फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

           मेरो लागि पनि पहिलो उडान थियो त्यसैले प्लेनले भुईं छोड्ने साथ काठमाडौं उपत्यकाको विहङ्गम दृश्य आँखाभरि आएर भरिँदा औंधी रमाइलो महसुस भयो । जतिजति विमानले उचाई लिन्थ्यो त्यति त्यति काठमाडौंको दृश्यको आकार बढ्दै थियो । एक झलकमै टाढासम्म देख्न सकिन्थ्यो । विमानको झ्यालबाट हामीले पर परसम्म नियाल्यौं । यत्तिकैमा पहाडी क्षेत्रका दृश्यहरु आँखाभरि छाए । हामीले पहाडी गाउँघर र नदीनालाहरुको दृश्य निकै मजाले हेर्यौँ । केहीबेरको उडानपछि नै विश्वको सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमालको माथिबाट हिमाच्छादित शिखरहरुको दृश्यले हाम्रा नजरलाई खिच्यो । हिमाली क्षेत्रलाई एक झलकमा हेर्दा लाग्थ्यो हिउँको संसार त सोचेभन्दा धेरै गु फराकिलो रहेछ । हामीले सगरमाथा, ल्होत्से, नुप्से लगायतका चुचुराहरुको दृश्यपान गर्दै अघि बढ्दा तिब्बती क्षेत्र प्रवेश गरियो अब भने बिस्तारै हिउँ कम हुँदै गएर ठूल्ठूला नागी तथा पठारहरु देखा पर्न थाले । पठारीय क्षेत्रमा ठूला साना झिलहरु पनि देखा पर्दै गए।  करिब 1 घण्टाको उडानपछि ल्हासा एयरपोर्टमा विमान अवतरण गर्यो । ल्हासा एयरपोर्टबाटै ट्रान्जिट भएर करिब 45 मिनेटपछि आन्तरिक उडान हुँदै सिछुवान प्रान्तको सदरमुकाम छङदु सहरतफ प्रस्थान गर्यौँ। ल्हासा एयरपोर्ट सानो उपत्यकामा अवस्थित रहेछ। वरिपरि अग्लाअग्ला डाँडाहरुले ढाकेका सुन्दर र शान्त अनि बस्तीहरु नभएको र सहरबाट टाढा भएकोले होला सुनसानजस्तै लाग्थ्यो। आफू चढ्नेबाहेक अरु प्लेनहरु पनि देखिएन । करिब 12:00 बजेको समय थियो हाम्रो छडन्दु तफको प्रस्थान। बिस्तारै विमानले उचाई लिँदै गयो, अबका यात्रामा पनि उही दुश्यहरु दोहोरिन थाले । हिउँले ढाकेका सेताम्मे हिमाली दृश्यहरु हेर्दा लाग्थ्यो-हिमालको संसारमा हामी विचरण गरिरहेका छौँ । अब बिस्तारै बादलको तह छिचोलेर माथि लागेपछि भने हिमाली क्षेत्रले लाज मानेर होला बादलको सेतो घुम्टो ओढेजस्तो लाग्यो मलाई । कतै फाटेको बादलबाट चियाएर हेर्दा चारैरित क्षतिजसम्म नै हिमालै हिमाल देखिन्थ्यो । कतैकतै तल धर्तीमा सानासाना बस्तीहरु देखिन्थे भने कहिले नदीहरु नागबेली भएर बगिरहेका देखिन्थे । ठूला सडकहरु धागोको डोरोजस्ता देखिन्थे । यस्ता दृश्यहरुलाई मैले आफ्नो क्यामेरामा कैद गर्दै गएँ ।

       


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह