फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजयको अगस्ट 3को डायरी

(GMT+08:00) 2011-08-11 17:07:11

      आजको यात्रा लामो नै भए तापनि त्यति थकान्‌को महसूस भने भएन। हिजो रात्री भोजन पश्चात आज बिहान 6 बजे नास्ता गरी 6 बजेर 30 मिनेटमा हिंड्ने भनेको थियो । र दैनिकी लेख्दै रातको बाह्र बजेको थियो । खासै भन्दा निन्द्रा पनि परेन । बिहान उठी तयार भएं र भोजन कक्षमा गएं र हल्का मात्र नास्ता लिए । सबैले नास्ता गरे र हाम्रो आजको यात्रा शुरु भयो ।

      पैचिङ्गबाट सँगै आएका हामीहरू तीन भागमा विभाजित भयौं र हाम्रो भागमा परेको थियो ल्हासाबाट 207 किलोमिटर पश्चिमको शहर शिगात्से । छुट्टिन अघि अरु समूहका साथीहरूसँग पनि शुभयात्राको कामनाको आदानप्रदान गर्‌यौं । साथै यात्रा सहज बनाउन खानेकुरा औषधी देखि अक्सिजनको समेत व्यवस्था गरेको थियो । त्यसैगरी एउटा गाडिमा चालक सहित क्षमताअनुसार पाँच जना मात्र बस्ने व्यवस्था गरेको थियो त्यसकारण हाम्रो समूहको मात्र चार वटा गाडि थियो । हामी बसेको होटेलबाट निस्कँदा सात बजेको थियो र हामी पोताला दरबार तलको बाटोमा गयौं । त्यहाँ हाम्रा सबै गाडिको भिडियो खिचियो । मसँग गाडिमा नेपाली सेवाकी ललिता र एक महिला तथा एक पुरुष थियो र यो व्यक्ति हाम्रो फोटोग्राफर हो । यही मौकामा मैले केही पोताला दरबारको र साथै हिजो गाडिबाट मात्र हेर्न पाएको अरनिको द्वारा निर्मित स्तूपाको तस्विर लिएं। सबै गाडि गएपछि हामी पनि पश्चिमको यात्रा शुरु गर्‌यौं । विमानस्थल जाने बाटो हुँदै गयौं अस्ति आएको बाटो याद थियो मलाई । र पछि दायाँ बाटो लाग्यौं । करिब एक घण्टाको यात्रा पछि गाडि रोक्यो र अगाडि हाम्रै समूहको तीन वटा गाडि पनि रोकिरहेको पाएं । त्यसपछि हामी सँगसँगै लाग्यौं ।

      मलाई भने गाडिमा थानकोट काटेर गएको जस्तो लाग्यो । हाम्रो बाटो सँगै तल त्रिशुली नदी बगेजस्तै यता पनि यसबाटो छेउ नदी बगिरहेको थियो । र मैले त्यस नदीको नाम पनि सोधेको थिएं मैले बिर्से चिनियाँ नाम र पछि जिज्ञासा राख्दा थाहा पाएं त्यो ब्रह्मपुत्र नदी नै रहेछ जुन यही तिब्बत हुँदै नेपाल भारत बङ्गलादेश बग्छ ।

      हाम्रो यात्रा यसरी नै चलिरहेको थियो प्रत्येक एक घण्टामा एकैछिन विश्राम गर्दै अगाडि बढेको थियो । करिब साढे तीन घण्टाको यात्रा पछि हामी खानाका लागि रोक्यौं । र खाना पश्चात फेरि हाम्रो यात्रा शिगात्से तर्फ लम्क्यो । यसैबीच मैले हाम्रो गुरु अर्थात् चालक मध्ये एकले मलाई नमस्ते भन्दै तपाईँको नाम के हो पनि सोध्न भ्यायो । त्यो दाई अर्को गाडिको पर्नु भयो नभए कुरा गर्दै हिँडिन्थ्यो होला नेपालीमा ।

      यात्राको दौरानमा यहाँ कृष्णभीरको पहिरो जान्छ या जान्दैन के कस्तो व्यवस्था गरेको छ भनी सोधें । यहाँ पहिरो जाने क्षेत्रमा पहिरो रोक्नलाई धेरै राम्रो किसिमले एकै ठाउंमा नै तीन पटक पहिरो रोक्नलाई पर्खाल लगाएको भन्ने जानकारी पाएं । र यो मार्ग बन्न चार वर्ष लागेको र गत वर्षबाट मात्र सञ्चालनमा आएको रहेछ । सिगाचेको प्रवेश द्वारमा सिगाचे सञ्चार विभागका प्रमुखले हामीलाई खादा ओढाई स्वागत गर्नु भयो।

      साँझ हामी सबै एउटा रेस्टुराँमा रात्री भोजनका लागि गयौं। त्यो भोजन गृह भन्दा पनि सङ्ग्रहालय रहेछ। तिब्बती संस्कृति झल्कने बस्तु बाहेक त्यहाँ भित्र प्रवेश गरेदेखि एउटा तिब्बती भान्छा घर र तिब्बतेली परिवारको घरमा पसेको अनुभव गरें मैले। साथै त्यस रेस्टुराँको सञ्चालकले माथिल्लो तल्लामा त साञ्चीकैको सङ्ग्रहालय खोलेको रहेछ । पूरातात्विक महत्वका तथा संस्कृति झल्काउने ऐतिहासिक बस्तु सजाएर राखेको पाएं । त्यहाँ भएका कति बस्तु अहिले लोप पनि भइसकेको छ। निकै नै रमाइलो लाग्यो । साथै रेस्टुराँमा नेपाल पनि गइसकेको र नेपाली पनि फाटफुट बोल्ने भाइसँग भेट भयो । रमाइलो लाग्यो । हिजो राति आज निकै थकित हुन्छ भन्ने सोचेको थिएं तर शिगाचे पुगेर सबै थकान हरायो ।यहाँ रातिको साढे आठ बज्दा पनि उज्यालो थियो । चिनियाँ सरकारले प्रान्त अनुसार समय मिलाई राख्दा राम्रो हुन्छ कि भन्ने लाग्यो । अरु सबै ठीकै छ । यहाँ ल्हासा भन्दा अलि बढी चिसो लाग्यो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह