्न तथा दुर्गम क्षेत्रमा आर्थिक विकास गर्नका लागि चालुवर्ष तिब्बतले विशेष गरी "ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवाको विकासलाई सहायता दिने राय-सुझाव" को तर्जुमा गरेको छ। जसअनुसार, ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवासम्बन्धी तेलको भत्ता उपलव्ध गराइने तथा मोटर-गाडीको किसिमबमोजिम हरेक महिना बढीमा एक हजार चार सय चिनियाँ युआनको आर्थिक भत्ता उपलव्ध गराइनेछ। चालुवर्ष ग्रामीण क्षेत्रमा यात्रुवाहक बस सेवाका लागि सतासी लाख साठी हजार चिनियाँ युआन भत्ता उपलव्ध गराइनेछ।

              तिब्बत स्वायत्त प्रदेशको यातायात व्यूरोका उप-प्रमुख सोनाम चोपेलले भन्नुभयो, बाह्रौं पञ्चवर्षीय योजनाको अवधिमा प्रशासनिक गाउँमा यात्रुवाहक बस सेवाले ढाक्ने दर अहिलेको चालीस प्रतिशतबाट बढेर साठी प्रतिशतसम्म पुग्नेछ। जसले स्थानीय किसान तथा पशुपालकहरु बाहिर घुम्ने माग पूर्ण रुपमा पूरा गर्नेछ।

              आगामी पाँच वर्षको अवधिमा तिब्बत स्वायत्त प्रदेशले यातायात तथा ढुवानीको निर्माणका लागि अरु बढी लगानी गर्नेछ। महत्वपूर्ण राजमार्गको स्तर उकास्न, ग्रामीण क्षेत्रको राजमार्ग तथा यातायात र ढुवानीको सञ्जालको निर्माणलाई सबल पार्नका लागि तिब्बतले उनान्चास अर्ब उनान्नब्बे करोड चिनियाँ युआन लगानी गर्नेछ। सन् 2015सम्म तिब्बतमा सञ्चालनमा आउँने राजमार्गको कूल लम्बाइ सत्तरी हजार किलोमिटर पुग्नेछ। त्यसबेला तिब्बतको यातायात समस्या क्रमश: समाधान गरिनेछ। यो तिब्बतको उर्जा उद्योग, विशेषतायुक्त उद्योग तथा पर्यटन उद्योगको अरु विकासमा पनि उपयोगी हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह